काठमाडौं : फेरि नेकपा सचिवालयकाे बैठक स्थगति भएकाे छ । वि’वादित विषयमा सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक फेरि स्थगन भएको हाे । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने तय भएको थियो ।
यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार गरेर आएपछि मंगलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो। सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ।
नेकपामा स्कूल विभागमा टुंगो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ। उक्त विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको दाबी भएको कुरा बाहिर आएको थियो। यसअघि नेकपाको सचिवालय बैठक साउन १३ गते बसेको थियो।
नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन।