भारतीय मूलकी गृहमन्त्री, पाकिस्तानी मूलका वित्तमन्त्री बेलायतकाे सरकारमा


काठमाडाैं : टेरेसा मेको ब्रेक्जिट नीतिकी कट्टर आलोचलक भारतीय मूलकी प्रिती पटेल बेलायतको गृहमन्त्री बनेकी छन्। भारतीय मूलकी बेलायती नागरिक पहिलो पटक त्यहाँको गृहमन्त्री भएकी हुन्। लण्डनका पूर्वमेयर बोरिस जोन्सनले प्रधानमन्त्रीको सपथ लिएलगत्तै पटेललाई गृहमन्त्रीमा नियुक्त गरेका हुन।
टेरेसाले राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीमा पूर्वस्वास्थ्य मन्त्री जेरेमी हन्टलाई हराउँदै प्रधानमन्त्री बनेका ५५ वर्षीय पूर्वविदेशमन्त्री जोन्सनले बुधवार सपथ लिएका छन् । प्रधानमन्त्री बोरिस जोनसनको क्याबिनेटमा तीन भारतवंशीले अवसर पाएका हुन्। प्रिती पटेल गृहमन्त्री बन्दा अन्य दुईले पनि अवसर पाएका छन्। इन्फोसिसका सहसंस्थापक एनआर नारायण मूर्तिका जुवाइँ ऋषि सुनाक ट्रेजरी मन्त्री र आलोक शर्मा अन्तर्राष्ट्रिय विकास मामिलामन्त्री भएका छन्।



पाकिस्तानी मूलका बित्तमन्त्री
जोन्सनको मन्त्रिमण्डलमा पाकिस्तानी मूलका साजिव जावेदलाई वित्त मन्त्री बनाइएको छ । पूर्वगृहमन्त्री जावेदको स्थानमाप्रितीलाई गृहमन्त्री बनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जावेद अल्पसंख्यक समुदायबाट वित्तमन्त्री हुने पहिलो व्यक्ति हुन् । यता गृहमन्त्री भएकी प्रितीले सन् २०१७ मा इजरायलको निजी भ्रमणलाई लिएर भएको विवादपछि अन्तराष्ट्रिय विकास सचिवको पदबाट राजीनामा दिनु परेको थियो।
अगष्टमा परिवारसँग छुट्टी मनाउन इजरायल गएकी प्रितीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अन्य इजरायली अधिकारीसँग भेटघाट गरेकी थिइन् । जसकाबारेमा उनले बेलायती सरकार र इजरायलस्थित दूतावासलाई समेत जानकारी गराएकी थिइनन् । प्रीति कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि ‘व्याक बोरिस’ अभियानको प्रमुख सदस्य हुन् । जोन्सनलाई सर्मथन गरेका कारण क्याविनेटमा उनलाई मूख्य पदको जिम्मेवारी दिने आंकलन पहिले नै गरिएको थियो ।
पदभार ग्रहण गर्दै प्रितीले गृहमन्त्रीको पद पाउनु सम्मानको कुरा भएको बताइन् । ‘म आफनो देश र जनतालाई सुरक्षित राख्नका लागि सडकमा हुने अपराधिक गतिविधि नियन्त्रणको कोसिस गर्नेछु’, उनले भनिन् ‘आगामी दिनमा आउने समस्या र चुनौतीको सामना गर्न तयार छु ।’
बेलायतमा समलिङ्गी विवाहलाई बैधानिकता दिनेबारेमा लामो समयदेखि प्रितीले विरोध गर्दै आएकी थिइन्। धुम्रपानबारेमा उनले अभियान नै संचालन गरेकी थिइन । उनी प्रधानमन्त्री जोन्सन जस्तै दक्षिणपन्थीलाई खुशी पार्न माहिर मानिन्छिन्।
कन्जरभेटिभ प्रधानमन्त्री मारर्गेट थ्याचरबाट प्रभावित भएर जोन मेजर बेलायतको प्रधानमन्त्री भएका बेला प्रिती राजनीतिमा प्रवेश गरेकी थिइन् । टेरेसा मेको मन्त्रिमण्डलबाट राजीनामा दिएका डोमिनिक रावलाई विदेशमन्त्री बनाइएको छ ।
त्यसैगरी लिज ट्रुसलाई अन्तराष्ट्रिय व्यपार मन्त्रालय, बेन वेलेसलाई रक्षामन्त्री र एन्ड्रिया लिडसामलाई व्यापार मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। केही पदहरु बदलिएका छैनन्। स्वास्थ्य तथा सामाजिक सुरक्षा मन्त्री र ब्रेक्जिट मन्त्री रहेका म्याट ह्यानकक र स्टीफन बारक्लेले जोन्सनको नेतृत्वमा यथावत जिम्मेवारी पाएका छन्।
गृहमन्त्री प्रितीले नियुक्तिको केही समय पहिले भनेकी थिइन्, ‘मन्त्रीमण्डलमा आधुनिक बेलायत र कन्जरभेटिभ पार्टीको शैली देखिनुपर्छ।’ गुजराती मुलकी प्रिती बेलायतमा भारतीयमूलका अधिकांश कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुग्ने गरेकी थिइन्। उनलाई बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी प्रशंसकका रुपमा चिनिँदै आएको छ ।