पटकपटक स्थगित भएकाे नेकपा सचिवालय बैठक आज


काठमाडौं : पटकपटक स्थगित भएकाे सत्तारुढ नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ। यसअघि पटकपटक बोलाउँदै स्थगित गरिँदै आएको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि हिजोको बैठक स्थगित गरिएको थियो।



केही दिनअघि मात्रै सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किएलगत्तै पार्टी र सरकारको कामको धपेडीले अध्यक्ष ओलीको स्वास्थ्य विग्रिएपछि हिजो सचिवालय बैठक बस्न नसकेको रिमालको भनाइ छ ।
आजका लागि बोलाइएको बैठक बसेमा पार्टीभित्र लामो समयदेखि कुरा मिल्न नसकेका विभागहरु गठनको विषयमा छलफल हुनेछ। नेकपामा मुख्य रुपमा स्कुल विभागमा धेरै नेताहरुको दाबी रहेका कारण कुरा मिल्न सकिरहेको छैन्।
स्कुल विभागमा सचिवालय सदस्य, ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसालको दाबी रहेको छ।
त्यस्तै पार्टीको पोलिटब्युरो गठन, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन, जनवर्गीय संगठनको पूर्णता जस्ता विषयहरुमा समेत लामो समयदेखि छलफल भए पनि कुरा मिल्न सकिरहेको छैन्।
गत साउन १३ गते यता नेकपा सचिवालय बैठक पटकपटक स्थगित हुँदै आएको छ।