प्रधामन्त्रीकाे पूर्वनिर्धारित सिंगापुर बसाई लम्बिने


काठमाडौं : स्वास्थ्य समस्या आएकाे भन्दै उपचारका लागि शनिबार सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित समयतालिका अनुसार शुक्रबार स्वदेश फर्किने कार्यक्रम रद्द हुने भएकाे छ । उपचारका क्रममा रहेका प्रधानमन्त्री ओलीको अस्पतालबाट स्वास्थ्य परिक्षणकाे रिपाेर्ट नआएका कारण सिंगापुरकाे बसाइ केही दिन लम्बिन सक्ने भएकाे हाे।
उपचारका क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण नसकिएकाले बसाइ केही दिन लम्बिन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार केही स्वास्थ्य रिपोर्ट आउन केही दिन ढिलो हुने भएकाले प्रधानमन्त्रीको स्वदेश फर्किने पूर्वनिर्धारित समय केही लम्बिन सक्ने बताए। ‘परीक्षण गरिएका स्वास्थ्य रिपोर्ट आउन ढिला हुने भएको छ’, उनले भने, ‘त्यहीँकारण प्रधानमन्त्री नेपाल आउने समय केही दिन सर्न सक्छ।’
यसअघि ओलीलाई अस्पतालले बिहीबार साँझसम्म डिस्चार्ज गरेर शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने ‘सेड्युल’ थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्जअघि थप परीक्षण गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिने भएको हो।
मिति तय नभए पनि सोमबारसम्ममा स्वदेश फर्किने सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीका साथमा पत्नी राधिका, राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाहसहित सिंगापुर गएका छन्।
प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य
स्वास्थ्य परीक्षणका लागि गत शनिबार सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा बेला-बेला समस्या देखिने गरेको छ। तीन सातादेखि बिरामी रहेका उनी गत शनिबार सिंगापुर पुगेका थिए।
हाल उनको सिंगापुरस्थित सरकारी अस्पताल नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच)मा उपचार भइरहेको छ। जुन अस्पताल संसारमै मृगौला प्रत्यारोपणका बिरामीहरूको उपचारका लागि प्रख्यात छ। प्रधानमन्त्री ओली स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहनेछन्।
गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा र गतमा ‘क्रेटिनाइन’ बढी देखिएको थियो। त्यसैगरि मधुमेह र मुटुमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचारका लागि उनी सिंगापुर गएका हुन्। त्यहाँ हालसम्म गरिएको परीक्षणमा स्वास्थ्यअवस्था सामान्य रहेको बताइएको छ।
पुनः मृगौला प्रत्यारोपणबारे परामर्श
उपचारकै क्रममा प्रधानमन्त्री ओलीको पछिल्लो समयमा स्वास्थ्यमा समस्या देखिँदै आएपछि मिर्गौला पुनः प्रत्यारोपण गर्न सकिने विषयमा चिकित्सकसँग परामर्श लिएको बुझिएको छ। सिंगापुर बसाइका क्रममा विस्तृत परामर्श लिएपछि पुन:प्रत्यारोपण गर्न सकिने अवस्था आए नेपाल फर्केर समय मिलाइने बताइएको छ।
प्रत्यारोपण गर्नुपर्ने अवस्था आए त्यहीँ अनुसार तयारी गरिने स्रोतले बताएको छ। ‘प्रत्यारोपण गरेको १२ वर्ष भइसक्यो, पछिल्लो समय मिर्गौलामासमेत समस्या देखिँदै आएको छ’, स्रोतले भन्यो, ‘त्यसैले उपचारमा रहँदा विशेषज्ञ चिकित्सकसँग पुन: प्रत्यारोपणका लागि परामर्श लिनुहुनेछ।’