आजै मन्त्रीपरिषद् पुनर्गठन हुँदै

काठमाडौं :आज प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेसँगै सरकारी कामसमेत प्रभावित भएपछि प्रधानमन्त्री ओलीले आज बुधबार मन्त्रीहरु हेरफेर गर्ने भएका हुन् । प्रधानमन्त्रीले मंगलबार बसेको मन्त्रिपरिषद्काे बैठकमा सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका थिए । ‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ। यस विषयमा मैले पार्टी सचिवालय बैठकमा पनि भनेकै छु। सामान्य हेरफेर हुन्छ। हेरफेर भन्नेबित्तिकै सबै पर्ने कुरा आएन। कतिपय नयाँ साथीलाई अव’सर दिन पनि यस्तो गर्नुपर्छ,’ प्रधानमन्त्रीले बैठकमा भनेको उधृत गर्दै एक मन्त्रीले भने,

‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै भयो, भोली आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरुले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानु होला।’ प्रधामन्त्री ओलीले आफूले सोचविचार गरेरै केही निर्णय गर्न लागेको बताए। ‘मैले केही सोचिरहेको छु, भोली केही न केही निर्णय लिन्छु होला, सहकार्यका लागि तपाईंहरु सबैलाई धन्यवाद’ प्रधामन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘फेरि पनि सहकार्य हुने नै छ, चि’त्त नदुखाउनु होला।’

बुधबारै मन्त्रिपरिषद्बाट बाहिरिने सूचीमा रहेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणी खनाल बैठकमा नआएको स्रोतको भनाई छ। त्यसैगरी दुबै उपप्रधानमन्त्री र शिक्षामन्त्री विदेशमा भएकाले उपस्थिति थिएनन् भने, अर्थमन्त्री युवराज खतिवडा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि मंगलबारको बैठकमा उपस्थित थिएनन्। प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफू निकटका केही मन्त्री तथा नेतासँगको परा’मर्शमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन्। प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए। त्यसपछि उनले आफ्नो अभिव्यक्तिका कारण विवा’दमा आएका तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा नि’धन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले कार्यसम्पादन प्रभावकारी देखाउन नसकेका मन्त्रीलाई बिदाइ गरेर नयाँ मन्त्री नियुक्तिको तयारी धेरै अगाडिदेखि गर्दै आएका थिए। तर पछिल्लो पटक आफ्नै सचिवालयका केही सल्लाहकार हेरफेर गरेपछि ओलीले क्याबिनेट हेरफेरको तयारी गरेका हुन्। यस विषयमा उनले नेकपा सचिवालय बैठकबाट समेत सैद्धान्तिक सहमति लिएका थिए । साथै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसँग पनि परा’मर्श गरेका थिए।

नेकपा पार्टी सचिवालय बैठक बुधबार बिहान ९ बजे बालुवाटारमा बस्नेछ। त्यसलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने बालुवाटार स्रोतले बतायो। मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदाइ दिने तयारी छ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ। तर पार्टीभित्र समीकरण मिलाउनुपर्ने भएकाले रहने र फालिने यकिन नभएको स्रोतले जनायो।

महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिका ठाउँमा जनजातिलाई नै ल्याउने तयारी प्रधानमन्त्रीको छ। यसका लागि उनले अर्का अध्यक्ष दाहालसँग सहमति लिएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए। ओलीले क्याबिनेट हेरफेर गर्दा दोहोरिने केही बहालवाला मन्त्रीहरूको जिम्मेवारीमा समेत हेरफेर गर्न सक्ने स्रोतले बतायो।

सम्बन्धित खवर

Back to top button