उत्तर कोरिया भ्रमण सकेर नेकपा मालेका नेता स्वदेश फर्किए

काठमाडौं : नेकपा (माले)को नौ सदस्यीय टोलीले उत्तर कोरियाको भ्रमण गरेको छ । स्थायी समिति सदस्य सुरेन्द्र ढकाल नेतृत्वको टोली सातदिने भ्रमण पूरा गरी मंगलबार काठमाडौं फर्किएको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले उत्तर कोरियाको आर्थिक विकासको अवस्था बुझ्न पार्टीको पहलबाट एक टोलीलाई उत्तर कोरिया भ्रमणमा पठाएको बताए ।

मैनालीले अनलाइनखबरसँग भने, ‘उत्तर कोरियाको आर्थिक विकास, पहिलेको जनवादी क्रान्तिको अनुभव र अहिलेको समाजवादको अनुभव हेर्न, सुन्न र बुझ्नका लागि टिम गएको हो ।’ माले नेता ढकाल नेतृत्वको टोलीले उत्तर कोरियाको वर्कर्स पार्टीका उपप्रमुख रिसुयोङ्गसँग भेटवार्तासमेत गरेको छ ।

टोलीले उत्तर कोरियाको पूर्वराष्ट्रपति किम इल सुङ्गको जन्मस्थान, कोरियाको युद्ध संग्रहालय, ऐतिहासिक सम्पदालगायत स्थानको भ्रमण गरेको उत्तर कोरियाको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ ।

उत्तर कोरियाको भ्रमण गर्नु नैसर्गिक अधिकार : महासचिव मैनाली

नेपालका नेताहरुले उत्तर कोरियाको भ्रमण गर्दा विवाद हुने गरेको छ । २०७४ साउन २७ गते पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको टोलीले उत्तर कोरियाको भ्रमण गर्दा संसदसमेत विरोध भएको थियो ।

तर, माले महासचिव मैनाली भने एउटा सार्वभौम मुलुकमा अर्को सार्वभौम मुलुकका नागरिकले भ्रमण गर्नु नैसर्गिक अधिकार भएको बताउँछन् । मैनालीले भने- ‘उत्तर कोरिया डिप्लोमेटिक रिलेसन रहेको मुलुक हो ।’

आफ्नो स्वतन्त्रता र सार्वभौमिकता रक्षाका लागि संघर्षरत मुलुक हो । हामी पनि स्वतन्त्रता रक्षाका लागि संघर्षरत मुलुकका मानिस हौं । त्यहाँको संघर्ष, त्यहाँको उत्पादन, त्यहाँको जनजीवन, त्यहाँका जनताको मनोभावना बुझ्नका लागि जानु सार्वभौम मुलुकका नागरिकको नैसर्गिक अधिकार हो ।

आफ्ना नेताहरुको भ्रमण ‘जनस्तरबाट भएको अध्ययन भ्रमण’ भएको दाबी गर्दै मैनालीले भने- कसैलाई रिस उठे उठोस् ।

सम्बन्धित खवर

Back to top button