आगामी आर्थिक वर्षका लागि संघीय सरकारले तल्ला सरकारबाट आयोजना माग्यो छ ।
३ पुस, कोहलपुर । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तल्ला सरकारबाट आयोजना मागेको छ । समपुरक अनुदान र विशेष अनुदानका लागि संघीय सरकारले प्रदेश र स्थानीय तहबाट आयोजना मागेको हो ।
समपुरक अनुदान सम्बन्धी कार्यविधि र विशेष अनुदान सम्बन्धी कार्यविधिले यी दुई प्रकारका अनुदानका लागि आयोजनाको सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिएको छ । आयोगका सदस्य सुशील भट्टका अनुसार आयोगले पुस मसान्तसम्म स्थानीय र प्रदेश तहबाट योजना संकलन गर्नेछ । माघ र फागुनभर फर्मुलाका आधारमा आगामी आवमा कार्यान्वयनमा जानुपर्ने आयोजना छनोट गरी फागुन मसान्तसम्म अर्थ मन्त्रालयलाई सिफारिस गरिने उनले बताए । सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने समयमै अर्थ मन्त्रालयले ती कार्यक्रम तथा आयोजनालाई समेट्न सक्ने भएको छ ।