सरकारका प्रवक्त र प्रधानमन्त्री वीचकै कुरा बाझियाे


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार मन्त्री गाेकुल बासकाेट वीचकै कुरा बाझिएकाे छ । प्रधानमन्त्री ओली सिंगापुर उपचारमा रहेका बेला भिडियो कन्फ्रेन्सिङ कलबाट भएको मन्त्रिपरिषद् बैठकबारे सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदलाई यथार्थ कुरा नबताएको रहस्य खुलेको छ । बिहीबार सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्दै नबसेको भनेर संसदमा बोलेका थिए।
संसदलाई जानकारी दिने क्रममा उनले त्यस दिन (भदौ ९ गते) मन्त्रिपरिषद् बैठक नबसेको, कुनै पनि निर्णयका बुँदा प्रस्तुत पनि नभएको र पारित पनि नभएको जिकिर गरे। जबकि प्रधाननमन्त्री केपी शर्मा ओली स्वयंले भदौ ९ गते नै सामाजिक सञ्जाल ट्वीटरमार्फत् टेलि प्रिजेन्समार्फत् मन्त्रिपरिषद बैठक बसेर सम्पन्न भएको जानकारी दिएका थिए ।



त्यस्तै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि मन्त्रिपरिषद् बैठकबारे जानकारी दिएका थिए। मन्त्री बास्कोटाले भने संसदमा प्रतिपक्षी दल कांग्रेसका सांसदहरु र सत्तारुढ नेकपाकै सांसदहरुले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठकलाई सार्वभौमसत्तासँग जोडेपछि उक्तदिन मन्त्रिपरिषद बैठक नभएको बताएका हुन्। बास्कोटाले नेपालको सार्वभौमिकता र प्रमको राष्ट्रियतामाथि प्रश्न नउठाउन पनि सचेत गराए। कांग्रेस सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद बैठक नबसेको भएको कार्यविधि परिमार्जन गरेर बैठक भिडियो कन्फ्रेन्सबाट बैठक बस्न सक्ने भनेर किन लेखेको ?

भनेर जवाफ मागेपछि बास्कोटाले त्यो भविष्यका लागि गरिएको जवाफ दिए। सांसद प्रकाश रसाइली स्नेहीले पहिले मन्त्रिपरिषद भनेर हल्ला गरिएको तर, अहिले होइन भनेर किन ढाँटिएको भनेर सोधेका थिए। जवाफमा बास्कोटाले त्यो परीक्षण मात्रै भएको जिकिर गरेका थिए। ‘मुटुको उपचारका लागि बाँदरमा किन परीक्षण गरियो? किन मान्छेमा किन गरिएन?’,मन्त्री बाँस्कोटाले भने, ‘त्यो एउटा परीक्षण मात्रै हो, त्यसलाई अन्यथारुपमा नबुझ्नु होला।’
हेर्नुस् प्रधानमन्त्रीकाे ट्विट
प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद। pic.twitter.com/weHSyAejxS
— K P Sharma Oli (@kpsharmaoli) August 26, 2019








