ट्रायथोलन तर्फ पनि नेपाललाई स्वर्ण पदक


कास्की : ट्रायथोलन खेलमा नेपाललाई स्वर्ण पदक मिलेको छ । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपाललाई स्वर्ण पदक मिलेको हो । पोखराको फेवाताल किनारस्थित गौरीघा’टमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।
नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी छ जना प्रतिस्पर्धीलाई पछि पार्दै पोखरामा जारी साग खेलकूदमा उनले पहिलो पटक स्वर्ण पदक हात पारिन् ।



भारतका सरोजिनीदेवी र प्रज्ञना मुन्नाले निर्धारित दूरी क्रमशः एक घण्टा १४ मिनेट र एक घण्टा १४ मिनेट ५७ सेकेण्डमा पार गरी रजत र काश्य पदक प्राप्त गरे । भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायथोलन खेल समावेश गरिएको थियो । १२औँ संस्करणमा नेपालले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो ।
प्रतियोगिताको पुरुषतर्फ भारतका आदर्श एमएन सिनीमलले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३१ सकेण्डमा पार गरी आफ्नो देशलाई स्वर्ण पदक दिलाए । भारतकै विश्वरिज्टी साइकमले एक घण्टा दुई मिनेट ५९ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे ।
नेपालका वसन्त थारुले एक घण्टा तीन मिनेट छ सेकेण्डमा तोकिएको दूरी पार गरी काश्य पदक प्राप्त गरे । जारी साग खेलकूदमा ट्रायथोलन, डाइथोलन र मिक्स इभेण्टमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रति’स्पर्धा हुनेछ । मङ्गलबार डाइथोलन र बुधबार रिले इभेण्टमा प्रति’स्पर्धा हुँदैछ ।