पाटन राज्यको संक्षिप्त इतिहास (भाग दुई)


पाटनका राजाहरु र तिनको शासन व्यवस्था
३.१.७ योग नरेन्द्र मल्ल



योग नरेन्द्र मल्ललाई राजकीय अधिकार प्रदान गरिँदा उनले १८ वर्ष उमेर मात्र पार गरेका थिए । युवा राजा बुद्धिमतापूर्ण र शक्तिशाली थिए । तथापी उनी उनको शासन प्रशासन सञ्चालन गर्दा असली रुपमा वंशीधरले चलाएका थिए । तर वंशीधर कसरी राज्य शक्ति संचालनको मुख्य पात्र हुन पुगे भन्ने बारे केही थाहा पाउन सकिएको छैन । वंशीधरको उत्थान भगिरथ भैयाको पतन पछि भएको थियो । योग नरेन्द्र मल्लको पालामा पाटनको अन्य राज्यसँग सम्बन्ध राम्रो भएन । त्यतिखेर कान्तिपुरमा पार्थिवेन्द्र मल्ल र भक्तपुरमा जितामित्र मल्लले शासन गरिरहेका थिए । ती तिनवटा राजाहरुको महत्वकांक्षा र प्रतिस्पर्धाले गर्दा यी राज्यहरुमा सधैं तनावको स्थिति रहँदै आयो । पहिलेदेखिको गोरखा राज्यसँगको सम्बन्ध पनि खलबलियो । वि.सं. १७४२ मा गोरखाका राजा पृथ्वी पति शाह कान्तिपुरमा आएर कान्तिपुर र भक्तपुरका राजासँग भेटघाट गरे तर पाटनलाई त्यो भेटमा संलग्न गराइएन । त्यसरी पाटन राज्य एक्लिन पुग्यो । मकवानपुर राज्य सम्बन्धी योग नरेन्द्र मल्लको नीति अन्य राज्यहरु भन्दा भिन्न थियो । मकवानपुरका राजा शुभसेन मकवानपुर विरोधी विजयपुरका राजा विधाता इन्द्र सेनलाई साथ दिएका थिए । पछि त्यसको बदलामा शुभ सेनले पाटनमा आक्रमण गरेका थिए । वि.सं. १४४८ मा उपत्यकाका तिनवटै राज्यले विधाता इन्द्र सेनलाई साथ दिँदा योग नरेन्द्र मल्लले संयुक्त फौजको नेतृत्व आफै गरेका थिए।
वि.सं. १७४४ मा कान्तिपुरका राजा पार्थिवेन्द्र मल्लको विषय प्रयोगबाट मृत्यु भएपछि उनका आठ वर्षका छोरा भूपालेन्द्र मल्ल राजा र लक्ष्मी नारायण मल्ल चौतारा भए । त्यो सत्ता परिवर्तन पछि चौतारा लक्ष्मी नारायण जोशीको कुटनीतिबाट कान्तिपुर र पाटन राज्यको सम्बन्ध राम्रो भयो । भक्तपुरका चौतारा भगीरामलाई आफ्नाे पक्षमा मिलाउन नसके पछि कान्तिपुर र पाटन राज्य मिलेर भक्तपुरमाथि आक्रमण गरी संकट पैदा गरिदिए । तर कान्तिपुर राज्यले पाटन राज्यसँगको सम्झौताको शर्त पूरा नगर्दा योग नरेन्द्र मल्ल भक्तपुर राज्यसँग मिली दुईपटक कान्तिपुरमा आक्रमण गरिदिए । पछि योग नरेन्द्र मल्ल पुनः कान्तिपुरसँग मिल्न पुगे ।
योग नरेन्द्र मल्लको ढुलमुलको नीति निकै समय कायम रह्यो । वि.सं. १७५३ मा भक्तपुरका राजा जितामित्र मल्लको मृत्युपश्चात् भूपतिन्द्र मल्लले राजा भएपछि योग नरेन्द्र मल्लले भक्तपुर राज्यमाथि प्रभुत्व जमाउन प्रयत्न गरे तर त्यसका प्रतिक्रिया स्वरुप भूपतिन्द्र मल्लले वि.सं. १७८५ मा गोर्खा, तनहुँ, मकवानपुर आदि राज्यसँग मिली योग नरेन्द्र मल्ललाई एउटा ताम्रपत्रमा सही गर्न बाध्य बनाए । भक्तपुरको सल्लाह बिना ललितपुरले कान्तिपुरसँग सहायता माग्यो । तर भक्तपुर राज्यले कान्तिपुर राज्यसँग साँठगाँठ गर्न थालेपछि योग नरेन्द्र मल्ल भक्तपुर राज्यसँग क्रुद्ध बन्न पुगे । त्यस्तै राजा योगनरेन्द्र मल्लदेखि भादगाउँका राजा समनी जयजितामित्र मल्ल रिसाएर ललितपुर दरबार माझमा नै निसन्तानेश्वर (भष्मेश्वर) महादेव स्थापना गराइ दिए । त्यसको कारणबाट योग नरेन्द्र मल्लका उत्तराधिकारीको स्वर्गारोहण भयो भन्ने विश्वास गरिन्छ ।
राजा योग नरेन्द्र मल्ल पुत्र शोकले ब्याकुल भएर सन्यासी जस्तो भई ने.सं. ८२६ मा राजकाज त्यागी सम्पूर्ण कार्य आप्mना मन्त्रीहरुलाई सुम्पी आप्mना ३१ वटी रानीहरुका साथ चाँगुमा बस्न गए । चाँगु जानुभन्दा अगाडि आफ्ना मन्त्रीहरुलाई बोलाई ‘जबसम्म मेरो शालिक माथि यो चरा त्यही रहिरहन्छ, तबसम्म म जीवित नै रहनेछु भन्ने सम्झी दरबारको झ्याल खुला र कोठामा विछ्यौना तयार पारिराख्नु’ भनेका थिए । त्यस समयदेखि झ्याल ढोका खुलाइ ओछ्यान लगाएर राख्ने प्रचलन अझै छ । योग नरेन्द्र मल्लको मृत्युका सन्दर्भमा दुइथरी मतहरु इतिहासकारहरुले उल्लेख गरेको पाइन्छ तर उनको मृत्यु तमाखुमा विष प्रयोग गरेर भएको भन्नेमा भने इतिहासकारहरु सहमत देखिन्छन् ।
इतिहासकार वासु पासाले आफ्नाे ऐतिहासिक कृति ‘ललितपुर (इतिहास संगालो)’ मा उल्लेख गरे अनुसार, आफनो उत्तराधिकारीको मृत्यु भएपछि सांसारिक जीवनदेखि विरक्तिएर आफ्ना मन्त्रीहरुलाई राजकाज सुम्पी आफ्ना ३१ वटी रानीहरुका साथ चांगुमा बस्न गएपछि नेपाल सम्वत् ८२६ कार्तिक शुक्ल एकादशीका दिनमा भादगाउँको एक अपरिचित व्यक्तिले खानेकुरामा विष हाली दिनाले चाँगुमा राजा योग नरेन्द्र मल्लको अल्पायुमा मृत्यु हुन गई शंखमुलमा ल्याई दाहसंस्कार गरियो भन्ने उल्लेख गरेका छन् । त्यस्तै इतिहासकार श्रीराम प्रसाद उपायायले आफ्नाे ‘नेपालको प्राचीन र मध्यकालिन इतिहास’ मा उल्लेख गरे अनुसार भक्तपुर राज्यले अन्य राज्यसँग मिली आफूलाई जबर्जस्त ताम्रपत्रमा सही गर्न लगाएपछि र चालिस हजार रुपैयाँ असुल गराउने निर्णय गर्दै कान्तिपुर राज्यसँग साँठगाँठ गर्न थालेपछि योगनरेन्द्र मल्ल भक्तपुरसँग निकै रिसाउन पुगे । वि.सं. १७६२ मा योग नरेन्द्र मल्लले भक्तपुर राज्यको “ओभु” किल्लामा आक्रमण गरे । तर उक्त किल्ला तोड्न नसक्दा त्यो सालको दसैँभरी चाँगुमा बसेर युद्ध सञ्चालन गरिरहे । यस्तैमा कुनै गुप्तचरबाट तमाखुमा विष प्रयोग गराई यिनको हत्या गरियो । यसरी वि.सं. १७६२ कार्तिक १६ गते राति योग नरेन्द्र मल्लको ३८ वर्षको अल्पायुमै अकाल मृत्यु भयो भनी उल्लेख गरिएको छ । योग नरेन्द्र मल्लको मृत्युपश्चात उनको ३१ वटा रानीहरु सती गएकोमा प्रायः सबै इतिहासकारहरुको मतैक्यता देखिन्छ । योग नरेद्र मल्लको सबै धर्म र सम्प्रदायमा समान आस्था र विश्वास थियो । यिनी मच्छिन्द्र नाथ, तलेजु, हरिसिद्धि, बज्रबाराही, पशुपति इत्यादि सबै देवतामा उत्तिकै भक्तिभाव राख्तथे ।
वि.सं. १७४८ मा यिनले रातो मच्छिन्द्रनाथको रथयात्राको शुभ मुहुर्त निकाल्न ज्योतिषीहरु बस्ने सोह्रखुट्टेपाटी मणिमण्डप निर्माण गर्न लगाएका थिए भने त्यहाँ शक्ति सहितको भैरवको मूर्ति स्थापना गरी कोटी होम गर्न लगाएका थिए । त्यस्तै फर्पिङमा चामुण्डाको मूर्ति प्रतिमा प्रतिष्ठान गर्दा आपैmले देवीलाई सिंहासन चलाएका थिए । योग नरेन्द्र मल्लको पालादेखि नै कार्तिक नाचलाई एक महिनासम्म नचाउन थालियो भने भीमसेनले दुःशासनलाई मार्न लगाएको मूर्ति बनाउन लगाई मन्दिर बनाई मूर्तिमा प्राण प्रतिष्ठा गरेर जात्रा चलाउन लगाए । आफू जीवित छँदै आफ्नाे मूर्ति र छोराको मूर्ति बनाउन लगाई नेपाल सम्वत् ८१३ माघ शुक्ल दशमी रविवारका दिनमा स्थापना गरे । यिनको धार्मिक भावना उजागर गर्न मुद्राहरुमा ‘लोकनाथ’, ‘तलेजु सहाय’ इत्यादि राखिएको छ । त्यस्तै यिनलाई ऐतिहासिक स्रोतहरुमा साहित्यकार, सङ्गीतकार र नृत्यकारका रुपमा चित्रित गरिएको छ । एक मुद्रामा यिनलाई ‘सङ्गीतार्णव पारंग’ अर्थात् संगीतमा परङ्गत भनी लेखिनुका साथै कीर्तिपुरको एक अभिलेखमा नीतिशास्त्र काव्य, व्याकरण, कोष, अलङ्कार, सङ्गीत आदिमा सिपालु भनी उल्लेख गरिएको छ । यिनी आफैले आफूलाई ‘नेपाल चूडामणि’, ‘राजराजेश्वर’ आदि लेख्न लगाएका थिए । योग नरेन्द्र मल्लका ९ ल्याइते र २४ ल्याइते गरी ३३ रानी रहे पनि यिनका २ जना छोराछोरी मात्र रहेका थिए । यिनको मृत्युपछि वैधानिक उत्तराधिकारी नहुँदा काजी तथा भारदारहरुको मनपरी शासनले गर्दा तत्कालिन पाटन राज्यमा अस्थिरता उत्पन्न हुन गयो ।
३.१.८ काजीहरुको शासनकाल :
राजा योग नरेन्द्र मल्लको अकालमा मृत्यु भएपछि ललितपुरको सम्पूर्ण राज्य त्यहाँका काजी÷प्रधानहरुको हातमा प¥यो। आप्mना हातमा राज्य आउनासाथ उनीहरुले आप्mना विरोधीहरुलाई थुन्ने र मार्ने गर्न थाले । त्यसरी काजीहरुका अगाडि कसैले पनि उनीहरुको विरोधमा चूँ पनि गर्न नसक्ने स्थिति पैदा हुन गयो । । योग नरेन्द्र मल्लकी छोरी योगमती पाटनको राजनीतिबाट टाढा भएपछि पाटनको दरबारका काजि तथा भारदार शक्तिशाली भएका थिए । ती भारदारहरु मध्ये पनि ६ जना राजनीतिमा बढी नै सक्रिय थिए । त्यसैले तिनीहरुलाई समग्रमा भन्नुपर्दा छ प्रधान भनिन्थ्यो । । त्यसरी राजा योग नरेन्द्र मल्लको अकाल मृत्यु पश्चात र उनको छोरी योगमतीको पाटनको राजनीतिबाट वहिर्गमन पश्चात पाटन राज्यका तत्कालिन काजी प्रधानहरुले नै राजा छनोट गर्ने र हटाउने सँगै शासनसत्तामा पनि प्रत्यक्ष हस्तक्षेप गर्न थाले । पाटन राज्यमा काजीको हातमा राज्य अधिकार पुगेपछिका राजाहरुको संक्षिप्त वर्णन निम्नानुसार गर्न सकिन्छ ।
३.१.८.१ लोक प्रकाश मल्ल
योग नरेन्द्र मल्लको मृत्युपछि उनको वैधानिक उत्तराधिकारी नहुँदा कसलाई राजा बनाउने भन्ने जटिल प्रश्न खडा भयो । त्यसबेला योग नरेन्द्र मल्लको छोरी योगमती सबभन्दा नजिकको राजगद्दीको हकदार थिइन । काजीहरुको एकमतले योगमतीको छोरा लोक प्रकाश मल्ललाई गद्दीमा राखी नेपाल सम्वत ८२६ कार्तिक कृष्ण एकादशीका दिन राज्याभिषेक गरी लोक प्रकाशलाई गद्दीमा राखी नेपाल सम्वत ८२६ कार्तिक कृष्ण एकादशीका दिन राज्याभिषेक गरी लोक प्रकाश मल्लको नामबाट मुद्रा पनि चलाए । पाटनको अस्थिर राजनीतिक स्थिति र नाबालकराजा लोक प्रकाश राजगद्दीमा बसेको देखेर पाटन राज्यलाई कान्तिपुरमा मिलाउने अभिप्रायका साथ राजमाता भुवनलक्ष्मी लोक प्रकाश मल्ल पाटन राज्यमा गइन । तर योगमतीभुवनलक्ष्मीको फकाईमा फसिनन् र कान्तिपुरको षड्यन्त्रपूर्ण जालसँग बच्न भक्तपुरसँग सहायता मागिन । त्यतिखेर पाटन र भक्तपुरको सम्बन्ध त्यति राम्रो नभए पनि सङ्कटको घडीमा सहायता गर्नु धर्म सम्झी भक्तपुरले पाटनलाई सहयोग ग¥यो । भक्तपुरको सहायताबाट पाटनका जनताले पाटन राज्यलाई नियन्त्रण गर्न खटिएका कान्तिपुरका मानिसहरुलाई आक्रमण गरे । त्यस आक्रमणमा थुपै कान्तिपुरेहरु हताहत भए भने कान्तिपुरकी राजमाता भुवन लक्ष्मी कैद परिन् । चार दिनपछि भुवन लक्ष्मीलाई कैद मुक्त गरियो । ।
वि.सं. १७६२ मंसिर १ गते लोक प्रकाश मल्ल विधिवत रुपमा पाटनका राजा भए र नाबालक छोरालाई काखमा राखेर राजमाता योगमतीले शासन चलाउन
थालिन् । तर राजा भएको १ वर्ष पनि नपुग्दै राजा लोक प्रकाशको विफर रोगबाट निधन भयो । लोकप्रकाश मल्ल पछि को राजा भए भन्ने बारेमा इतिहासकारहरुको मतभेद देखिन्छ । इतिहासकार बासु पासाले लोक प्रकाशको मृत्यु पछि जयइन्द्र राजा भए भनी उल्लेख गरेका छन् । इतिहासकार डिल्लीरमण रेग्मीले आफ्नाे पुस्तक मध्यकालीन नेपाल भाग २ मा लोकप्रकाश मल्लपछि इन्द्र मल्ल राजा भए भन्ने उल्लेख गर्दछन् । त्यस्तै इतिहासकार श्रीराम प्रसाद उपाध्यायले पनि लोक प्रकाशको निधन पश्चात इन्द्रमल्ल पाटनको राजगद्दीमा गद्दीनसीन भएको उल्लेख गर्दछन् । यसरी जयइन्द्र र इन्द्र मल्ल एउटै व्यक्तिको नाम भएको अनुमान लगाउन सकिन्छ ।
३.१.८.२ जयइन्द्र÷इन्द्र मल्ल
लोक प्रकाश मल्लको निधनपछि काजीहरुले योग नरेन्द्र मल्लका आफ्ना मानिस (भानिज) जयइन्द्र मल्ललाई गद्दीमा राखी ने.सं. ८२९ मा जय इन्द्र नामक टक निकाले । जयइन्द्र वा इन्द्र मल्लको पालामा राजमाताको रुपमा योगमती नै सर्वेसर्वा थिइन । दुईवर्ष पाँच महिना शासन गरेपछि अकस्मात जय इन्द्र वा राजा इन्द्र मल्लको मृत्यु भयो । जयइन्द्र वा इन्द्र मल्लको शासनपछि शासन गर्ने राजा महेन्द्र सिंह हुन वा महीन्द्र मल्ल हुन भन्ने कुरामा पनि इतिहासकारहरुको मतैक्यता देखिँदैन । तर महेन्द्र सिंह वा महीन्द्र मल्ल योग नरेन्द्र मल्लको मठ्याहा छोरा हुन् भन्नेमा इतिहासकारहरु सहमत भएकाले महेन्द्र सिंह र महीन्द्र मल्ल एकै व्यक्ति भएका थाहा लाग्दछ ।
३.१.८.३ महेन्द्र सिंह वा महीन्द्र मल्ल
महेन्द्र सिंह वा महीन्द्र मल्ल योग नरेन्द्र मल्लका मठ्याहा छोरा हुन् भन्ने कुरामा इतिहासकारका बीच मतभिन्नता नभए पनि उनी तनहुँका थिए वा गोरखाका थिए भन्ने कुरामा भने मतभेद देखिन्छ । इतिहासकार वासु पासाका अनुसार जयइन्द्र मल्लको मृत्यु भएको खबर पाएपछि तनहुँका राजाले तनहुँमा जन्मेका महेन्द्र सिंहलाई ललितपुरका राजा बनाउनु नबनाए युद्ध गर्ने धम्की दिई महेन्द्र सिंह वा महीन्द्र मल्ललाई गद्दीमा राख्न लगाए भन्ने उल्लेख छ । । त्यस्तै इतिहासकार श्रीरामप्रसाद उपाध्यायका अनुसार इन्द्र मल्लको निधनपछि योग नरेन्द्र मल्लका मठ्याहा छोरा महीन्द्र मल्ललाई गोरखाबाट झिकाएर पाटनको राजगद्दीमा राखियो । यसपटक पनि महीन्द्र मल्लको संरक्षिका भइ योगमतीले नै गर्न थालिन् । त्यो कुरा महीन्द्र मल्लकी आमा राजेश्वरीलाई मन परेन किनकी उनी आफै छोराको संरक्षक हुन चाहन्थिन् । त्यसले गर्दा दरबारमा गुटबन्दीको सुरुवात भई दरबार पक्ष र विपक्ष गरी दुई समूहमा विभाजित भयो । वि.सं. १७६६ आश्विन १ गते राजेश्वरी देवीले योगमतीलाई कैद गरी राजमाताको रुपमा शासन शुरु गरिन् । वि.सं. १७६५ भाद्र ९ गते योगमतीका समर्थकहरुले दरबारमा हमला गरी राजेश्वरी देवीलाई कैद गरी योगमतीलाई कैद मुक्त गरेपछि राजा महीन्द्र मल्ल नौ महिना कान्तिपुरमा शरणार्थीका रुपमा रहे । यिनी कान्तिपुरबाट फर्केपछि पुनः राजा भए । महीन्द्र मल्लको शीतलाको विमारबाट मृत्यु भयो ।
३.१.८.४ वीर नरसिंह मल्ल
आफ्ना छोरा महीन्द्र मल्लको नायवी भई उनकी आमा राजेश्वरी देवीले शासन चलाउन थालेपछि योगमती पक्षका मानिसहरुले वीर नरसिंह मल्ललाई पाटनको राजा मानेर समानान्तर शासन चलाउन थाले । उनीहरुले योगमती र वीरनरसिंह मल्लको नाममा संयुक्त मुद्रा पनि चलाए । उनको बारे बाँकी कुरा त्यति उल्लेख भएको पाइँदैन ।
३.१.८.५ वीर महेन्द्र मल्ल
कुनै कुनै स्रोतहरुमा वीर नरसिंह मल्लपछि वीर महेन्द्र मल्लले वि.सं. १७०९ देखि १७१५ सम्म पाटनको शासन गरे भन्ने उल्लेख गरिए पनि उनको बारेमा विस्तृत कुराहरु इतिहासमा उल्लेख भएको देखिँदैन ।
३.१.८.६ ऋद्धिनरसिंह मल्ल
महीन्द्र मल्लको मृत्युपछि योग नरेन्द्र मल्लको भानिज रुद्रेन्द्र मल्लका छोरा ऋद्धि नरसिंह मल्ललाई पानको राजगद्दीमा राखियो । उनलाई वि.सं. १७७१ मा योगमतीले नै पाटनको राजा बनाएकी थिइन । राजा भएको करिब तिन वर्षपछि ऋद्धिनरसिंह मल्लको मृत्यु हुन पुग्यो । । ऋद्धिनरसिंह मल्लको मृत्युपछि पाटनको राजा को भए भन्नेमा इतिहासकारहरुको मत बाँझिएको पाइन्छ । कुनै इतिहासकारहरुले कान्तिपुरका राजा भाष्कर मल्ललाई पाटनको राजा बनाइयो भनेका छन् भने कुनै इतिहासकारले कान्तिपुरका राजाको दवाबमा महिपतिन्द्र मल्ललाई पाटनको राजा बनाइयो भन्ने उल्लेख गरेको पाइन्छ ।
३.१.८.७ भाष्कर मल्ल
राजा ऋद्धि नरसिंह मल्लको मृत्युपछि राजगद्दिको नजिकको हकदार कोही नभएपछि कान्तिपुरका राजा भाष्कर मल्ललाई नै पाटनको पनि राजा बनाइयो । करिब पाँच वर्ष भाष्कर मल्लले पाटनको शासन सम्हाले । भाष्कर मल्लको शासन अवधिमा पनि योगमतीको शासन सञ्चालनमा महत्वपूर्ण भूमिका थियो वा योगमती शक्तिशाली नै थिइन ।
३.१.८.८ महिपतिन्द्र मल्ल
इतिहासकार वासु पासाको अनुसार ऋद्धि नरसिंह मल्लको मृत्युपछि पाटनको राजा भाष्कर मल्ल नभै कान्तिपुरका राजाको दवाबमा महिपतिन्द्र मल्ललाई ललितपुरको राजसिंहासनमा वसालियो । तर यिनी पनि शासन सम्हालेको केही वर्षमा मर्न पुगे ।
३.१.८.९ योग प्रकाश मल्ल
महिपतिन्द्र मल्लको निधनपछि पाटनका काजीहरुले उनका छोरा योग प्रकाश मल्ललाई गद्दिमा राखे । उनको नाममा न.सं. ८४२ मा ‘योग प्रकाश’ अंकित मुद्रा पनि निकालियो । यो प्रकाश मल्लले कोटी होम र अन्य धार्मिक कार्यहरु गरे । तर यिनको पनि केही वर्षमा निधन भयो ।
३.१.८.१० विष्णु मल्ल
योग प्रकाश मल्लको मृत्युपछि पाटनका छ प्रधान÷काजीहरुले राजा योग नरेन्द्र मल्लको भान्जी पुण्यवतीकी छोरा विष्णु मल्ललाई पाटनको राजा बनाए । विष्णु मल्ल कान्तिपुरका राजा जगज्जय मल्लका ज्वाई थिए । यिनको अग्रभागमा “श्री श्री श्री जयविष्णुदेव मल्ल”, “श्री श्री श्री लोकनाथ” र चाँदीको ३ आने मुद्राको अग्रभागमा ‘श्रीजय विष्णु मल्ल देव’ र अर्को चाँदीको सिक्काको अग्रभागमा ‘श्री विष्णु’ अंकित छ । विष्णु मल्लले वि.सं. १७८९ मा शंखमुलमा विष्णुको स्थापना गरी ने.सं. ८५७ मा इष्टदेवीलाई ठूलो घण्ट चढाएका थिए । न.सं. ८५७ माघ पञ्चमीमा मूलचोकको अगाडि ठूलो घण्टा र पशुपतिमा जलहरी अनि नेपाल सम्वत ८५५ मा बज्रबाराहीको मन्दिर जिर्णोद्वार गरी सुनको मोलमम भएको भैंसी चढाए । ने.सं. ८६५ श्रावण शुक्लका दिन विष्णु मल्लको मृत्यु नहुँदासम्म योगमती नै पाटन राज्यको शासनमा सक्रिय थिइन । योगमती पाटन राज्यको शासनबाट निष्कृय बनेपछि पाटन दरबारका काजि वा ६ प्रधानहरु झन सक्रिय बन्न थाले ।
३.१.८.११ राज्य प्रकाश मल्ल
विष्णु मल्ल निःसन्तान भएकाले विष्णु मल्लको मृत्युपछि वि.सं. १८०२ मा कान्तिपुरका राजा जयप्रकाश मल्लका भाई राज्य प्रकाश मल्ललाई पाटनको गद्दीमा राखे । आफ्ना दाजु जयप्रकाश मल्लको डरले आफ्नाे ज्यान जोगाई भागेर राज्यप्रकाश मल्ल पाटनका राजा विष्णु मल्लको शरणमा आएका थिए । नरम, सरल स्वभाव, प्रजाका कुरामा साह्रै ध्यान राख्ने यिनी कान्तिपुरका राजा जगज्जय मल्लका छोरा थिए । कान्तिपुर दरबारभित्र यिनले समर्थन पाए पनि दाजु जयप्रकाश मल्लको कुटनीतिमा टिक्न नसकी यिनले पाटनमा शरण लिनु परेको थियो । यिनको विशेष समय पूजा पाठमै व्यतित हुन्थ्यो । यिनले फर्पिङ्ग नारायणमा पूजा चलाउनका लागि गुठी राख्नुका साथै चोभारमा चन्द्र विनायकको मन्दिरलाई राम्रोसँगै बनाई सुनको गजुर हालिदिए ।
गोरखाका राजा पृथ्वी नारायण शाहले नुवाकोट विजय गरी उपत्यकामा नाकाबन्दी गर्न लागेको देखेर राज्य प्रकाश मल्ल गोरखासँग मित्रता राख्ने प्रयासमा लागे तर यो प्रयास विफल भई तत्कालिन पाटन राज्य अन्तर्गत रहेको कीर्तिपुरमा पृथ्वीनारायण शाहले वि.सं. १८१४ जेठ १९ गते शनिश्चरवार पहिलो पल्ट आक्रमण गरे । तर कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा राज्य प्रकाश मल्ल मिली गोरखालीहरुलाई हराए । राजा राज्य प्रकाश मल्लको धार्मिक कार्य तथा निमाण कार्यदेखि दुनियाँको आँखामा विश्वासको लहर लच्किँदै आयो जसले गर्दा काजीहरु त्रस्त भए र अर्कै राजाको खोजीमा लाग्न थाले । त्यस्तैमा सैनिकसँग झगडाको फाइदा उठाएर काजीहरुले राजा राज्य प्रकाश मल्लको दुवै आँखा फोडी दुवै आँखा कानो बनाइदिए । आँखाको शोकले दुःखी भई ने.सं. ८७८ आश्विन सुदीमा यिनका प्राणान्त भयो ।
३.१.८.१२ विश्वजीत मल्ल
राज्य प्रकाश मल्लको मृत्यु भएकै दिन प्रधान मध्येका शक्तिशाली प्रधान भिख्वाल धनकाजीले अठार वर्षका विश्वजित मल्ललाई पाटनको राजा बनाए । विश्वजित मल्ल विष्णु मल्लकी छोरीका छोरा थिए । उनलाई त्यस अघि नै दरबारभित्र डिठ्ठा दर्जामा भर्ना गरी भित्रै खुवाई पिलाई राखिएको थियो । विश्वजितलाई पाटनका काजिहरुले हातमा खेलाइरहेका थिए । विश्वजित राजा भएपछि उनीमाथि षड्यन्त्र रच्न शुरु गरियो । एक वंशावली अनुसार काजी कालिदासकी छोरी मैजुथकुको विवाह चाकु बहाल काजीको छोरासँग भएको थियो । तिनै मैजुथकुलाई राजा विश्जजितले विवाह गरे । त्यसै रिसमा राजा विश्वजितलाई मैजुथकुको श्रीमान् र सालो मिलेर तलेजुमा लगि काटेका थिए । अर्को एक भनाइ अनुसार विश्वजित मल्लको एक काजीको पत्निसँग विवाह गरेकाले त्यतिखेरको जार काट्ने चलन अनुसार उक्त प्रधानले विश्वजितलाई मारेका थिए । तर राज्यमा हैकम चलाउन र राजा फेर्न सिपालु छ प्रधानहरुले राजा विश्वजितलाई मिथ्या आरोप लगाइ मारेको हुन सक्ने समेत इतिहासकारहरुले अनुमान गर्दछन् । ।
३.१.८.१३ जय प्रकाश मल्ल
आफ्ना भाइलाई आँखा फुटाएर मारेकाले जयप्रकाश मल्ल पाटनका प्रधानसँग अत्यन्त रिसाएका थिए । त्यसैले ६ प्रधानहरु जयप्रकाश मल्ललाई फकाएर पाटनको राजा वनाउन चाहन्थे । त्यस्तै विश्वजित मल्ललाई काटेको समयतिरै गोरखाको राजा पृथ्वी नारायण शाहले ललितपुर राज्य अन्तर्गतका केही गाउँहरु दखल गरेका थिए । त्यसैले पाटनको ६ प्रधानहरु पनि संकटमा परे । त्यसपछि प्रधान काजीहरुले जयप्रकाश मल्ललाई अनुरोध गरी पाटनका राजा बनाए । जय राजा जय प्रकाश मल्लको कडा स्वभावले ६ प्रधानसँग यिनको सम्बन्ध राम्रो हुन सकेन जय प्रकाश मल्ल पाटनको गद्दिमा बसेको डेढ वर्ष पछि टेकु दोभानमा नुहाउन गएको बखत प्रधानहरुले उनलाई लखेटिदिए ।
३.१.८.१५ रणजीत मल्ल
भादगाउकाँका राजा रणजित मल्ललाई राजा जयप्रकाश मल्लपछि पाटनको राजा बनाइयो । उनलाई राजा बनाएपछि उनको नाममा मुद्रा पनि निकालियो । तर राजा रणजीत मल्लले पाटनको समस्यामा भन्दा भक्तपुरकै समस्यामा ध्यान दिन थाले । त्यसलेगर्दा उनको ६ प्रधानहरुसँग मतभेद हुन थाल्यो । त्यस्तै रणजीत मल्लले अनेक प्रशासनिक सुधार गरेर प्रधानहरुको अनियन्त्रित क्रियाकलापमा नियन्त्रण गर्ने प्रयत्न गरे । रणजीत मल्लले जयप्रकाश मल्ललाई अपमानित गरेर बनाएको बदला लिन चाहन्थे । । त्यस्तै कान्तिपुरका राजा जय प्रकाश मल्ल, रणजीत मल्ल र पाटन राज्यसँग र प्रधानहरुसँग रणजीत मल्ललाई पाटनको राजा बनाएकाले, कान्तिपुरबाट भागेका भाइ नरेन्द्र प्रकाश मल्ललाई शरण दिएकाले, नुन, तेल र कपासका लागि पाटन राज्यले गोर्खासँग सम्बन्ध राखेकाले, कान्तिपुर केही गाउँ भक्तपुरले हडपेकाले र आपूmलाई लखेटी भक्तपुरका राजा रणजीत मल्ललाई पाटनको राजा बनाएकाले निकै रिसाएका थिए । यी यावत कारणहरुबाट क्रुद्धु भएका कान्तिपुरे राजा जय प्रकाश मल्ल कुनै हालतमा चुप नबस्ने देखि पाटनका ६ काजीहरुले राजा रणजीत मल्ल शंखमुलमा स्नान गर्न गएको मौका पारी १ वर्ष राज्य गर्दा नगर्दै शंखमुलबाटै भक्तपुरतिर लखेटि दिइ कान्तिपुरका राजा जयप्रकाश मल्ललाई पुनः राजा बनाए ।
३.१.८.१५ जयप्रकाश मल्ल
राजा रणजीत मल्ललाई भक्तपुर तिर धपाई कान्तिपुरका राजा जयप्रकाश मल्ललाई राजा बनाएपछि गोर्खाका राजा पृथ्वी नारायण शाहले उपत्यकामा आर्थिक संकट उत्पन्न गरिदिई चारैतर्पm विजय प्राप्त गर्दै गरेको देखि छ प्रधानहरुले राजा जयप्रकाश मल्ललाई हटाई पृथ्वी नारायण शाहलाई पाटनको राजा बनाउने विचार गर्न थाले र जय प्रकाश मल्ललाई लखेट्ने मौका हेर्न थाले । यो कुरा थाहा पाएर जय प्रकाश मल्लले आवश्यक सल्लाह गर्ने निहुँमा ६ प्रधानहरुलाई कान्तिपुर बोलाए । । जय प्रकाश मल्ले ६ वटै प्रधानहरुलाई पक्रिई महिलाको फरियाका टुक्राले ६ वटै प्रधानका टाउकामा फेटा गुथाई (बाँधी) फरियानै ओढाएर ललितपुर शहर घुमाए । तिनीहरुका श्रीमतीहरुलाई पनि झुत्राझाम्रा कपडा लगाउन लगाई शहर घुमाइयो । अपमान महशुस गरी काजी भिख्याल धनकाजीले आत्महत्या गरे । । बाँकी ५ प्रधानहरुले राज भक्त हनुमान भैm भै वफादारीसाथ नुनको सोझो चिनाउनेछौं भनी जयप्रकाश मल्ललाई माफी मागेको बिन्तिपत्र स्वीकारी जयप्रकाशले पाँचै जना काजीहरुलाई मुक्त गरे । तर तिनीहरुले पुनः षडयन्त्र शुरु गरी गोरखाका राजा पृथ्वीनारायण शाहलाई पाटनको राजा हुन निम्त्याए । उक्त कुरा राजा जय प्रकाश मल्लले थाहा पाई प्रतिकुल परिस्थिति देखि कान्तिपुर राज्यमा फर्के । गोरखाका राजा पृथ्वी नारायण शाहले आपूm नआई भाई दलमर्दन शाहलाई पाटनको राजा बनाई पठाए । पाँच प्रधानहरुले सेतो फेटा बाँधी आफैले आफैलाई अविर हाली शहर घुमे ।
३.१.८.१६ दलमर्दन शाह
वि.सं. १८२० फागुन ९ गते दलमर्दन शाह पृथ्वीनारायण शाहको प्रतिनिधिको रुपमा पाटनको राजगद्दीमा बसे । यिनको सुरक्षामा पाटनका प्रधानहरुको एक एक जना पुत्र खुटाएको थियो पानमा रहँदा राजा दलमर्दन शाहले उपत्यकाको एक एक गतिविधि पृथ्वी नारायण शाहलाई जानकारी गराउँथे । पाँच प्रधानहरुले जय प्रकाश मल्ललाई धपाउन र जय प्रकाश मल्ल पाटन राज्य छाडेर कान्तिपुरमै जानमा आर्थिक कारण मुख्य थियो । किनकी पृथ्वी नारायण शाहले उपत्यकालाई चारैतिरबाट नाकाबन्दी गरिरहेका थिए । उनी पाटन मात्र नभै सम्पूर्ण उपत्यकालाई आफ्नाे अधिनमा पार्न चाहन्थे । त्यही राजनीतिक उद्देश्यबाट निर्देशित भएर उनले उपत्यकाको चारैतिरका स्थानहरुमा अधिकार कायम गरी आर्थिक संकट पारिदिए । पाटनका प्रधानहरुले आफूलाई राजा बन्न निम्त्याए पछि उनले उपत्यकाको समग्र कुरा बुझ्न आफ्ना भाई दलमर्दन शाहलाई पाटनको राजा बनाई पठाए । पाटनका प्रधानहरुले दलमर्दन शाहको नाममा मुद्रा समेत निष्काशन गराएका थिए ।
काठमाडौं उपत्यकामा संकट पार्न पृथ्वीनारायण शाहले दैनिक उपभोग्य वस्तुहरु नुन, कपास, तेल आदि बन्द गराइसकेका थिए तर प्रधानहरुले दल मर्दनहरुलाई राजा बनाएपछि पाटनेहरुले दैनिक उपभोग्य वस्तुको संकट झेल्न नपर्ने अनुमान गरेका थिए । तर दलमर्दन शाहले हाल पृथ्वीनारायणको योजना अनुसार पाटने प्रधान र प्रजाहरुलाई दैनिक उपभोग्य वस्तुको निर्वाध निर्यातको लागि दाजु पृथ्वीनारायण शाहसँग कुरा गरी पहल गर्ने भनी आश्वासन दिँदै रहे तर व्यवहारिक रुपमा दैनिक उपभोग्य वस्तु निर्यात हुन सकेन । हुन त पाटन प्रधानहरुले राजा दलमर्दन शाहलाई उनका दाजु पृथ्वी नारायण शाहका विरुद्ध प्रयोग पनि गर्न खोजे तर त्यसमा सफल भने भएनन् । त्यस्तैमा वि.सं. १८२२ चैत्र ३ गते गोरखालीहरुले कीर्तिपुरमा बिजय गरे । कीर्तिपुर बिजयपछि राजा दलमर्दन शाह पाटनमा कैद गरिए । कैद गरिएको केही समयपछि दलमर्दन शाह भागेर दाजु पृथ्वीनारायण शाहसँग मिल्न गए ।
३.१.८.१७ तेज नरसिंह मल्ल
दल मर्दन शाहलाई कैद गरेपछि प्रधानहरुले पाटनका एक व्यापारी तेज नरसिंह मल्ललाई राजा बनाए । । राजा तेज नरसिंह मल्ल राजा विश्वजित मल्लको सम्धि थिए । उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो । ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालोहरु गए । अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो । रातको समयमा गोरखालीहरुले कान्तिपुरलाई तिन ठाउँबाट घेरी पृथ्वी नारायण शाह गद्दीमा बसेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल पाटनका राजा तेजनरसिंह मल्लको शरण पर्न पाटन गए । तर पाटनका पाँच प्रधानहरु पृथ्वी नारायण शाहसँग भित्र भित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जय प्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए । पाटनका एक प्रधान धनवन्त काजी पृथ्वी नारायण शाहसँग कीर्तिपुर बिजय गर्नु भन्दा अगाडि नै मिलिसकेका थिए भनी इतिहासकार श्रीरामप्रसाद उपाध्यायले उल्लेख गरेको पाइन्छ ।
पाटनका राजा तेज नरसिंह मल्ल कान्तिपुरका राजा जय प्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरी बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए । तर पाटन ढोकाबाट भित्र पसि २०० कदम बढ्दा नबढ्दै पाटन नबहिलका ज्यापुहरुले पृथ्वीनारायण शाह र उनका फौजलाई छाना छानाबाट इटको टुक्राले प्रहार गर्न थाले । उक्त इट्टा प्रहारबाट छलाई जोगार्ई पाँच प्रधानहरुले पृथ्वी नारायण शाहलाई पाटन राज्यको सिंहासनमा राखी राजा घोषणा गरे । साथै ती प्रधानहरुले राजा पृथ्वी नारायण शाहको ललितपुरमा सिन्दुर यात्रा गराए । त्यसरी स्वतन्त्र पाटन राज्य गोरखा राज्यको अधिनमा परेपछि स्वतन्त्र पाटन राज्यको विधिवत अन्त्य÷पतन हुन गयो । इतिहासकार, श्रीरामप्रसाद उपाध्यायका अनुसार लगभग पच्चिस वर्षसम्म मनपरी किसिमबाट शासन गरेर कानून र व्यवस्थालाई आफ्नाे हातमा लिएर पाटनको स्वतन्त्र अस्तित्वलाई नामेट पार्न भूमिका खेलेकाले मल्ल वंशको पतन गराउनमा तत्कालिन प्रधानहरुलाई जिम्मेवार रहेका थिए । उनी थप्छन् प्रधानहरुले आप्mनो इच्छाअनुसार राजा फेर्ने, मार्ने शत्रुसँग मिल्ने, छोड्ने नगरेर राष्ट्रलाई सबल बनाउने काममा लागेको भए पाटन राज्यको पतन र दुर्दशा हुने थिएन ।” पाटन राज्यको उत्थान र पतनको इतिहासबाट आधुनिक समयको स्वतन्त्र राज्यहरुले पनि पाठ सिक्न सक्ने थुप्रै कुराहरु देखिन्छन् । त्यस्तै इतिहासकार पासाले पाटन राज्यको पतनको आन्तरिक पक्षबाट वर्तमान समयमा पनि जो कोहीले पाठ सिक्न सक्ने र सिक्नुपर्ने औल्याउँदै लेख्छन् “नेपालको इतिहासमा बेलाबेलामा स्वयम् राजकुमार र प्रधान अर्थात् प्रधानमन्त्रीहरु पनि (बाह्य शक्ति) सँग बिकेका छन् । यसको दृष्टान्त ठाउँ ठाउँमा भेटिएको छ ।
(लेखक इतिहास विषयको अध्ययता एवम् अधिवक्ता हुनुहुन्छ ।)