सर्वसम्मतिले पारित भयाे कांग्रेसको निर्देशिका


काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको निर्देशिका पनि पारित गरेको छ। कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका सर्वसम्मतिले पारित गरेको हो।
साविकको कार्य समितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्य समिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरिएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउनेछ।



सहमहामन्त्री महतले भदौ २० गतेभित्र प्रतिनिधिसभा तथा प्रदेशसभाको क्षेत्रीय कार्य समिति समायोजन गरी सक्ने र कार्तिक महिनाभित्रै सबै कार्य समिति समायोजन गरी सक्ने निर्णय पनि गरिएको बताए।
कांग्रेसले निर्वाचनमार्फत सबै कार्य समिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि साविककै समितिहरूलाई मिलाएर समायोजना गर्ने गरी निर्देशिका बनाएको हो।