आज नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन हुँदै
काठमाडौं : दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज मङ्गलबार हुने भएको छ ।
उक्त पाइपलाइनको उद्घाटन मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पेट्रोलियम पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। अर्यालका अनुसार दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गर्नेछन्।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले उद्घाटनसँगै उक्त पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति सुरु हुने जानकारी दिए । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुने छ ।
रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ । यसअघि नै उक्त पाइपलाइनको सफल परीक्षण भइसकेको छ । उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने छ।