नवलपुर : पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको अरूणखोला पुल भाँसिदा बुधबार बिहानदेखि सवारी आगमन ठप्प भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नं को मालबहाक ट्रकले पुलको बारमा ठक्कर दिएपछि पुल भाँसिएको हो ।
लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न सक्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ‘पुल तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । उनले भने,’ पुल भासिएपछि साना गाडीबाहेक अन्य गाडी सञ्चालन हुन सकेका छैनन् ।’ तत्काल डाईभर्सनको सम्भावना नरहेकाले सडक खुल्न २/३ दिन लाग्ने प्रहरीले जनाएको छ ।
प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका गर्न लगाइएको बताए ।