नेपालका लागि बेलायती महिला राजदूत निकोला

काठमाडौं : नेपालका लागि बेलायतकी महिला आवासीय राजदूत निकोला क्याथरिन पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।

यसअघिका राजदूत रिचर्ड माेरिसकाे कार्यकाल समाप्त भएपछि बेलायतले पोलिटलाई नेपालकाे राजदूतमा नियु्क्त गरेकाे हाे । पोलिटले यसअघि बेलायती मन्त्रीपरिषदमा रहेर अफगानिस्तान, पाकिस्तान र भारत मामिला हेरेकी थिइन् ।

नेपाल र बेलायतबीच दाैत्य सम्बन्ध कायम भएकाे दुई सय वर्षपछि बेलायतले पहिलाे पल्ट नेपालका लागि महिला राजदूत नियुक्त गरेकाे हाे । बेलायत नेपालले कुटनीतिक सम्बन्ध बनाएकाे पहिलाे राष्ट्र पनि हाे । सन् १८१६ मा नेपालसँग बेलायतले कुटनीतिक सम्बन्ध कायम गरेकाे थियो ।

बेलायतसँग कुटनीतिक सम्बन्ध कायम गर्ने नेपाल दक्षिण एसियाकै पहिलाे राष्ट्र पनि हाे । नेपालले बेलायतमा सन १९३४ देखि राजदूतावास पनि स्थापना गरेकाे थियाे । समारोहमा नेपालका लागि गणतन्त्र लेबनान, इस्टोनिया र इराकका गैरआवासीय राजदूतत्रय राबी नार्स, क्रिष्टिन किभी र डा फलाह अब्दुलहसन अब्दुलसदाले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे ।

उक्त कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्रसचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

सम्बन्धित खवर

Back to top button