जब नेपाली खेलाडीबाट उपविजेताकाे पदक पनि खाेसियाे…

काठमाडौं : सिंगापुरमा नेपाली क्रिकेट टिमले दोहोरो पीडा भोग्नु परेको छ । आयोजक सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन । यो नेपाली टोलीका लागि ठूलो झड्का थियो । अर्को पीडा त्यसबेला थपियाे, जब उपविजेताको पदक खोसियो । आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो । सुरुमा अविनाश बोहोरा गए, त्यसपछि कप्तान पारस खड्का । अरुले पालैपालो उपविजेताको मेडल लगाए ।

त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई मेडल दिइयो । सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले । जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो । समान ४-४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरियो ।

नेपाली खेलाडीहरुको मेडल टिम म्यानेजर रमन सिवाकोटीले एकमुष्ट फिर्ता गरेका छन् । प्रतियोगिताको उपविजेता कतार नै हो । तर सुरुमा हतारमा नेपाललाई उपविजेता घोषणा गर्दै खेलाडीलाई मेडल लगाउनु आयोजकको गल्ती थियो । आयोजकले गल्ती विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेको पीडामा रहेका नेपाली खेलाडीहरुलाई आलो घाउमा नुनचुक छरे जस्तै सावित भयो ।

सम्बन्धित खवर

Back to top button