लग्जम्बर्गलाई हराउँदै पोर्चुगल युरो कपका लागि छनोट
काठमाडौं : पोर्चुगल युरो कप २०२० का लागि छनोट हुन सफल भएको छ । छनोट चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले लग्जम्बर्गलाई हराउँदै अर्को वर्ष हुने युरोकप प्रतियोगिताका लागि छनोट भएको हो ।
लग्जम्बर्गलाई २–० ले हराउँदै पोर्चुगल समूह बीबाट उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेको हो । लग्जम्बर्गविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । अघिल्लो खेलमा लिथ्वानियालाई ६–० ले हराउँदा ह्याट्रिक गरेका रोनाल्डोले लग्जम्बर्गलाई एक गोल थपेर गोलको सेन्चुरी नजिक पुगेका हुन् ।
खेल सकिन चार मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेका थिए । त्यसअघि खेलको ३९ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । यो समूहबाट युक्रेन समूह विजेता बन्दै युरोमा छनोट भएको छ ।