पाटन राज्यको संक्षिप्त इतिहास (भाग एक)

पाटनका राजाहरु र तिनको शासन व्यवस्था

पाटन राज्यको राजाहरु र तिनको शासनकालको सम्बन्धमा इतिहासकार र अन्य ऐतिहासिक स्रोतहरुको बीचमा एक रूपता देखिँदैन । कुनै इतिहासकारले पाटनका प्रथम राजा विष्णु सिंह रहेको उल्लेख गरेका छन् भने कुनै इतिहासकारले ललितपुरको पहिलो राजा रत्न मल्ल रहेको उल्लेख गरेका छन् । कुनै कुनै स्रोतले भने पुरन्दर सिंह ललितपुरको द्धनरसिंह मल्ल त्यसपछि श्रीनिवास मल्ल, त्यस पश्चात क्रमशः योगनरेन्द्र मल्ल, लोकप्रकाश मल्ल, इन्द्र मल्ल, महीन्द्र मल्ल, वीरनरसिंह मल्ल, महीन्द्र मल्ल, ऋद्धिनरसिंह मल्ल, भाष्कर मल्ल, योग प्रकाश मल्ल, विष्णु मल्ल, राज्य प्रकाश मल्ल, विश्वजित मल्ल, जय प्रकाश मल्ल, रणजित मल्ल, जय प्रकाश मल्ल, दलमर्दन शाह र तेज नरसिंह मल्ल पाटनका राजा भए ।

नेपाल सरकार, सूचना तथा प्रसारण विभागद्वारा प्रकाशित नेपाल परिचयमा उल्लेख भए अनुसार पाटन राज्यमा क्रमशः १. रत्न मल्ल २. विष्णु मल्ल ३. नरसिंह मल्ल÷पुरन्दर सिंह÷उद्धव सिंह ४. हरिहरसिंह मल्ल ५. सिद्धि नरसिंह मल्ल ६. श्रीनिवास मल्ल ७. योग नरेन्द्र मल्ल ८. लोक प्रकाश मल्ल ९. इन्द्र १०. महीन्द्र मल्ल ११. वीरनरसिंह मल्ल १३. ऋद्धिनरसिंह मल्ल १३. भाष्कर मल्ल १४. योग प्रकाश मल्ल १५. विष्णु मल्ल १६. राज्य प्रकाश मल्ल १७. विश्वजित मल्ल १८ं जयप्रकाश मल्ल १९. रणजित मल्ल र २०. तेजनरसिंह मल्ल पाटन राज्यको राजा भए भनी उल्लेख गरिएको छ । (नेपाल परिचय, २०७६, पृ.७१)

त्यस्तै कुनै कुनै स्रोतहरुको अनुसार पाटनका राजागद्दीमा क्रमशः १. पुरन्दर सिंह (सन् १५८०–१६००) २. हहिर सिंह (१६००–१६०९) ३. शिव सिंह (१६०९–१६२०) ४. सिद्धिनरसिंह मल्ल (१६२०–१६६१) ५. श्रीनिवास मल्ल (१६६१–१६८२) ६. योग नरेन्द्र मल्ल (१६८५–१७०५), ७. लोक प्रकाश मल्ल (१७०५–१७०६), इन्द्र मल्ल (१७०६–१७०९) ९. वीरनरसिंह मल्ल (१७०९) १०. वीरमहेन्द्र मल्ल (१७०९–१७१५) ११. ऋद्धिनरसिंह मल्ल (१७१५–१७१७) १२. महीन्द्र मल्ल (१७१७–१७२२) १३. योग प्रकाश मल्ल (१७२२–१७२९) १४. विष्णु मल्ल (१७२९–१७४५) १५. विश्वजित मल्ल (१५६०–१५६३) १७. जयप्रकाश मल्ल (१७६३–१७६४) १८. दलमर्दन शाह (१७६४–१७६५) र तेजनरसिंह मल्ल (१७६५–१७६८) मा पाटन राज्यको राजगद्दीमा बसी शासन चलाएको उल्लेख छ ।

पाटन राज्यका राजाहरु को को भए भन्ने कुरामा इतिहासकार र अन्य ऐतिहासिक स्रोतहरुमा मतैक्यता नभए जस्तै पाटन राज्यका राजाहरुको शासन काल र शासन अवधिका बारेमा पनि फरक फरक तिथि मितिहरु उल्लेख गरिएको पाइन्छन् । भीम राना जिज्ञासुको अनुसार पाटनका राजा ऋद्धिनरसिंह मल्लको शासन काल वि.सं.१६८९÷९० देखि १७१४ योग नरेन्द्र मल्लको शासन अवधि वि.सं.१७१४ देखि १७३८÷३९ र राज्य प्रकाश मल्लको शासनकाल वि.सं.१७९१ देखि १८२५ रहेको उल्लेख गरेका छन् । त्यस्तै श्रीराम प्रसाद उपाध्यायको अनुसार भने सिद्धिनरसिंह मल्लको शासनकाल वि.सं.१६७५–१७१७, योग नरेन्द्र मल्लको शासन काल वि.सं.१७४१ देखि १७६२ र राज्यप्रकाश मल्लको शासनकाल वि.सं.१८०२ देखि वि.सं.१८१५ रहेको उल्लेख गरेका छन् ।
यसरी पाटन राज्यमा करिब तीन दर्जन राजाहरुले शासनभार सम्हाले पनि इतिहासकारहरुले सबै राजाहरुको शासनकालको बारेमा उल्लेख गरेको पाइँदैन केही मुख्य राजाहरुको शासनकालको मात्र चर्चा गरेको पाइन्छ । पाटन राज्यका केही राजाहरुको शासनकालको बारेमा सङ्क्षिप्तमा निम्नानुसार चर्चा गरिएको छ ।

विष्णु सिंहको शासनकाल

मध्यकालमा ललितपुर दक्षिण विहार, उत्तर विहार र पूर्वीविहार गरी विभिन्न प्रशासकीय एकाइमा विभाजित हुनुका साथै ती प्रशासकीय एकाइहरुमा महापात्रहरुले वंशानुगत शासन गर्दथे । ललितपुरमा सात परिवार वा सात कुटुम्बजमा आधारित शासन थियो । सात कुटुम्बज मध्ये पनि तीन महापात्रहरु शासनमा बढी सक्रिय थिए । यिनीहरुले जयस्थिति मल्लकै ‘न्याय विकसिनी’ को आधारमा राज्य सञ्चालन गरे पनि यिनीहरुको काममा कुनै हस्तक्षेप थिएन र असीमित अधिकार थियो । यक्ष मल्लको शासनसम्म एकीकृत रहेको काठमाडौँ उपत्यकाको शासन निजको शेषपछि उनका छोरा राय मल्ल भक्तपुर र माइला छोरा रत्न मल्ल कान्तिपुरमा स्वतन्त्र राज्य स्थापना गरी राजा भएपछि विभाजित हुन पुग्यो । त्यही विभाजनको परिणाम स्वरूप ललितपुरका तीन महापात्र मध्ये एक महापात्र जयसिंहका पनाति, कीर्ति सिंहका नाति बुबा कुसुम सिंह आमा जय लक्ष्मीका छोरा विष्णु सिंहले ललितपुरमा स्वतन्त्र राज्य खडा गरे । यिनकी आमा जयलक्ष्मी ललितपुरकै वैश्य वंशकी थिइन ।सुनागुठी भृङ्गारेश्वरको अभिलेख अनुसार । यिनले भृङ्गारेश्वर महादेवको मन्दिरको जीणोद्धार गराएका थिए ।

२. नरसिंह/पुरन्दर सिंह/उद्धव सिंहको संयुक्त शासन काल

विष्णु सिंहको जेठी पत्नी पदमलक्ष्मीबाट नरसिंह, पुरन्दर सिंह र कान्छी पत्नी हृदयलक्ष्मीबाट उद्धवसिंह नामका पुत्रहरु जन्मिएका थिए । विष्णु सिंहको मृत्यु पश्चात यिनका तीनभाइ छोराहरुले पाटनमा संयुक्त शासन चलाउन थाले तर संयुक्त शासन शक्ति सङ्घर्षका कारण धेरै समय टिकेन ।

३. पुरन्दर सिंह
नरसिंह पुरन्दर सिंह र उद्धव सिंहको संयुक्त शासन कायम नरहेपछि ती मध्येका पुरन्दर सिंहले शासनको बागडोर सम्हाली ललितपुरमा स्वतन्त्र राज्य सञ्चालन भएको तत्कालीन कान्तिपुर राज्यलाई मन नपरेकाले तत्कालीन कान्तिपुर राजा शिवसिंह मल्लले ललितपुरमा आक्रमण गरी पुरन्दरसिंहलाई हराए ।

४. हरिहर सिंह

पुरन्दर सिंहको शासन कालमा कान्तिपुरका राजा शिवसिंह मल्लले उनलाई पराजित गरेपछि आफ्नो पुत्र हरिहरसिंहलाई पाटनको राज्य सुम्पिए । हरिहर सिंहको मृत्युपछि यिनकी रानी लालमतिले ललितपुरलाई कान्तिपुरबाट स्वतन्त्र बनाईन् ।

५. सिद्धिनरसिंह मल्ल (वि.सं.१६६३–१७६७)

राजा हरिहरसिंहको देहान्त भएपछि उनकी रानी लालमतिले आफ्ना छोरा सिद्धिनरसिंह मल्ललाई वि.सं.१६७५ मा पाटनको राजा बनाइन् । त्यतिखेर यिनको उमेर बाह्र वर्षको मात्र थियो । सुनागुठी भृङ्गारेश्वरको अभिलेखअनुसार सिद्धिनरसिंह मल्ल पाटनको स्वतन्त्र राजा हुँदा यिनका बाजे शिवसिंह मल्ल जीवित नै रहेका थिए । मङ्गलबजार विश्वेश्वर मन्दिरको सिद्धिनरसिंह अभिलेखअनुसार हरिसिंहदेव नेपाल पसेको कुरा लेखाएको पाइन्छ । त्यस अभिलेख पढ्दा हरिसिंहदेव मिथिलाबाट काठमाडौँ उपत्यका आई धेरै समय शासन गरेको भ्रम पर्छ । त्यस्तै भक्तपुरका जगज्योर्तिमल्ल र कान्तिपुरका प्रताप मल्लहरुले पनि त्यही लेखाएकाले त्यस्तो भ्रम पर्नु स्वाभाविक नै हुन जान्छ । तर गोपाल वंशावलीका अनुसार उक्त कुरा सत्य नरहेको पाइन्छ । उक्त अभिलेखमा वि.सं.१३१८ मा दिल्लीका वादशाह गयासुद्दीन तुगलकको आक्रमण हुन लागेकाले हरिहर सिंह सबै रैतीहरु उठाई लडाइँ गर्न आफ्नो गढ बाहिर निस्केको तर गयासुद्दीन तुलगकको विशाल सैन्यसँग सामना गर्ने क्षमता आफ्नो फौजमा नभएकाले हरिसिंह देवको सेना वन÷दुर्गभित्र पसेको तत्पश्चात् तुगलकको सेनाले सिमौनगढ ध्वस्त पारेको र हरिसिंह देव सपरिवार भागी ज्यान जोगाई पहाडी भागमा पसेको र दोलखातिर जाँदा तीन पाटन भन्ने ठाउँमा वि.सं.१३८२ माघमा उनको मृत्यु भएपछि जहान छोरा मन्त्री सबै कैद गरिएको उल्लेख छ । पछि उनीहरुले भक्तपुरका शासक रुद्र मल्लसँग शरण मागी हरिसिंहदेव र रानी देवलदेवीका छोरा जगतसिंह कुम्हर लगायतले रुद्र मल्लको दरबारमा प्रवेश पाएको र जगत सिंहको रुद्र मल्लको छोरी नायकदेवीस्ँग विवाह भई राजल्लदेवीको जन्म भई उनको विवाह स्थिती मल्लसँग भएको र स्थिति मल्लको सन्तान सिद्धिनरसिंह मल्लहरु भएको देखिन्छ । त्यसरी राजल्लदेवीको तर्फबाट मल्लहरुको सम्बन्ध हरसिंह देवसँग रहेकोले अलि कुरा लुकाई आफ्नो वंश हरसिंह देवसँग जोड्न पुगेको देखिन्छ । त्यस्तै उक्त शिलालेखमा हरसिंहदेवको वंशमा महेन्द्र मल्ल भए भनी उल्लेख गरिएको देखिन्छ ।

ललितपुर दरबारको नासल चोकको पश्चिमपट्टि भित्तामा रहेको सिद्धिनरसिंह मल्लको ने.सं.७६१ मा छापिएको शिलालेखको अनुसार आफ्ना छोरा श्री निवास मल्ल १३ वर्षका हुँदा छोराले पनि राजकाजको अनुभव पाउँदै जाओस् भन्ने अभिप्रायले तत्कालीन समयमा मल्ल राजाहरुले आफ्नो छोरालाई संयुक्त शासक गर्ने गरेका र सिद्धिनरसिंह मल्लले पनि राजकाजबाट हटि धार्मिक क्रियाकलापमा संलग्न हुने विचार केही मात्रामा लिएको कुरा सङ्केत गरेको देखिन्छ । चोभारको सिद्धिनरसिंह मल्लको पालाको अभिलेख अनुसार नेपाल सम्वत ७६१ (१६९८) मा ललितपुरमा सिद्धिनरसिंह मल्ल र छोरा श्रीनिवास मल्लको संयुक्त शासन चलिरहेको र त्यस बेला सिद्धिनरसिंह ३५ वर्षका र श्री निवास मल्ल १४ वर्षको मात्र रहेको र सिद्धिनरसिंहले छोरालाई राजकाजको भार सुम्पिसकेको कुरा उल्लेख गरिएको छ । पाटन भण्डारखालको सिद्धिनरसिंहको अभिलेख अनुसार सिद्धिनरसिंहले आफ्नो इष्टदेवीलाई खुसी पार्न ढुङ्गेधारा, पोखरी र फूलबारी निर्माण गरेको उल्लेख गरेका छन् ।

भण्डार खालको सिद्धिनरसिंह मल्लको अभिलेखअनुसार सिद्धिनरसिंहले आफ्नो इष्ट देवीलाई प्रसन्न पार्न निकै खेत गुठी राखेको उल्लेख गरिएको छ । ती खेतको आम्दानीले परमेश्वरीको पूजाको लागि विशेष फूल बन्दोवस्त गर्ने गरिएको र पोखरीको जीर्णोद्वार गर्न पनि आयस्ता छुट्याइएको वर्णन गरिएको छ ।
ललितपुर भण्डारखाल भित्रको पोखरीको उत्तरी किनारामा सिद्धिनरसिंह मल्लले बनाउन लगाएको भूगोलको उत्तरपट्टिको भित्तामा अभिलेख कुँदेर टाँसिएको ने.सं.७९६ को शिलापत्रमा वर्णन गरिएको भण्डारखालको राजर्षि सिद्धिनरसिंह मल्लको अभिलेख अनुसार छोरालाई राज्याधिकार सुम्पेपछि सिद्धिनरसिंह मल्ल राजर्षिका रूपमा रहेको, उनको महाराजधिराज नेपालेश्वर आदि पदवी मात्र प्रसस्तिबाट झिकिएको र उनी पदच्यूत राजा सरह पनि नरहेको र गद्दीनसिन राजाको रूपमा पनि नरही राजर्षिका रूपमा अलि बेग्लै अवस्थामा रहेको भनी उल्लेख गरिएको छ । सिद्धिनरसिंह मल्ल धार्मिक स्वभावको रहेको र राजकाजबाट अलग भएपछि अझ बढी धर्मकर्मतिर लागेको राज्याधिकार छाडेपछि उनी आफ्नो इष्ट देवताको आराधनामा लागेको कुरा थाहा पाइन्छ । त्यस्तै उनले इष्ट देवतालाई फूल चढाउन पुष्पवाटिका, पोखरी पहिल्यै बनाईसकेकोमा भण्डारखाल र धारा बनाई नियम बाधेको कुराबाट तत्कालीन सामाजिक परिवेश थाहा पाउन मद्दत मिल्दछ । उक्त अभिलेखको आधारमा यो अभिलेख लेखेपछि सिद्धिनरसिंह नेपाल छोडी तीर्थ यात्राको लागि भारततिर गएका थिए भन्ने थाहा हुन्छ । ने.सं.८०० को श्री निवास मल्लको छोरी कीर्ति मङ्गलको वंश गोपाल मन्दिरको अभिलेखको अनुसार सिद्धिनरसिंह ने.सं.८०० भन्दा अगाडि नै तीर्थ यात्राको लागि गएको थाहा पाइन्छ । राज्याधिकार छोडेपछि एक पटक तीर्थ यात्रा गएपछि फेरि फर्केर आई पुनः ललितपुरमा धर्मकर्म गरेर बसेका सिद्धिनरसिंह ने.सं.८०० भन्दा अघि फेरि तीर्थ यात्राको लागि गएको र फेरि नफर्केको र ने.सं.८३० (वि.सं.१७६७) मा उनको १०४ वर्षको उमेरमा मृत्यु भएको कुरा एक थ्यासफूमा उल्लेख गरिएको छ । त्यसबाट सिद्धिनरसिंहको हरेक क्रियाकलाप अरु राजाको भन्दा भिन्न भएको र शरीरलाई सुख सयलमा मात्र नराखी कष्ट पनि उठाउनुपर्छ भन्ने मान्यता राख्ने गरेको र कृच्छचान्द्रायन व्रत बस्नुका साथै गर्मीमा पाञ्चाग्नी ताप्नु र जाडोमा चिसो ढुङ्गामा तपस्या गरी कठिन व्रत बस्ने गरेका कुरा भाषा वंशावलीमा उल्लेख छ ।

सिद्धिनरसिंह मल्लले वि.सं.१६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिष्ोक गरेको थिए । तर यिनी यसभन्दा डेढ वर्ष पहिले वि.सं.१६७६ जेठ २ गते देखि नै राज्य सत्तामा आइसकेका देखिन्छन् । यसरी स्वतन्त्र ललितपुर राज्यको राजाको रुपमा सिद्धिनरसिंह मल्लले राज्याभिषेक गरेपछि काठमाडौँ उपत्यकामा कान्तिपुर, ललितपुर (पाटन) र भक्तपुर गरी तीनवटा स्वतन्त्र राज्यहरु अस्तिवमा आएका देखिन्छन् । सिद्धिनरसिंह मल्ल ललितपुरको राजा भएपछि यिनका सौतेनी दाई तत्कालीन कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले दुवै देशले एक अर्कामाथि सैन्य हस्तक्षेप नगर्ने र दुइटै देशका राजा तथा भारदारले आपसमा मिलेर बस्ने व्यहोरा उल्लेख भएको धर्मपत्र शान्तिपत्र वि.सं.१६७० माघ १४ गते गरेका थिए । तर उक्त सन्धिपत्र धेरै लामो समयसम्म कायम राखिराख्न सकेन ।

वि.सं.१६७८ को आसपास गोरखा राज्यका तत्कालीन राजा राम शाह ललितपुर राज्यको राजधानी राजा सिद्धिनरसिंह मल्लसँग भेट गरेर फर्किएका थिए । तत्कालीन पाटनका राजा सिद्धिनरसिंह मल्ले वि.सं.१६९३ फागुनमा निर्माण गर्न लगाएको भगवान् श्रीकृष्णको मन्दिरमा सुवर्णका गरुड तथा २१ वटा गजुरहरु चढाएर मन्दिरको प्रतिष्ठा गराइरहँदा कान्तिपुर राज्यका फौजहरुले ललितपुर माथि हमला गरी केही गढी र किल्लाहरु नियन्त्रण गरेकोमा सिद्धिनरसिंह मल्लले तत्काल ती गढी र किल्लाहरु फिर्ता लिएका थिए । राजा लक्ष्मीनरसिंह मल्लकै पालादेखि नै ललितपुर राज्यसँग वैमनष्यता सुरु भइसकेकोमा आफ्ना पिता लक्ष्मीनरसिंहलाई थुनामा राखी शासनको बागडोर सम्हालेका कान्तिपुरका नवनियुक्त राजा प्रताप मल्लको शासन कालमा कान्तिपुर र ललितपुर बीच वैमनष्यता झनै बढ्न पुग्यो । प्रताप मल्लले आफ्नो शासनकालको सुरुमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग मिली भक्तपुरका राजा नरेश मल्लको विरुद्ध भक्तपुर राज्यमा आक्रमण गर्ने प्रयत्न गरेका थिए तर पछि भक्तपुरको राजा नरेश मल्लसँग मिली ललितपुर राज्यमा नै वि.सं.१७०५ फागुन २७ गते आक्रमण गरेका थिए । उक्त आक्रमणका तत्कालीन गोरखाका राजा डम्बर शाहले ललितपुर राज्यलाई सैनिक सहायता गर्न आएकोमा तिनलाई समेत पराजित गरी प्रताप मल्लले ललितपुर राज्यका केही गढी वा किल्लालाई काठमाडौँमा मिलाएका थिए भनि वंशगोपाल (भगवान् श्रीकृष्ण) को मन्दिरको शिलालेखमा उल्लेख गरिएको पाइन्छ ।

सिद्धिनरसिंह मल्ल धार्मिक प्रवृत्तिका भएकाले आफ्ना छोरा श्रीनिवास मल्ललाई आफ्नो प्रतिनिधिको रुपमा नियुक्त गरी वानप्रस्थ भएर यिनी वि.सं.१७०८ को फागुन महिनाको सुरुतिर तीर्थयात्राको निम्ति प्रस्थान गरी दुई वर्षपछि स्वेदश फर्किइ वि.सं.१७१७ माघ ९ गते फेरि तीर्थयात्राका लागि निस्किएका थिए । ललितपुर राज्यमा राजा सिद्धिनरसिंह मल्ल तथा यिनका छोरा श्रीनिवास मल्लको राज्यकाल प्रायः कान्तिपुर तथा भक्तपुर दुवै राज्यका राजाहरुसँग लडाइँ तथा झगडाहरु गर्दैमा बितेको पाइन्छ ।

६. श्रीनिवास मल्ल (वि.सं.१६८४–१७४३)

श्रीनिवास मल्लको जन्म वि.सं.१६८४ मा भएको थियो । यिनलाई सानैदेखि राजकाज सम्बन्धी शिक्षा तथा तालिम दिइएकाले यिनी महत्वाकाङ्क्षी भई आफ्ना बुबा सिद्धिनरसिंह मल्ल गद्दिनासिन हुँदा हुँदै कीर्तिपुरमा समानान्तर सरकारको स्थापना गरी राजा भएका थिए । पछि सिद्धनरसिंह मल्लले नै पाटन बोलाएर वि.सं.१७१७ मा विधिगत राजा बनाई दिए । भण्डारखालको राजर्षि सिद्धिनरसिंह मल्लको अभिलेख अुनसार श्री निवास मल्ललाई नेपालेश्वर भनिन्थ्यो । उनको शासनकालमा कान्तिपुरको राणा प्रताप मल्ल र भक्तपुरको राजा जगतप्रकाश मल्लको मृत्यु भइसकेकाले श्रीनिवास मल्लको प्रमुख तीनै राज्यमा प्रभाव परेको थियो । ने.सं.७८६ तदनुसार वि.सं. १७२३ मा आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन श्रीनिवास मल्लले मूल चोक तयार गरेको र त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्ट देवता यन्ताजुको पूजाको लागि मन्दिर बनाए । बर्षेनी महानवमी पूजा चलाउनको लागि एक ठाउँका जगात अर्थात् करबाट आउने जति रकम पनि उनले छुट्याए । वि.सं.१७१५ भाद्र २० गते कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्ल बीच श्रावण कृष्ण सप्तमीका दिन एउटा धर्म पत्र वा शान्ति सम्झौताको उल्लेख गरिएको पशुपतिनाथको ताम्रपत्रअनुसार कान्तिपुर र पाटन ललितपुरका राजा आजीवन ‘एकान शत्रु, एकान मित्र’ भई बस्ने वानप्रस्य राजा सिद्धिनरसिंह मल्ल र अन्य कुनै भारदारका कुरा नसुन्ने, आफूहरुले थाहापाएका राम्रा नराम्रा कुराहरु एक अर्कालाई बताउनु पर्ने, भक्तपुरसँग दुवै राज्यले मैत्रीभाव नराख्ने र भक्तपुर राज्यका बारेमा दुवै राजाहरुले एक अर्कालाई जानकारी गराउने उल्लेख थियो । यसरी उक्त ताम्रपत्रबाट कान्तिपुर र ललितपुर दुवै राज्यको भक्तपुर राज्यसँग शत्रुता रहेको थाहा पाइन्छ । त्यस्तै भक्तपुर राज्यको विरुद्ध कान्तिपुर र ललितपुरका राज्यका राजा र भारदारहरु पनि मिलेको देखिन्छ । त्यस्तैमा ललितपुर र भक्तपुर राज्य बीच युद्ध भई भक्तपुरको ‘बोडे’ माथि ललितपुरले नियन्त्रण कायम ग¥यो । तर त्यसको केही वर्षपछि ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जगतप्रकाश मल्ल बीच वि.सं.१७२२ वैशाख १९ गते धर्म पत्र अर्थात् शान्ति सम्झौतामा हस्ताक्षर भई कान्तिपुर राज्यका विरुद्ध मोर्चाबन्दी हुन पुग्यो । तर पछि पुनः कान्तिपुर र ललितपुर राज्इ मिली भक्तपुरका ‘नाला’, ‘चौकोट’ र दाप्चा गरी चार इलाका माथि नियन्त्रण स्थापित गराउका र भक्तपुरका राजा जगत प्रकाश मल्लले ती गाउँ र इलाका फिर्ता गरेका थिए । तर क्रान्तिपुर र ललितपुरको यो मित्रता धेरै दिन सम्म टिक्न नसकी ललितपुरका राजा श्रीनिवास मल्लले भक्तपुरसँग मित्रता गाँस्न पुगेपछि कान्तिपुरका राजा प्रताप मल्ल श्री निवास मल्ललाई पक्रने योजना बनाई विष्णु मति नदीको दोभान टेकु दोभानमा बोलाएको तर श्रीनिवास मल्ल त्यहाँ नगएकाले त्यो योजना असफल भई दुई राज्य बीच पुनः वैमनष्यता भएको देखिन्छ । कान्तिपुर राज्यसँग वैमनष्यता भएपछि ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जगत प्रकाश मल्ल बीच वि.सं. १७२२ वैशाख ९ गते पुनः मैत्री सम्बन्ध स्थापित भएको थियो । तर वि.सं. १७२७ मा श्री निवास मल्ल र प्रताप मल्लको सम्बन्ध पुनः स्थापित भई जगतप्रकाश मल्लसँग वैरभाव रहन गयो । त्यसको केही समयपछि वि.सं. १७२५ भाद्र १७ गते ललितपुर र भक्तपुर राज्य आपसमा मिली कान्तिपुर राज्यका केही भू–भाग ललितपुरको अधिनमा ल्याइयो । तर त्यस्तैमा भक्तपुर राज्इले ललितपुरको लुभु र विशङ्खु नामक दुई इलाका आफ्नो राज्यलाई दिनुपर्ने भनी ललितपुर राज्इलाई प्रस्ताव गरेपछि ललितपुरका राजा श्रीनिवास मल्लले त्यो प्रस्ताव स्वीकार गरेनन् । त्यसपछि श्रीनिवास मल्ल र कान्तिपुरका राजा प्रताप मल्ल बीच ‘एकान–शत्रु एकान–मित्र’ को अर्को शान्ति सम्झौता हुन पुग्यो । त्यस्तैमा वि.सं. १७२८ अषाढ १४ गते ललितपुर र भक्तपुर राज्यका राजाका बीच अर्को मैत्री सम्बन्ध स्थापित भई कान्तिपुर राज्य अन्तर्गतको नाला इलाकालाई ललितपुरमा गाभियो ।
वि.सं.१७३१ वैशाख ९ गते कान्तिपुरका राजा प्रताप मल्लको देहान्त भए पश्चात कान्तिपुरमा कसलाई राजा बनाउने भन्ने प्रश्न उठेपछि उक्त विषय उपर छलफल गर्न ललितपुरका राजा श्रीनिवास मल्ल, भक्तपुरका राजा जितामित्र मल्ल, कान्तिपुरका राजकुमार मान्चातासिंह लगायतले बागमती नदी किनारको टेकु दोभानमा वि.सं. १७३१ वैशाख १७ गते एकापसमा छलफल गरे । वि.सं.१७३१ आषाढ ३१ गते ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जितामित्र मल्ल अग्रसर भई कान्तिपुरमा राजकुमार नृपेन्द्र मल्ललाई राजा सिंहासनमा राखियो । इतिहासकार श्रीकृष्ण आचार्यका अनुसार कान्तिपुरका राजा प्रताप मल्लले आफ्नो शेषपछि आफ्ना छोरा महीपतेन्द्र मल्ललाई कान्तिपुरको राजसिंहासनमा राख्ने चाहना गरेका थिए तर उनको मृत्युपछि उनका अर्का छोरा नृपेन्द्र मल्ललाई राजगद्दीमा राख्नुमा तत्कालीन पाटनका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जितामित्र मल्लको आ–आफ्नो स्वार्थ थियो । उनीहरुकै चाहना बमोजिम नृपेन्द्र मल्ल कान्तिपुरको राजा बनेपछि आफ्ना भाइ राजकुमार महीपतेन्द्र मल्ललार्य नजरबन्दमा राखिएको थियो । त्यस्तै त्यही स्वार्थ अनुरुप प्रताप मल्लको पालामा पदमुक्त भई ललितपुरमा शरण लिइरहेको कान्तिपुरका भू.पू. चौतारा देवीदास चिकुटीलाई नृपेन्द्र मल्ल राजा बनेपछि कान्तिपुरको चौतारा नियुक्त गरिएको थियो । यस्तै एक वंशावलीका अनुसार वि.सं.१३१ को असोजमा मकवानपुर राज्यका राजाका बीच विवाद भइ त्यहाँका तत्कालीन राजा माणिक्य सेन सैन्य सहायता माग्न ललितपुर राज्यमा आएपछि भक्तपुर, कान्तिपुर र तनहुँ राज्यका सैनिकहरुले मकवानपुर राज्यको तर्फबाट विजयपुर राज्य माथि आक्रमण गरी १० वटा गाउँ नियन्त्रण गरी मकवानपुर राज्यलाई दिलाई दिएका थिए । पाटन दरबारको मूलचोकको धर्म– ताम्रपत्रका अनुसार वि.सं. १७३१ चैत्र २३ गते पाटनका राजा श्रीनिवास मल्ल, कान्तिपुरका राजा नृपेन्द्र मल्ल र भक्तपुरका राजा जितामित्र मल्ल बीच आपसी सम्बन्ध सदैव सुमधुर राखिराख्ने व्यहोरा उल्लेख छ । वि.सं.१७३७ असार १४ गते कान्तिपुरका राजा नृपेन्द्र मल्लको मृत्यु भएपछि उनका सौतेनी भाइ राजकुमार पार्थिवेन्द्र मल्ल राजा भए भने उनलाई पाटनका राजा श्रीनिवास मल्लले राजतिलक लगाई दिएको पाइन्छ ।

राजा श्रीनिवास मल्लले शासन गरिरहेकै बखतमा यिनका पुत्र युवराज योग नरेन्द्र मल्ललाई पाटनका तत्कालीन मुख्य मन्त्री वा चौतारा भगीरथ भैया प्रभावशाली भएको मन परेको थिएन । भगीरथ भैयाकै विषयलाई लिएर राजा श्रीनिवास मल्ल र युवराज योग नरेन्द्र मल्लका बीच मनमुटाव सुरु भएपछि युवराज योग नरेन्द्र मल्ल वि.सं. १७३८ मा एकाएक राजभवनलाई परित्याग गरी बाहिर बस्न गए । एक “ठ्यासफु” मा उल्लेख भएअनुसार वि.सं. १७३९ (ने.सं.८०२) को साउन महिनातिर कान्तिपुर पाटनका युवराज योग नरेन्द्र मल्ल तत्कालीन कान्तिपुर राज्य अन्तर्गतको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका तर पशुपतिनाथको मन्दिर बन्द रहेकाले उनले पशुपतिनाथको मन्दिर बन्द गर्ने जो जो जिम्मेवार छन् उनीहरु उपर कडा कदम चाल्ने चेतावनी दिएपछि पशुपतिनाथका द्वारहरु खुलेपछि युवराज योग नरेन्द्र मल्ल पशुपतिनाथको दर्शन गरी फर्किएको उल्लेख गरिएको पाइन्छ । त्यस्तै पाटनका राजा श्रीनिवास मल्लकै शासनकालमा तत्कालीन मकवानपुर राज्यका राजा जयसिंह बानियाँलाई मुगल प्रशासकरुले पक्रिई थुनामा राखेका र तत्कालीन तनहुँ राज्यले पनि मुलाल प्रशासकहरुलाई साथ दिएकोमा तत्कालीन ललितपुर, भक्तपुर, कान्तिपुर, गोरखा, लमजुङ, पाल्पा, भीरकोट, रिसिङ घिरिङ राज्यको संयुक्त फौज मकवानपुर राज्यको सहायताको लागि गएका र वि.सं. १७३९ मंसिर २४ गते मुगल प्रशासक र तनहुँ राज्यका सैनिकलाई धपाई बन्धनमा परेका जयसिंह बाँनियालाई मुक्त गराई दिएको कुरा उल्लेख छ । श्रीनिवास मल्लकै शासनकालमा कान्तिपुर राज्यको अन्र्तकलहको कारण सो राज्यका चौतारा देवीदास चिकुटी भागेर ललितपुर राज्य अन्तर्गतको थानकोटमा वि.सं. १७४० कार्तिक १७ गते आश्रय लिन पुगेकोमा त्यसको पाँच दिनपछि श्रीनिवास मल्लले वि.सं. १७४० कार्तिक २१ गते कान्तिपुर राज्यका काजी लक्ष्मीनारायण जोशी लगायतलाई उनका साविकका पदहरुमा थमौती गरी सबैलाई आ–आफ्ना पद अनुसारको पगरी लगाई दिएको उल्लेख गरिएको छ । त्यस लगत्तै कान्तिपुर र भक्तपुरका संयुक्त फौजले वि.सं. १७४० मंसिर ११ गते ललितपुर माथि आक्रमण गरेका थिए । श्रीनिवास मल्ल र यिनका प्रमुख मन्त्री भगीरथ भैयाको ललितपुर (पाटन) राज्यको सुरक्षाका लागि कान्तिपुर राज्यलाई सदैव अनुकूल राख्नु पर्ने मत रहेकोमा युवराज योग नरेन्द्र मल्ललाई उक्त कुरा मन नपर्नाले पिता र पुत्रको अन्तर्विरोध चर्किन गई योग नरेन्द्र मल्ल राजभवन परित्याग गरी हिँडेकोमा वि.सं. १७५१ माघ १७ गते श्रीनिवास मल्लले राज्यभार सुम्पे । ठ्यासफु “ए” को अनुसार नेपाल सम्वत ८०७ माघमा राजा श्रीनिवास मल्लको निधन भएको थियो । उनको अन्त्येष्टीमा उनका नौजना रानीहरु सती गएका थिए । उनको मृत शरीरलाई शङ्खमुलमा जलाईएको थियो । काठमाडौँ र भादगाउँमा कुनै बन्दुक पड्किएको गुञ्जन सुनिएको थिएन । मृत्यु संस्कार सम्बन्धी संस्कार दोस्रो राजकुमारबाट शङ्खमुलमा सम्पन्न गरिएको थियो । श्रीनिवास मल्लको देहावसान बिहान ८ घडी बितेपछि भएको थियो । काठमाडौँबाट पनि शव पेटिका ल्याइएको थियो भने भादगाउँबाट साँझ मात्र शव पेटिका ल्याइएको थियो । दरबारमा गरिने पूजापाठ ४ महिनाका लागि स्थगन गरिएको थियो । (क्रमश:)
(लेखक इतिहास विषयको अध्ययता एवम् अधिवक्ता हुनुहुन्छ ।)

सम्बन्धित खवर

Back to top button