देश चाहीँ सिंगापुर बनाउँछु भन्ने तर क्षमता, आचरण र भिजन चाहीँ टोले गफाडीकाे जस्तो

काठमान्डौ  :  धेरै मानिसलाई लाग्न सक्छ कि हाम्रा हालका राजनीतिज्ञहरुबाट यो मुलुकले काँचुली फेर्न सक्दैन । तर, के हामीसँग कुनै विकल्प छ त ? बर्षौंसम्म हामीले राजनीतिज्ञको टिका टिप्पणी ग¥यौं । बुद्धी विवेकले भ्याएसम्म सक्नेले सभ्य असन्तुष्टी पोख्यौं, नजान्नेले गाली गलौज ग¥यौं ।तर, लोकतन्त्रमा त नेता मात्र होइन जनता पनि जिम्मेवार हुनुपर्छ नि होइन र ? काम चित्त नबुझेको आफ्नो जनप्रतिनिधिलाई हामीले कयौं आलोचना ग¥यौं होला तर, सही तरिकाले जवाफ माग्यौं कि मागेनौं ? अब चाँही सोच्नै पर्छ कि ।

सके महिनाको १ पटक नसके ३ महिनाको १ पटक आँफूले भोट दिएर जिताएर पठाएको व्यक्तिसँग जनताले हिसाब माग्न सके धेरै समस्या समाधान हुनसक्छन् ।टाउनहलमा मिटिङ भने जस्तो सभाको आयोजना नागरिक समाजले गर्न सके र आम नागरिकका सवाल निर्वाचित जनप्रतिनिधि समक्ष राख्न सके नेता पनि होसियार हुनेछन् र नागरिक पनि जिम्मेवार हुनेछन् । तर त्यस्ता सभाको आयोजनामा वाहवाही गर्ने, जय–जयकार गर्ने, हो मा हो मिलाउने भक्तहरुलाई प्रवेश निषेध गर्न सक्नुपर्छ । र आम जनताले पनि आफ्नो नेता जवाफ दिन आउने दिन प्रश्नहरु तयार गरेर आउनु आवश्यक हुन्छ ।

समयको पावन्दीमा रही मर्यादाको सीमाभित्र बसेर आँफूले भोट दिएको नेतालाई प्रश्न सोध्न, प्रगति विवरण माग्न सकिने वातावारण मिलाउन नागरिक अगुवाहरुले जोड दिन सके कति राम्रो सन्देश जान्छ । यस्ता सभामा सहभागी हुन चाहने सबैलाई बोल्ने मौका दिन कठिन हुन्छ, त्यसैले एउटा कमिटीले छानेर प्रश्नकर्ताहरु र गुनासो कर्ताहरुलाई मात्र बोल्नका लागि माइक उपलब्ध गराउनु उत्तम हुन्छ ।नत्र त भद्रगोल हुनसक्छ । कोही विरोध बाहेक केही नगर्ने कसम खाए जस्ता सहभागी हुन्छन् । तिनको आवाजलाई माइन्ड नै चाँहीदैन ।

तै पनि एक पटक माइक हातमा परेपछि स्पिकर पड्केला जसरी ४ हात उफ्रिएर कराउने स्वभावका हुन्छन् । त्यसमाथि एक पटक ताली मात्र बजाइदिनुपर्छ । ज्यान जाला माइक छोड्दैनन् ।यस्ता सहभागीमा नियन्त्रण भएन भने सभा भाँडिन्छ । सहभागीले अध्ययन गरेर ल्याएको डाटासहित बोल्ने र जवाफ दिने जनप्रतिनिधिले पनि डाटासहित तथ्यको श्रृङखला मात्र प्रस्तुत गर्ने हो नि । यस्ता सभाहरुले तुरुन्तै परिणाम दिन्छन् । यसलाई हावादारी गफ दिने बानी छुटाउन नेताहरुलाई सहयोग गर्छ ।देशलाई सिंगापुर बनाउँछु, भन्ने नेता लिक्वान यु जस्तो त हुनु पर्ला नि ! देश चाँही सिंगापुर बनाउँछु भन्ने तर क्षमता, आचरण र भिजन चाँही टोले गफाडीका जस्तो भएर कसरी सम्भव छ ?

देश मलेसिया जस्तो बनाउने हो भने त नेता पनि महाथिर मोहम्मद जत्तिको चाहिएला नि ? आफ्नो मुलुक बनाउन यी नेताहरुले के कस्ता त्याग गरे ? कस्ता मानिसहरुको टिम बनाए भन्ने कुरा त हेर्न नै मिल्छ नि । तर, विचौलियाको साथ पनि छोड्दिन, कमि शन मिलाइदिने ब्रोकरसँगको ब्रेकफास्ट, लन्च, डिनर पनि छोड्दिन, तस्कर पनि समाउदिन, घुसखोरलाई पनि थुन्दिन, ठूला भ्रष्टाचारीलाई कारवाही पनि गर्दिन, अर्बौंको ट्याक्स छली हुदा पनि बोल्दिन, बलात्कारी हत्यारा पनि समाउदिन, अकुत कमाउनेलाई पनि पक्रिन भनेपछि देश सिंगापुर बन्छ ?

मुलुक कस्तो बनाउन खोजेका हौं, फाइनल गरौं र त्यस्तो बनाउन नेता कस्तो हुनुपर्छ र जनता कस्तो हुनुपर्छ, त्यो पनि फाइनल गरौं जनता होसियार नभई नेता जिम्मेवार हुन्नन् । त्यसैले भोट दिएर पठाएको नेतालाई सबै मिलेर सके महिनामा १ दिन नसके ३ महिनामा १ दिन ठूलो सभा कक्षमा बोलाएर मर्यादित र सभ्य अन्तरक्रिया गरौं, धेरै समस्या समाधान हुन्छन् ।विशेष गरेर मन्त्रीहरुसँगको अन्तरक्रिया जरुरी छ । टिभी, रेडियो, पत्रिका, अन्य अनलाइन मिडियासँग इन्टरभ्यु दिने टाइम हुने जनतासँग भेट्न टाइम नहुने भन्ने होइन । प्राय मन्त्रीहरु बिहान ६ बजेदेखि राति १२ बजेसम्म नन् स्टप ब्यस्त हुन्छन् ।

मन्त्रीहरु यस्तो ब्यस्त भएको हिसाबले त यो मुलक सिंगापुर, स्वीजरल्याण्ड,अमेरिका, अष्टे«लिया,क्यानाडा भन्दा पनि अघि बढ्नु पर्ने हो।ठूलो कुरा ग¥यो नभन्नु होला,यो देशको कुनै पनि मन्त्रीले हप्ताको ५ दिन दिनको ८ घण्टा भन्दा बढी काम गर्नै पर्दैन। हप्ता मा २ दिन छुट्टी लिएर बर्षमा २ पटक लामो भ्याकेशन लिएर,प्रत्येक दिन परिवारसँगै डिनर खान सक्ने गरी समय पाउन सक्छन् ।समय व्यवस्थापन गर्न नजान्नेले मात्रै हो आँखै गाडिने गरी विहानदेखि मध्यरातसम्म जोतिने ।नेताले कार्यशैली फेरौं जनताले ख*बरदारी को शैली फेरौं, मिडिया अन्तर्वार्ता घटाऔं । जनतासँगको अन्तर्वार्ता बढाऔं, धेरै समस्या आँफै समाधान हुन्छन् ।

सम्बन्धित खवर

Back to top button