काठमाडौं : नेकपाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद महतले जुम्लामा २०३८ सालमा निर्मित २ सय किलोवाटको जलविद्युत् बिग्रिएर जिल्ला अन्धकार हुँदा पनि सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै आक्रो श पोखे। जिल्लाबासीको समस्याबारे जानकारी गराउन खोज्दा ऊर्जा मन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भेट नै नदिएको गुनासो उनले गरे।
‘यति मिडियामा आइसक्यो। यति सामाजिक सञ्जालमा आइसक्यो। यति धेरै हामीले फोन गरिसक्यौँ। यति धेरै भेट्न कोशिश गर्यौँ’, उनले भने, ‘हाम्रा श्री ३ महाराजलाई। हाम्रा श्री ३ महाराज भन्या को हो भने कुलमान घिसिङ। अनि अर्का श्री ३ महाराज हुनुहुन्छ ऊर्जामन्त्री बर्षमान पुन। फोन पनि उठ्दैन, भेटघाट गर्न पनि पाइँदैन।’
महतले जुम्लाबासीको समस्यालाई पनि राष्ट्रिय समस्याका रुपमा बुझिदिन आग्रह गरे। ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? यिनीहरुसँग भेट कसरी गर्ने हो ? यिनीहरुसँग हाम्रो जिल्लाको समस्या कसरी राख्ने?’, उनले प्रश्न गरे, ‘के विद्युत् प्राधिकरण छैन यो नेपालमा? जुम्ला भन्ने जिल्ला नै छैन ? जुम्लामा एक लाख मानिस बस्छन्।
मोबाइल फोन चलाउन नपाएर कति गाह्रो भइरहेको छ। जात्रा आयो। दशैँ आयो, तिहार आयो।’ प्राधिकरण भित्रको कमिसनबारेमा आफुले सुनेका कुरा सही रहेछ भन्ने लागेको उनले बताए। महतले भारतलाई बेच्ने भनिएको बिजुली जुम्लालाई बेच्न आग्रह गरे।
‘हामीले यति प्रगति गर्यौ भनेर यिनीहरु कुर्लेको कुर्ल्यैछन्। इण्डियालाई बेच्दैछु भन्छन्। हामीलाई बेचिदिनोस्। कृपया जुम्लालाई बेचिदिनोस् तपाईंहरु। त्यहाँ पनि जनता छन्। त्यहाँ पनि मोबाइल छ। त्यहाँ पनि पढ्ने विद्यार्थी छन्। त्यहाँ पनि बिरामी छन्’, उनले भने, ‘हाम्रा यी श्री ३ महाराजलाई म फेरि भन्न चाहन्छु। तपाईंहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो। मैले सुन्ने गरेको थिएँ। यिनीहरुको सेवा जहाँ कमिसन आउँछ त्यहाँ मात्रै विस्तार गर्छन् भन्ने सुनेको थिएँ। आज मलाई विश्वास लागेको छ। यिनीहरुले जहाँ पैसा आउँछ त्यहीँ सेवा विस्तार गर्दा रहेछन्।’