९० वर्षका रूग्ण बूढा मानिस ख्वाक् ख्वाक् खोक्दै निदाउने प्रयास गर्दैछन्, तर बाहिर प्राङ्गणमा सुनिएको कोलाहलले कान उतैतिर लान्छन् ।
सामाजिकशास्त्र कुर्लिरहेको थियो– आदिम युगदेखि यी जंगली मानिसहरुलाई मैले आजको सभ्य युगसम्म ल्याउन कति पापड बेल्नुप¥यो । नीतिशास्त्र जंगियो– ठूलालाई आदर र सानालाई माया गर्न त मैले सिकाको नि ! तिमी के फूर्ति लाउँछौ ?
धर्म रवाफ लाउँदै बोल्यो– यो ब्रह्माण्डको सृष्टि, सञ्चालन र संहार शक्ति त मसँग छ नि ! म राज गर्छु । झोले र आस्तिक त मेरा कति कति ? ईश्वर र मन्दिर मेरा कर्मक्षेत्र !
प्रकृति रूष्ट हुँदै बोलिन्– इस्…..! म सुनामी, चक्रवात र महाभूकम्प बनेर तिम्रा सारा लीला समाप्त गर्न सक्छु, बुझ्यौ ? आगो, पानी, हावा मेरा हतियार हुन् ।
विज्ञान पनि कुर्लियो– ओहो ! तिमीहरुका फूर्ति । युग मेरो, समय मेरो । म नयाँ–नयाँ विशिष्ट ज्ञान पस्केर मानिसमा निरन्तर नवचेतना भर्छु । निमेषभरमै ब्रह्माण्डमा धाबा बोल्न सक्छु ।
साहित्यकार गम्भीर भएर बोल्यो– तिमीहरु सबैको नकारात्मक पक्षलाई म ओकल्न सक्छु ।
बूढो मानिस जुरूक्क उठेर उनीहरुको छेवैमा गएर बोले– यो ब्रह्माण्ड त ज्ञानको खोज क्षेत्र हो, प्रयोगशाला हो । सबैले आआफ्नो जिम्मेवारी वहन गर्नू, घमण्ड र फूर्तिको के काम र ?
उत्ति नै खेर एउटा अलौकिक र अदृश्य स्वर सुनियो– ‘इन्द्रका अगाडि स्वर्गको बयान !’