काठमाडौं, ३१ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ । शुक्रवार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो ।
त्यस्तै सातवटा प्रदेशमा थप दुई-दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन-तीनजना सहइन्चार्ज रहनेछन् ।
बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डितलगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।
नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुखनै बनेका छन् । माधव नेपाल विदेश विभाग प्रमुख भएका छन् भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा पुगेका छन् ।
सातै प्रदेश कमिटीमा थपिए १४ सहइन्चार्ज (नामावलीसहित)
नेपाल कम्युनिस्ट पार्टीले सातवटा प्रदेश कमिटीमा सहइन्चार्ज थप गरेको छ। नेकपाको शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा दुई-दुई सहइन्चार्ज थप गरेको हो। थपिएका सहइन्चार्जको नामावलीः
प्रदेश १ शेरधन राई र नरेश खरेल , प्रदेश २ नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश ३ हितमान शाक्य र काशीनाथ अधिकारी , गण्डकी प्रदेश किरण गुरुङ र यशोदा सुवेदी गुरुङ , प्रदेश ५ वैजनाथ चौधरी र कुलबहादुर केसी , कर्णाली प्रदेश कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदूरपश्चिम प्रदेश खगराज भट्ट र भानुभक्त जैसी रहेका छन् ।
यसरी सहइन्चार्ज बन्ने मध्ये प्रदेश १ का राई प्रदेशका मुख्यमन्त्री पनि हुन्। प्रदेश १ मा सहइन्चार्ज तोकिएका राई र गण्डकी प्रदेशका सहइन्चार्ज बनेका गुरुङ मन्त्री हुन्। अन्य प्रदेशका हकमा यसअघि जिल्लामा जिम्मेवारी दिँदा असन्तुष्ट रहेका नेता पनि छन्।
सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा जिल्लामा जिम्मेवारी पाएका भट्ट असन्तुष्ट थिए। उनले जिल्लामा पाएको जिम्मेवारी अस्वीकार गरेका थिए। त्यसपछि उनलाई प्रदेश सहइन्चार्ज बनाइएको हो। नेकपाको आज बसेको सचिवालय बैठकले ३३ विभाग प्रमुखको टुंगो लगाएको छ।
हेर्नुस् विज्ञप्तिः
[pdf-embedder url=”https://satkarpost.com/wp-content/uploads/2019/08/press-bigyapti.pdf” title=”press- bigyapti”]