जलस्राेतकाे धनी देश नेपाल जलसङ्कट सूचीकाे ४० औँ स्थानमा

काठमाडाैं  :   नेपालले देशभित्र जलस्रोतको व्यवस्थापनमा सङ्कट भोगिरहेको भएपनि अझै गम्भीर जलसङ्कट भोगिरहेका छिमेकी देशलाई पानी बेचेर नेपालले मनग्गे फाइदा लिन सक्ने सम्भावना रहेको एक जलस्रोतविद्ले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको वर्ल्ड रिजोर्सस इन्स्टिट्युटले प्रकाशित गरेको प्रतिवेदनले अत्यन्तै गम्भीर जलसङ्कट बेहोरिरहेको सूचीमा दक्षिण एशियाका भारत र पाकिस्तान पनि रहेका छन् ।

त्यो सूचीमा मरुभूमि भएका देशहरूपछि भारत र पाकिस्तान क्रमशः १३ औँ र १४ औँ स्थानमा रहेका छन् । नेपाल चाहिँ जलसङ्कट बेहोरिरहेका देशहरूको सूचीमा ४० औँ स्थानमा रहेको त्यो प्रतिवेदनले देखाएको छ ।

नेपालभित्र विशेषतः व्यवस्थापनको समस्याले जलसङ्कट समाधान हुन नसकेको जलस्रोतविज्ञहरू बताउँछन् । व्यवस्थापनकै कारणले पहाड र तराईका विभिन्न स्थानमा पानीको समस्या देखिएको उनीहरूको ठम्याइ छ ।

तथापि नेपालले आफ्नो आन्तरिक समस्या समाधान गर्दै छिमेकी भारतलाई पानी निर्यात गर्दै मनग्गे लाभ लिन सक्ने सम्भावना अझै जीवित रहेको जलस्रोतविद्हरू बताउँछन् ।

व्यवस्थापन कमजोर

नेपालको हिमाली र पहाडी क्षेत्रबाट बग्ने हजारौँ नदीनाला र विभिन्न स्थानका तालतलैयाले नेपाललाई जलस्रोतको धनी बनाएको छ । तर त्यसको समुचित वितरण, व्यवस्थापन र सदुपयोग हुन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

‘त्यो पानीलाई व्यवस्थापन गर्न जरुरी छ । नेपालको पानीलाई बेचेर नेपाल धनी हुन सक्छ भनेर हामीले धेरै पहिले नै परिकल्पना गरेका थियौँ,’ जल तथा ऊर्जा आयोगका पूर्व सचिव एवम् जलस्रोत मामिलाका जानकार सोमनाथ पौडेलले बीबीसीलाई बताए ।

अहिले भारत र पाकिस्तानजस्ता दक्षिण एशियाली छिमेकी देशमा मरुभूमिको जस्तै चरम जलसङ्कटको अवस्थाबाट गुज्रिन थालेकोले त्यो सम्भावना अझै रहेको उनको भनाइ छ । ‘हालै भारतको चेन्नईमा पानीको त्यत्रो अभाव भयो । रेलबाट पानी लगेर मानिसहरूलाई आपूर्ति गर्नुपर्यो । भारत र पाकिस्तानसँग पानी छैन । हामीसँग प्रशस्त छ ।’ हामीले पहिलेदेखि भन्दै आएको कुरा यहि हो हामीसँग जलस्रोत छ । भारतमा खानेपानीको सङ्कट हुन्छ ।

जलस्रोतको धनी नेपाल

नेपालमा हिमाली क्षेत्र र त्यसदेखि दक्षिणका पहाडी क्षेत्रमा उद्गमस्थल भएका झन्डै छ हजार नदीनाला रहेको विज्ञहरू बताउँछन् । तिनै नदीबाट भारतबाट बग्ने गङ्गा नदीको ७० प्रतिशत पानी आपूर्ति हुने गरेको बताइन्छ । नेपाल जलस्रोतका धनी देशमध्येमा पर्छ । जलस्रोतविज्ञ सोमनाथ पौडेलका अनुसार नेपाल जलस्रोतमा ‘विश्वको २२–२३ औँ धनी देश हो।’

उनले भने, ‘नेपालका प्रत्येक व्यक्तिको भागमा सात हजार घनमिटर पानी पर्न आउँछ । सिँचाइ र खानेपानीको लागि पुग्दो छ । तर व्यवस्थापनमा हामी एकदमै कमजोर छौँ ।’ उनका विचारमा त्यसै कारण नेपालमा पानी सङ्कट देखिएको हो ।

व्यवस्थापनकै कमजोरीका कारण मेलम्चीजस्तो खानेपानी परियोजनाको काम सम्पन्न गर्न विलम्ब भएको पौडेलको मत छ । बाढीले नेपाल–भारत सम्बन्धमा तनाव ‘छ वर्षमा सक्नेगरी सुरु गरिएको मेलम्ची २५ वर्षपछि पनि अझै अपूरो छ । ‘देशका अन्य भूभागमा पनि’ सबै व्यक्तिले खानेपानी र अरू सुविधा पाएका छैनन्’ उनले भने।

उचित जलस्रोत व्यवस्थापन गर्ने हो भने नेपालको कुनै पनि भूभागमा पानीको सङ्कट नहुने उनी बताउँछन् । उनले भने, ‘तराईमा भूमिगत जलस्रोतको भण्डार छ । पहाडमा कतै पम्प लगाएर तलबाट माथि पानी तान्नु पर्ला, कतै एक स्थानबाट अर्कोमा पानी लैजानु पर्ला । हामीसँग पानी प्रशस्त छ ।’ ‘भारत र पाकिस्तानमा त्यस्तो छैन ।’

मेलम्चीको सपना

वर्ल्ड रिजोर्सस इन्स्टिट्युटले प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपालको पश्चिमी क्षेत्र पानीको अत्यन्तै ठूलो सङ्कटमा रहेको जनाइएको छ । विज्ञहरूका अनुसार पानीको उचित व्यवस्थापन हुन नसकेकै कारण मानिसहरूले कर्णाली र सुदूरपश्चिमका कैयौँ स्थानमा पानी सङ्कट भोगिरहेका हुन् ।

सार्वजनिक अभिव्यक्ति दिने क्रममा भने नेपालका राजनीतिक नेताहरूले पानी सङ्कट समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । बहुप्रतीक्षित मेलम्ची परियोजना गत वर्षको दशैँभित्र सम्पन्न गर्ने आश्वासन बारम्बार दिइँदै आएको थियो ।

परियोजनाको अधिकांश काम पूरा भइसकेको भनिए पनि मेलम्चीको पानी अझै काठमाण्डू उपत्यका झर्ने भौतिक पूर्वाधार पूर्ण रूपमा तयार भइसकेको छैन । फलस्वरूप मेलम्चीको सपना अझै पूरा भएको छैन ।

देशभित्रको जलसङ्कट समाधान जहाँको तहीँ भएपनि राजनीतिक नेतृत्वबाट नेपालको हिमालय क्षेत्रको पानी छिमेकी भारत र चीन मात्र नभई अन्य देशहरूमा पनि निर्यात गर्न सकिने सार्वजनिक अभिव्यक्ति बेलाबेलामा आइ नै रहेको छ ।

छुट्टै खानेपानी मन्त्रालय

हालै मात्र नेपालमा छुट्टै खानेपानी मन्त्रालय बनाइएको हो । पहिला त्यो मन्त्रालय अस्तित्वमा नै थिएन । देशभरि खानेपानीको सङ्कट हुन नदिनु त्यसको मुख्य जिम्मेवारी हो । संयोग नै हुन सक्छ । विश्वका विभिन्न देशमा पानी सङ्कटको चर्चा गरिएको प्रतिवेदन सार्वजनिक भएकै समयमा बुधवार खानेपानीमन्त्री बिना मगर संसदीय समितिको एक बैठकमा खानेपानीकै कुरा गर्दै थिइन् ।

खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे उठेका प्रश्नहरूको उत्तर दिने क्रममा उनले समाधानभन्दा पनि बढी समस्याकै कुरा गरिन् । देशैभरि पानीको सङ्कट रहेको स्वीकार्दै उनले पानी व्यवस्थापन हुन नसक्दा सबभन्दा धेरै अप्ठेरो महिलाहरूलाई परेको बताइन् ।

उनले भनिन्, ‘पहाड र हिमालमा महिलाहरू पानीको लागि सङ्घर्ष गरिरहेका छन् । तराईमा निस्केको पानी आर्सेनिकयुक्त छ । सहर बजारमा पनि त्यस्तै समस्या छ । जताततै महिलाहरू नै पानी सङ्कटका कारण आक्रान्त छन् ।’ यस्तो बेला पौडेलजस्ता विज्ञहरू भने प्रष्ट छन् । नेपालमा पानीको व्यवस्थापन राम्रो नभएको तर जलस्रोत चाहिँ पर्याप्त भएको दृश्यहरू जताततै देख्न सकिन्छ । बिबिसि नेपाली सेवाबाट ।

सम्बन्धित खवर

Back to top button