जुम्लामा ३ सय केभिए डिजेल प्लान्ट पठाइँदै
काठमाडौं : सरकारले जुम्लाकाे अँध्याराे हटाउन मर्स्याङ्दी जलविद्युत केन्द्रमा रहेको ३ सय केभिए डिजेल प्लान्ट जुम्ला पठाउने भएको छ । विजुली बत्तिकाे विद्यमान समस्या समाधान गर्नका लागि तत्काल जुम्लामा ३ सय केभिए डिजेल प्लान्ट पठाउने भएकाे हाे ।
स्थानीयले सञ्चालन गरिरहेको २ सय ४० किलोवाटको घुघती लघुजलविद्युत आयोजना बिग्रेर मर्मत भइरहेको र त्यहाँ बिजुलीको हाहाकार भएकाले उक्त निर्णय गरिएको हो । डिजेल प्लान्ट पठाउने प्रक्रिया सुरु भइसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए ।
‘जुम्लाको समस्याबारे माननीयज्यूहरूले उठाएको कुरामा मन्त्रालयको ध्यानाकर्षण भइसकेको छ,’ बिहीबार प्रतिनिधिसभामा बोल्दै मन्त्री पुनले भने, ‘त्यहाँका स्थानीयको बिजुली बाल्ने अधिकार सरकारले सुनिश्चित गर्नेछ ।’
अहिले जुम्लामा सांसद गजेन्द्र महतको पहलमा डिजेल प्लान्टबाट २ सय केभिएको जेनेरेटर राखेर १ सय ६० किलोवाट बिजुली उत्पादन भइरहेको छ । यसबाट दैनिक १२ घन्टासम्म विद्युत आपूर्ति भइरहेको छ । त्यहाँ केन्द्रीय प्रसारण प्रणाली पुर्याउने काम सुरु भइसकेको पनि मन्त्री पुनले बताए ।
पुनका अनुसार कर्णाली प्रदेशमा विद्युतीकरण गर्न दैलेख–जुम्ला, दैलेख–मान्मा, सुर्खेत–जाजरकोट–डोल्पा ३३ केभी प्रसारण लाइन निर्माणका लागि गत जेठमा ठेक्का भएको छ । उनले यस प्रदेशमा आगामी दुई वर्षभित्र विद्युतीकरण हुने विश्वस्त दिलाए ।