तीन ओटा कार्यालय गाभेर एकै बनाइयो


जाजरकोट : जिल्लामा स्वास्थ्य सेवा प्रवाह गरिरहेका तीन वटा कार्यालय गाभेर एउटै कार्यालय बनाइएको छ । बुधबार सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पतालमा बिशेष कार्यक्रमको आयोजना गरी जिल्ला अस्पताल जाजरकोट, जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोट र जिल्ला आयुर्वेद कार्यालय जाजरकोट गाभेर स्वास्थ्य सेवा कार्यालय जाजरकोट बनाइएको हो ।
प्रदेश सरकारको निर्णय अनुसार स्थापना भएको स्वास्थ्य सेवा कार्यालयको उद्घाटन राष्ट्रिय सभाका सदस्य भैरब सुन्दर श्रेष्ठले रिवन काटेर गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य श्रेष्ठले स्वास्थ्य सेवा अझ मजबुद रुपमा जनतामुखि भएर आएको बताए । अव यस कार्यालयले स्वास्थ्य सेवा जनतामुखि भएर काम गर्नुका साथै एक द्वार प्रणालीबाट सेवा प्रवाह गराउन तीन कार्यालय मिलाएर एउटै बनाईएको बताए । कर्णाली प्रदेश सभा सदस्य कौशिलावती खत्रीले केन्द्रमा रहेको अधिकार गाउँमा ल्याउने क्रममा जनतालाई सहज र सुलभ ढंगले सेवा दिन कर्णाली प्रदेश सरकारले तीन ओटा कार्यालयहरु एक बनाएको बताइन । अव आफूले जिल्लाको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारसँग पहल गरिरहने भनाई राखिन् ।



जिल्लामा एक मात्र अस्पताल रहेको स्थानमा स्वास्य सेवा कार्यालयबाट एक द्धावार प्रणाली मार्फत सेवा प्रवाहको प्रयास निकै राम्रो भएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए । जनताको सरकारले जनता केन्द्रित गरेर सन्चालन गर्ने सेवालाई जनताकै बीचमा पुर्याउन स्वास्थ्यकर्मी र कर्मचारीले इमानदारीता देखाउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जोड दिए । स्वास्थ्य सेवा दिंदै आएका तीन ओटा कार्यालयलाई एक बनाएपछि स्वास्थ्य सेवा अझ प्रभावकारी, सर्बसुलभ, सेवामुखी हुने प्रजिअ पन्तले बताए ।
कर्माचारी र उपकरणलाई थप व्यवस्थापन गरेर स्वास्थ्य सेवालाई गुणस्तर बनाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन् ।








