सन्दीपसहित नेपालका ८ खेलाडी पाकिस्तान सुपर लिगकाे ‘ड्राफ्ट’मा


काठमाडौं : लेग स्पिनर खेलाडी सन्दीप लामिछाने सहित नेपाली राष्ट्रिय क्रिकेट टोलीका ८ जना खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ट्वेन्टी–२० क्रिकेट लिगको ‘ड्राफ्ट’मा परेका छन् ।पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप लामिछाने, पारस खड्का, सोमपाल कामी, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल समावेश गरेको हो ।
सन्दीप न्यूनतम् एक लाख ४७ हजारदेखि दुई लाख १८ हजार अमेरिकी डलर रहेको ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । अरु सात खेलाडी न्यूनतम् १५ हजारदेखि अधिकतम् ३५ हजार अमेरिकी डलर रहेको ‘सिल्भर’ श्रेणीमा परेका हुन् । ६ टोलीको प्रतिस्पर्धा हुने पिएसएलको ड्राफ्ट यही मंसिर २० र २१ गते हुनेछ ।



एक टोलीले प्लाटिनम, ‘गोल्ड’ र ‘डायमन्ड क्याटगोरी’का तीन–तीनजनामात्र किन्न पाउने नियम छ । त्यस्तै, सिल्भर क्वाटगोरीका पाँच र ‘इमर्जिङ’ दुई खेलाडी राख्नुपर्ने हुन्छ । एक टोलीले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।