तीजकै दिन मनाइयाे गणेश चतुर्थी


काठमाडौं :तीजकै दिन गणेश चतुर्थी मनाइएकाे छ । अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको हाे । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइएको हाे ।
यस वर्ष भाद्र शुक्ल चौथीमा गर्नुपर्ने गणेश पूजा आराधना पनि हरितालिका व्रतकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए । उनले हरितालिका तीजको व्रत पारायण गरी शिवपार्वतीका पुत्र गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहे पनि यस वर्ष तिथिको घटबढका कारण दुवै पर्व एकैदिन परेको जानकारी दिए ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा बि’घ्न बा’धा नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।



यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । धर्मसभाका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले आज विभिन्न मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गरिएको बताए । उनले मङ्गलबार अपराह्न साढे २ः०० बजे वसन्तपुरस्थित अशोकविनायकबाट रथयात्रा शुरु गरी कमलादी गणेस्थानमा समापन गरिएकाे जनाए । कमलादीमा गणेशको महत्वका बारेमा प्रवचन गरी यात्रा समापन गरिएकाे छ । धर्मसभाले शुरु गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा गरिएकाे छ ।