प्रकाश दाहालकाे नाममा २१ अर्ब रकम छ भन्नेलाई प्रचण्डले दिए यस्ताे चुनाैती

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौति दिएको छ। अध्यक्ष प्रचण्डको सचिवालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा नरहेको जनाउँदै सो चुनौती दिएको हो।

‘कमरेड प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौं। परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्त्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्ती एवम् जनसमुदायमा अपिल गर्दछौँ। यसप्रकारका झुठा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ,’ प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैङ्कमा २१ अर्ब रुपैंयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने प्रचार भएको थियो । यसलाई प्रचण्डको सचिवालयले कुप्रचार भन्दै घोर भत्र्सना र खण्डन गरेको छ।

सचिवालयले जनक्रान्तिका उपलव्धी विरुद्ध प्रतिगामी तत्त्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयासस्वरुप उक्त कुप्रचार गरिएको ठहर गरेको छ । ‘क्रान्तिकारी धु्रविकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल,तथ्यहिन, र भ्रामक कुप्रचारमा लागेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

हेर्नुस् यस्ताे छ विज्ञप्तिः

सम्बन्धित खवर

Back to top button