राजधानीमै बन्याे साहित्कार झमक घिमिरेकाे घर

काठमाडौं : साहित्यकार झमक घिमिरेकाे घर राजधानीमै निर्माण भएकाे छ । अबको केही महिनापछि साहित्यकार झमक घिमिरेलाई भेट्न धनकुटा पुगिरहनुपर्ने छैन । काठमाडौं गोठाटारस्थित साढे तीनतले घरको ग्राउन्ड फ्लोरमा उनी आगन्तुकसँग खुट्टाले संवाद गरिहेकी हुने छिन् । १२ आना क्षेत्रफलमा फैलिएको घरको बगैंचामा साहित्य सिर्जना गरिरहेकी हुने छिन् ।

‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्त कृतिका लागि मदन पुरस्कार पाएकी उनलाई सरकारले घर बनाइदिएको छ । प्रक्रिया सुरु भएको झन्डै चार वर्षपछि घर निर्माण अन्तिम चरणमा पुगेको हो । बुधबार झमक साहित्य कला प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामा घरको अवलोकनका लागि गोठाटार पुगेकी थिइन् । ‘दसैंअघि रंगरोगनसहित हरियाली बगैंचा पनि बनिसक्ने छ,’ ठेकेदार दीपक पराजुलीले लामालाई जानकारी दिए, ‘त्यहीअनुरूप तीव्रगतिमा काम भइरहेको छ ।’

बुधबार बिहान कामदारहरू फल्स सिलिङको काम गरिरहेका थिए । भुइँ र बाथरुममा पार्केटिङको कार्य पनि सुरु भएको छ । सरकारले गरेको घरको डिजाइनअनुसार झमकको बसाइ भुइँतलामा हुने छ ।

यो तलालाई पूरै अपांगमैत्री बनाइएको छ । घस्रिएर हिँड्नुपर्ने भएकाले ढोकाहरूको तल्लो भागको चौकास राखिएको छैन । बाथरूम झमकका लागि बेग्लै छ । आगन्तुक भेटघाट कक्ष, अध्ययन कक्षसँगै झमकका लागि यही तलामा भव्य पुस्तकालय पनि हुने छ । उनका लागि भान्साकोठा पनि यही तलामा छ ।

झमकको भेटघाट कक्षबाटै सुरु हुने लिफ्ट दोस्रो तलामा पुगेपछि शयन कक्ष देखिने छ । पाहुना र परिवारका लागि छुट्टाछुट्टै कोठा पनि यही तलामा हुने छन् । तेस्रो तलामा दक्षिण फर्केको सानो कौशी । यहीँबाट बौद्ध र पशुपति मास्तिरको खुला र शान्त आकाश हेर्न सकिन्छ । बेलाबेला साहित्यिक कार्यक्रम, मिनी कवि गोष्ठी एवं बैठक गर्ने गरी यही तलामा ठूलो सभाकक्ष पनि बनाइएको छ । झमक प्रतिष्ठानको कार्यलय पनि यहीँ हुने छ ।

सबै तलामा सजिलै जान सकिने गरी विद्युतीय लिफ्ट जडान गरिसकिएको छ । सागपात र फलफूल खेती गर्न सकिने गरी थोरै जग्गा छोडिएको छ आँगनमा । दसैंसम्ममा हरियो दुबो र फूलका गमलाले आँगनको केही भाग सजिने छ । ‘अब दसैं मनाएपछि झमकलाई यहाँ ल्याउँछौं,’ प्रतिष्ठानकी उपाध्यक्ष लामाले भनिन्, ‘यो खबरले झमक निकै खुसीमा छिन् ।’ प्रधानमन्त्री केपी ओलीको विशेष चासोमा आनन्द पोखरेल संस्कृति तथा पर्यटनमन्त्री भएको बेला झमकका लागि घर बनाउने प्रक्रिया अघि बढेको थियो ।

पशुपति विकास कोषले १२ आना एक पैसा जग्गा उपलब्ध गराए पनि निर्णय छिट्टै नटुंगिँदा ठेक्का प्रक्रिया ढिला हुन पुगेको थियो । उपाध्यक्ष लामाका अनुसार बीचमा प्रदेश सरकारले बनाउने कि संघीय सरकारको मन्त्रालयले बनाउने भन्ने अलमल पनि भयो । एकपटक प्रदेशको मन्त्रालयअन्तर्गत जिम्मेवारी पुगे पनि ढिलाइ हुने देखेपछि संघीय सरकारकै सहरी विकास मन्त्रालयमा जिम्मेवारी फर्कियो । यो बीचमा तीनपटक प्रधानमन्त्री पत्नी राधिका शाक्य निर्माण कार्यको अवलोकन गर्न पुगिन् । काम फटाफटअघि बढ्यो ।

ठेकेदार दीपक पराजुलीका अनुसार भवनको सम्पूर्ण लागत १ करोड ८० लाख हो । भूकम्पप्रतिरोधी, अपांगमैत्री अचारसंहिता र विश्व सम्पदा मापदण्डअनुसार घर बनाइएको उनले बताए । ‘एउटै पिलरमा २० बोरासम्म सिमेन्ट हालेर बनाइएको छ,’ उनले भने, ‘१६ इन्च मोटा डन्डी प्रयोग गरिएको छ ।’ पिलरका लागि पनि सामान्यतः जमिनमुनि पाँच वर्गफिटको जाली बनाइने भए पनि झमकको घरका लागि १० वर्गफिटको जाली राखिएको छ । सबै झ्यालहरू झमकले खोल्न सकिने गरी बनाइएको छ ।

विश्व सम्पदा क्षेत्रभित्र भएकोले सम्पदा मापदण्डअनुसार नेपाली घरको डिजाइनजस्तै देखिने गरी टायलको छडके छानो बनाउँदा भने कौशीको भाग केही अग्लो हुन गएको देखिन्छ । कौशीबाट पनि झमकले वरिपरि देखिने गरी आँखी झ्याल जस्तो संरचना बनाउन पाएको भए राम्रो हुन्थ्यो । ‘सम्पदा मापदण्डले गर्दा डिजाइन यस्तै बनेर आयो,’ निर्माण कम्पनी ज्ञानज्योति विर्ल्डसका पराजुलीले भने,‘अब कौशीको संरचना फेर्नचाहिँ सम्भव छैन ।’

घर अवलोकनपछि बुधबार दिउँसै झमकसँग फेसबुक च्याट गर्ने क्रममा उनले आफू निकै खुसी रहेको बताइन् । तर, विस्तृत प्रतिक्रिया भने काठमाडौं आएर घर हेरेपछि मात्रै दिने जनाइन् । उनी यति बेला धनकुटा कचिडेस्थित जन्मघरमा बस्दै आएकी छन् । सेलेब्राल पाल्सी नामक प्रतिमस्तिकीय रोगबाट पीडित उनी जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न सक्ने अवस्थाबाट गुजि्रँदै आएकी छन् ।

खुट्टाको ३ औंला मात्र चल्ने उनले तिनै ३ औंलाका भरमा थुप्रै कृति लेखेकी छन् । अचेल उनी खुट्टाका यी तीनवटा औंलाकै सहयताले मोबाइल चलाउँछिन्, फेसबुकमा पोस्ट राख्छिन् र च्याट पनि गर्छिन् । उनका चर्चित कृति ‘जीवन काँडा कि फूल’ सँगै ‘संकल्प’, ‘आफ्नै चिता अग्नि शिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ ‘क्वाँटी संग्रह’ लगायतका कविता कृति छन् । आत्मवृत्तान्त कृति ‘जीवन काँडा कि फूल’ माथि फिल्मसमेत निर्माण गरिएको छ । याे सामग्री कान्तिपुर दैनिकले तयार पारेकाे हाे ।

सम्बन्धित खवर

Back to top button