‘नेपाल एयरलाइन्सको साख माथि उठाउँनेछु’


काठमाण्डाैं : आज दिउँसो १ बजे बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी दिने प्रस्ताव गर्नुभयो। प्रधानमन्त्रीले पार्टीका सबै वरिष्ठ नेतासँग राय सल्लाह गरेर मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्नुभएको हो। म यहाँसम्म आइपुग्दा मलाई मत दिने, नदिने सबैलाई धन्यवाद दिन चाहन्छु।
यो मन्त्रालयका अत्यन्तै सिर्जनशील र जागरुक मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते निधन हुन पुग्यो। त्यसपछि लामो समय यो मन्त्रालय स्वयम प्रधानमन्त्रीले सम्हाल्नुभयो। एक किसिमले मन्त्रालय मन्त्री खाली भएको जस्तो थियो। उहाँको दुःखद निधनले राम्रो युवा राजनीतिककर्मी र घनिष्ठ मित्र गुमाएको छु। उहाँ बस्नु भएको कुर्सीमा परिस्थितिले आइपुगेको छ। उहाँसँग सुख दुःख सबै क्षणमा हामी हिँडेका थियौँ। उहाँले यो मन्त्रालय अझै राम्रो गरी सम्हाल्नुहुन्थ्यो।



यो मन्त्रालय उहाँले नै राम्ररी हाँक्नु हुन्थ्यो। प्रधानमन्त्रीको सही छनोट थियो। तर उहाँलाई प्रकृतिसँग हार खाएर गुमायौँ। रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएको छु। यो कुरा भन्दा मलाई कुनै हीनताबोध छैन गर्व छ। उहाँले उठाएका कदमलाई हामी अझै माथि बढाउने कुरामा विश्वास दिलाउन चहान्छु। मन्त्रीहरूको फोटो हेरेँ, कति नम्बरमा परेँ थाहा छैन। फोटोमा भएका व्यक्तित्व महानुभावहरू अझै पनि क्रियाशील हुनुहोला। उहाँहरू सबैसँग मैले रायसल्लाह लिनेछु।
त्यो सम्मान सबैलाई गर्नेछु एउटा परिस्थितिले यहाँ आइपुगेँ, यो अपर्झट र आकष्मिकता हो। यो कार्यालयका, यो मन्त्रालयका कार्यालय सहयोगीदेखि मन्त्रीसम्म सबै साथी हौँ। पदीय हिसाबले कोही ठूलो कोही सानो होला तर सबै हामी टिममा छौँ। यो टिमलाई गति दिने मेरो भूमिका हुन्छ। म यहाँ कसैलाई काम लगाउन आएको होइन, सिक्न आएको हो। तपाईंहरूले अह्राएको काम गर्छु म। कस्तो काम गर्दा मुलुकको इज्जत बढ्छ म त्यसमा लाग्छु। प्रधानमन्त्रीले सोचेका योजना पुरा गर्न लाग्नेछौँ।
हामी यहाँ कोही ठूलो कोही सानो छैन। सचिवज्यूलाई खादा, माला, फूल केही नचलाऊँ भनेको थिएँ। तर सूचना पुगेन जस्तो छ। यो मन्त्रालय छाडेर जाँदा खादा माला दिनुभयो भने त्यो बढी सार्थक हुन्छ। हामी के के गर्छौं, ती सबै कुरामा प्रधानमन्त्रीसँग मैले मन्त्रीको हिसाबमा कामको करार सम्झौता गर्नेछु। आज धेरै मन्त्रीसँग त्यो सम्झौता भएको छ। हामी जे गर्न सक्छौँ त्यो कुरा भन्छौँ, जे भएन त्यो कुरा हामी पारदर्शी भएर बताउँछौँ।
सञ्चार जगतसँग हामी भाग्दैनौँ। आजको दिनमा सञ्चार जगतको मिडियाको कति ठुलो भूमिका छ मैले बताइरहनुपर्दैन। हामी तपाईँहरूको निगरानीमा छौँ। तपाईंहरूको निगरानी जरुरी छ। देश बनाउने दायित्व हामी सबैको हो। देश बनाउने अभियानमा मिडियाको सहयोगी भूमिका हुन्छ भन्ने अपेक्षा गर्छु। तपाईँहरूलाई हामी कहीँ रोक्दैनौ, त्यस्ता कामबाहेक अरु सबै काममा तपाईँहरूलाई खुल्ला छ। मैले संसदमा उभिएर जवाफ दिनुपर्छ। म प्रधानमन्त्री र व्यवस्थापिका संसदप्रति जवाफदेही छु। हरेक काम हाम्रो पारदर्शी र सहभागितामूलक हुनेछ। व्यापक छलफल बहस र अन्तरक्रियाबाट काम हुनेछ। निर्देशन कम हुनेछ। सामूहिक निर्णयबाट अघि बढ्छौँ। तत्कालीन हिसाबले केही चुनौती आउँछन्।
विशेष गरी नेपाल भ्रमण वर्ष २०२० आइ नै हाल्यो। २०२० मा २० लाख पर्यटकको लक्ष्यमा हामी पुग्छौँ। त्यसका लागि हाम्रा सबै तागतसहित हामी अघि बढ्छौँ। हाम्रा ठुला आयोजना पोखरा विमानस्थल, गौतम बुद्ध विमानस्थलमा द्रुत गतिमा काम भइरहेको छ। यी परियोजना सकेसम्म भनिएको समय भन्दा पहिले सक्छौँ। भएन भने तोकिएको समयमा पुरा गर्छौँ। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति कहाँ पुगेको छ? नमिलेका कुरामा हामी सहमति जुटाउँछौँ।
त्यसका आशंकालाई पनि मेट्ने छौँ। कार्यकाल भित्र सम्पन्न गर्नेछौँ। नेपाल एयरलाइन्स र नागरिक उड्ययनको क्षेत्रमा जे जोखिम र चुनौती छन् तिनको समाधानका लागि हामी काम अघि बढाउँछौँ। नेपाल एयरलाइन्सको साख माथि उठाउँछौँ। आज जसरी टिप्पणी भइरहेको यस्तो अवस्था बनोस कि वाह! नेपाल एयरलाइन्स भन्ने अवस्थामा पुर्याउँछौँ। अरु हाम्रा देशभत्रिका आन्तरिक विमानस्थल विस्तार, निर्माणमा लाग्छौँ।
सहयोगीहरूसँग हातेमालो गरेर अघि बढ्छौँ। हाम्रो व्यवहार एकदमै शिष्ट हुनेछ। साथीको हुनेछ। शिष्टतापूर्वक व्यवहार गर्नेछौँ। हाम्रो मन्त्रालयमा आइस्योस् गइस्योयस् अब बन्दा हुन्छ। अब आउनुस्, जानुस् भन्ने बानी बसालौँ। प्रधानमन्त्रीले नियुक्ति गर्नुपूर्व जे आशा अपेक्षा गर्नुभएको छ। प्रम पनि मन्त्रालयको काम र टिमबाट खुसी हुने गरी काम गर्छौँ। सम्बन्धित फाँट र क्षेत्रको काम लेनदेनका क्रममा भेट हुनेछ। फोन लगातार आएको हुनाले उठाउन सकेको छैन।
त्यो बाध्यता बुझिदिनिुहोला सामाजिक सञ्जालमा बधाई आइरहेका होलान्, सबैलाई धन्यवाद। बिजनेस हाउस, व्यवसायिक घरानाले पैसा तिरेर पत्रिका र टेलिभिजनमा विज्ञापनका रुपमा नदिनुहोला। बधाईले थिचिएर उठ्न नसक्ने डर हुन्छ। बधाईले नथिची काम गर्न पाऊँ, यो अपेक्षा गरेको छु। मन्त्री, कर्मचारी, सचिव सबैसँग सद्भाव हुनेछ। हाम्रो मन्त्रालयसँग विषयगत हिसाबले जोडिएका विषयगत समितिप्रति जवाफदेही हुनेछौँ।
समिति सदस्य र सभापतिसँग निरन्तर छलफल गर्नेछौँ।हाम्रा कामहरूको नियमित रिपोर्टिङ गर्नेनछौँ। संक्षिप्त स्वागत कार्यक्रमको आयोजनाका लागि राज्यमन्त्री, कर्मचारी सबैलाई बधाई, शुभकामना दिनु भएकोमा धेरै धेरै धन्यवाद! भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको पदभार ग्रहणका क्रममा दिएको मन्तब्यको सम्पादित अंश।