संयाेजक नै ठगिएपछि प्रधानमन्त्री राेजगार कार्यक्रमका मजदुरले पाएनन् ज्याला

सुर्खेत : प्रधानमन्त्री राेजगार कार्यक्रमकाे जिम्मेवारी पाएका व्यक्ति नै ठगिएकाे खुलासा भएकाे छ । सुर्खेतकाे सिम्ता गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई संचालन गर्ने संयाेजककाे जिम्मेवारी पाएका व्यक्ति नै ठगिएकाे खुलासा भएकाे हाे । यहाँ काम गरेका मजदुरहरुले एक महिनासम्म काम गरेको ज्याला नपाएको गुनासो गरेपछि यस्ताे तथ्य बाहिर आएकाे हाे ।

गत आर्थिक वर्ष २०७५/२०७६ असार भित्रै योजना सम्पन्न गरि ज्याला पाउनु पर्नेमा सिम्तागाउँपालिकाका ९ वडाका १७ ओटा योजनामा काम गर्ने २०३ जना ज्यामिले काम गरेको रकम नपाएका हुन् ।

आफूहरु बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म काम गरेर पनि रकम नपाएको जुम्लेखाली पोखरी निर्माणका संयोजक मोहन चन्दले जानकारी दिएका छन्  ।  उनले भने ‘म लगाएत सिम्ता गाउँपालिका भित्रका ९ वडाका २०३ जना हामी काम गरि खाने ज्यामिले काम गरिसकेकाे १ महिना बित्नै लाग्दा पनि असारमा पाउने पैसा अहिलेसम्म  पाएका छैनाैं ।’ स्थानीय सरकारले नै हामी काम गरि खाने वर्गलाई ठगेपछि अन्यायमा परेकाे बताएका छन्र । हामीहरुलाई यसरी श्रम शाेषण गरेर ठगेकाे सहेर बसेमा झन अरूलाई ठग्न पनि बल पुग्ने अर्का ज्यामी दिल बहादुर ओलीले बताएका छन् ।

उता सिम्ता गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक हरि बहादुर बुढाले पनि काम गर्ने मजदुरले पैसा नपाएको स्विकार्दै आफूहरुले गाउँपालिका भित्र १७ ओटा योजनाको कुनै पनि भुक्तानी नदिएकाे बताएका छन् ।

बुढाले गाउँपालिकाको खातामा आएको सबै पैसा अनेत्र खर्च भएको र केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँडको १ करोड ५० लाख गाउँपालिकामा आउन बाँकी रहेकोले काम गरेको ज्यामिको भुक्तानी  बाँकी रहेको जानकारी दिए । आफ्नो गाउँपालिका २५ लाख पैसा आएको तर प्राविधिक स्टमेट अनुसार १५ लाख मात्रै खर्च भएको बताएका छन् ।

केन्द्र सरकारले गाउँपालिकाको खातामा बजेट पठाएको र सबै अधिकार गाउँपालिकालाई भएका कारण आफ्नो क्षेत्रको पैसा पनि  गाउँपालिकाले अन्य योजनामा लगाएकाले अहिले समस्या आएको रोजगार संयोजक बुढाले जानकारी दिए ।

उता सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले पनि आफूहरुले काम गराएर पैसा दिन नसकेकाे सत्य भएको  स्विकार्दै  भने ‘हामीलाई केन्द्र सरकारले नै ठगेका कारण हामी समस्यामा परेका छाैं ।’

गाउँ पालिकालाई केन्द्र सरकारले दिने १ करोड ५० लाख राजस्व वाँडफाँडको बजेट दिन बाँकी रहेकोले यस्तो समस्या आएको अध्यक्ष केसीले बताए । गाउँपालिकामा प्रधानमन्त्री रोजगारका १७ ओटा योजना सहित गाउँपालिकाका अन्य योजना गरी गाउँपालिकाबाट १ करोड ५० लाख भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष केसीले बताएका छन् । केन्द्र सरकारले २५ गते भित्र राजस्व बाँडफाँडको पैसा गाउँपालिकाको खातामा पठाउन साथ आफूहरुले तत्काल काम गरेका ज्यामी लगाएत अन्य योजनाको बजेट भुक्तानी गरिदिने गाउँपालिका अध्यक्ष केसीले बताएका छन् ।  पाेष्टपाटीकाे सहयाेगमा ।

सम्बन्धित खवर

Back to top button