न्यायाशीश कुमार रेग्मीसमेत बालुवाटार जग्गा किनबेचमा
काठमाडौं : आजका दैनिक पत्रिकाका फ्रन्टपेजमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । कान्तिपुरले बालुवाटार जग्गा किनबेचमा सर्वोच्च अदालतका न्यायाशीश कुमार रेग्मी पनि संलग्न भएको समाचार छापेको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले एनसेलका ३५ टावरमा आगजनी गरिएको समाचार र राजधानी दैनिकले १४ मंसिरमा उपनिर्वाचन गर्ने सरकारको निर्णय भनेर समाचार छापेको छ । सरकारी मुखपत्र गोरखापत्र दैनिकले भने प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पौने २ लाखले रोजगारी पाएको समाचार छापेको छ ।
रेग्मीले मीनबहादुरसँग किनेका थिए बालुवाटारको जग्गा
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो ।
बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अध्ययन/अनुसन्धान गरिरहेका छन् । भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार रेग्मीले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा खरिद गरी विभिन्न व्यक्तिलाई बिक्री गरेको अभिलेखबाट देखिएको छ ।
कान्तिपुरलाई प्राप्त मालपोत मोठको प्रतिलिपि लगतलगायत प्रमाणबाट रेग्मी उक्त जग्गा कारोबारमा संलग्न देखिएका हुन् । उनले २०६१ माघ ११ मा कित्ता नं. ४४, ४६ र १६५ को जग्गा किनेका थिए । भाटभटेनी सञ्चालक गुरुङबाट राजीनामा पास गरी जग्गा लिएका रेग्मीले मालपोतको अभिलेखमा ५ लाख ८२ हजार रुपैयाँमा खरिद गरेको जनाएर राजस्व तिरेका छन् ।
नापी कार्यालयको तत्कालीन अभिलेखमा रेग्मीले किनेको कित्ता नम्बर ४४ को जग्गा ५ आना ३ पैसा, कित्ता नम्बर ४६ को क्षेत्रफल ५ आना १ पैसा र कित्ता नम्बर १६५ को क्षेत्रफल २ पैसा २ दाम छ । सबै जोड्दा उनले किनेको जग्गाको कुल क्षेत्रफल ११ आना २ पैसा २ दाम हुन्छ । त्यतिबेला प्रतिआना करिब ५० हजार रुपैयाँका दरले कारोबार भएको देखिन्छ ।
जग्गा किनेको करिब साढे दुई वर्षपछि रेग्मीले टुक्राटुक्रा पारेर बेचेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुन्धानबाट देखिएको छ । कित्ता नम्बर ४४ को जग्गालाई ९६, ९७, ९८ र ९९ नम्बरमा कित्ताकाट गरिएको छ । यी सबै टुक्रा जग्गाको कारोबार २०६४ साउन ४ गते गरिएको छ । विभिन्न सरकारी निकायमा पुगेको अभिलेखमा भने साउन ६ गते पास भएको विवरण छ । टुक्रा पारेर बेचिएका जग्गामध्ये कित्ता नम्बर ९६ को क्षेत्रफल ६७ दशमलव ५६ वर्गमिटर छ ।
दुई आनाभन्दा केही बढीको यो टुक्रा रेग्मीले नूतन श्रेष्ठलाई बेचेको रेकर्ड छ । कित्ता नम्बर ४६ बाट ४६८ नम्बरमा कित्ताकाट भएको जग्गाको क्षेत्रफल १३ दशमलव ९१ वर्गमिटर छ । झन्डै दुई पैसाको टुक्रा पनि उनले नूतनलाई नै बेचेका थिए । मालपोतको लिखतअनुसार दुई टुक्रा जग्गा १४ लाख ६४ हजार २ सय ८६ रुपैयाँमा ‘राजीनामा’ पास भएको छ ।
कित्ता नम्बर ९७ को जग्गा २१ दशमलव ८५ वर्गमिटर छ । पुगनपुग तीन पैसा क्षेत्रफलको यो जग्गा अनिलमान ताम्राकार र अनितादेवी कंसाकारको नाममा गएको छ । लिखतमा उनीहरूले १ लाख ३ हजार रुपैयाँको कारोबार देखाएका छन् । कित्ता नम्बर ४४ टुक्रिएर बनेको मध्येको कित्ता नं. ९८ मा ४७ दशमलव ६९ वर्गमिटर क्षेत्रफल छ । करिब डेढ आना क्षेत्रफलको यो जग्गा सोही मितिमा रेणुका वज्राचार्यले खरीद गरेको देखिन्छ । यसमा २ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।
कित्ता नम्बर ४४ टुक्रिएर बनेको कित्ता ९९ मा ४५ दशमलव ७ वर्गमिटर छ । करिब डेढ आनाको यो टुक्रा सानुछोरी वज्राचार्यलाई ३ लाख रुपैयाँमा बेचेको देखिन्छ । कित्ता नम्बर ४६ टुक्रिएर बनेको ४६९ कित्तामा ३९ दशमलव ७३ वर्गमिटर छ । एक आनाभन्दा केही बढीको यो जग्गा ओमवीरमान तामाङले खरिद गरेका थिए । यसको मूल्य ७ लाख १४ हजार २ सय ८६ रुपैयाँ उल्लेख छ । अर्को १६५ कित्ता पूरै २०६३ पुस १७ गते बिक्री भएको देखिन्छ, जसलाई विजेन्द जोशीले खरिद गरेका थिए ।
सबै जग्गा बिक्रीबाट रेग्मीले २८ लाख ६ हजार ७ सय ७ रुपैयाँ आम्दानी गरेको देखिन्छ । यसमा कित्ता नम्बर १६५ को बिक्री मूल्य समावेश छैन । साढे दुई वर्षमा २२ लाख २४ हजार ७ सय ७ रुपैयाँ खुद मुनाफा गरेका उनले २०६३ पुस १७ गतेपछि ललिता निवासको जग्गा आफ्नो नाममा बाँकी राखेका छैनन् ।
यी जग्गा कारोबारका बेला रेग्मी भाटभटेनी डिपार्टमेन्ट स्टोरका कानुनी सल्लाहकारसमेत थिए । उनले भाटभटेनीका सञ्चालकबाट जग्गा किनेर अरूलाई बेचेको देखिए पनि यी दुई पक्षको सम्बन्ध त्यसपछिका कारोबारमा समेत भेटिन्छ । २०६४ सालमा ४४ नम्बरको कित्ताबाट ३ दाम जग्गा कामना गुरुङका नामबाट विजय ताम्राकारलाई बिक्री भएको छ । त्यसमा मीनबहादुर गुरुङ अधिकृत वारेसनामा बसेका थिए । गुरुङले ललिता निवासका अन्य टुक्रा जग्गाहरूको कारोबार गरेकै मितिमा रेग्मीले समेत बेचेको देखिन्छ । गुरुङ र रेग्मीको जग्गा किन्ने व्यक्तिसमेत एउटै छन् ।
कित्ता नम्बर ४४ को जग्गाको इतिहास केलाउने हो भने २०५६ सालमा पुग्नुपर्छ । अधिग्रहणलाई जफतको अर्थ लगाई राणा परिवारले ललिता निवासको जग्गा आफ्नो नाममा दर्ता गरेपछि आफूहरू मोही भएको दाबी गरेका केही व्यक्तिले भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए ।
भूमिसुधार कार्यालयले उनीहरूको निवेदन सदर गरी जग्गा पाउने निर्णय सुनाइदियो । त्यसलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरिदियो । त्यसपछि कित्ताकाटका क्रममा माया प्रजापतिले जग्गा पाएकी थिइन् । उनको एक रोपनी दुई आना जग्गा माधवी सुवेदी र उमा ढकाल्नीका नाममा गएको थियो । पछि त्यही जग्गा गुरुङले लिएर रेग्मीलाई बेचेको देखिन्छ । आफूले किनेको एक वर्षमै गुरुङले रेग्मीलाई जग्गा बेचेका थिए ।
कित्ता नम्बर ४६ को जग्गा अर्का शंकास्पद मोही अष्टनारायण महर्जनका नामबाट बिक्री हुँदै गएको देखिन्छ । यस्ता सबैजसो किनबेचमा माधवी सुवेदी, उमा ढकाल्नी अनि सरकारी प्रतिवेदनमा भूमाफिया किटान भएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी जोडिएका छन् । पछि उनीहरूको समूहमा भाटभटेनीका सञ्चालक गुरुङसमेत सामेल भएर आफू, आफ्ना छोराछोरी अनि भाटभटेनीकै नाममा जग्गा किनेका थिए । अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले गुरुङ र उनका यी लगायत जग्गा कारोबारमाथि छानबिन गरिरहेको स्रोतले बतायो ।
तत्कालीन अधिवक्ता रेग्मीले बेचेको कतिपय जग्गा पछि बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारले सट्टाभर्ना दिएको थियो भने कतिपयमा सरकारी बाटो कायम भयो । रेग्मीले बेच्ने क्रममा कतिपय जग्गामा बाटोको सुविधासमेत थिएन । सबैजसो जग्गा मोहीका नाममा आइसकेपछि बिक्रीवितरण गरिएको थियो ।
अख्तियार स्रोतका अनुसार जग्गा खरिदबिक्री गर्दा रेग्मीको कारोबारमा हालसम्म ‘कानुनी त्रुटि’ फेला नपरे पनि भूमाफिया किटान भएका व्यक्तिहरू र उनको कारोबारमा ‘समानता’ देखिएको छ । ‘अरू केही नहोला तर जुन दिन उहाँ (रेग्मी) ले जग्गा किन्नुहुन्छ, बालुवाटार जग्गा प्रकरणका प्रमुख योजनाकारले त्यही दिन अरू धेरै कारोबार गरेको देखिन्छ,’ अख्तियार स्रोतले भन्यो, ‘यो संयोगमात्रै होइन । उहाँले जग्गा बेचेकै दिन अरूले पनि बेचेका छन् । किन्नेहरूबीच पनि यस्तै समानता भेटिन्छ ।’ जग्गा कारोबारमा संलग्न व्यक्तिहरूको सञ्जाल र अन्तरसम्बन्धबारे अनुसन्धान भइरहेको भन्दै अख्तियार स्रोतले थप कैफियत’ भेटिए अनुसन्धानको दायरा अझै फराकिलो हुने जनाएको छ ।
‘फी बाँकी थियो, जग्गा लिएरबेचेको हुँ’–कुमार रेग्मी
२०६० सालदेखि २०६४/६५ सम्म म भाटभटेनी डिपार्टमेन्ट स्टोरमा कानुनी सल्लाहकार थिएँ । त्यस्तो लिखित रुपमा त थिएन तर मीनबहादुर गुरूङ खोटाङकै हुन् । मेरो गाउँले पनि भए । म भर्खरै क्यानडाबाट एलएलएम गरेर आएको थिएँ । त्यसबेला मैले केही कानुनी सहयोग गरेको हो । त्योदेखि बाहेक अरु केही होइन । त्यो बेला कानुनी पाटो हेर्दा आफ्नो ‘फी’ को पनि कुरा थियो ।
अलिअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँगै धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एक/दुई वर्षमै बिक्री भइहाल्यो । जति टुक्रा थियो, त्यति नै बिक्री गरेको हो । पछि उनले नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको मान्छे भएकाले नाफा होला भनेर लगानी गरेको हो ।
कान्तिपुरले सर्वोच्चका न्यायाधीश कुमार रेग्मी पनि बालुवाटारको सरकारी जग्गा किनबेचमा संलग्न भएकोबारे लेख्छ, ‘तत्कालीन कानुन व्यवसायी कुमार रेग्मीले २०६१ माघ ११ मा तीन कित्ता जग्गा मीनबहादुर गुरुङबाट किनी साढे दुई वर्षपछि टुक्रा टुक्रा पारेर बेचेका थिए ।’
कान्तिपुरसँग कुराकानी गर्दा रेग्मीले जग्गा किनेको स्वीकार पनि गरेका छन् । रेग्मीका अनुसार मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा उनी कानुनी सल्लाहकार थिए । कानुनी सल्लाहकार भएर काम गरेको पैसा लिन बाँकी रहेकाले मीनबहादुर गुरुङसँग जग्गा लिएको रेग्मीको भनाइ छ ।
रेग्मीले भनेका छन्, ‘अलअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँग धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एक-दुई वर्षमै बिक्री भइहाल्यो । जति टुक्रा थियो, त्यति नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको भएकाले नाफा होला भनेर लगानी गरेको हो ।’ याे सामग्री कान्तिपुर दैनिकले तयार पारेकाे हाे ।