प्रधानमन्त्रीद्वारा नागढुंगा-सिस्‍नेखोला सुरुङमार्गको शिलान्यास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज सोमबार नागढुंगा-सिस्‍नेखोला सुरुङमार्गको शिलान्यास गरिएको छ । आज दिउँसो चन्द्रागिरि नगरपालिका-१ टोटेपाखामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका हुन्।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा चार वर्षमा सक्ने गरि सुरुङमार्ग निर्माण सुरु भएको हो । प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सुरुङमार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ। जाइकाले यसमा १६ अर्ब सहयोग गरेको छ। थप ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ। सरकारले लगानी गर्ने करिब ६ अर्ब प्रभावितलाई मुआब्जा वितरणमा खर्च हुने आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए। काठमाडौँको चन्द्रागिरि नगरपालिका-१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ। हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सकिएको उनले बताए।

धादिङको धुनिवेशी नगरपालिका-९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेकाले छिटो वितरण गरिने बताइएको छ। चार वर्षमा सुरुङ मार्ग निर्माण सक्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो ।

उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।

सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ। त्यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button