तराईमा शीतलहर चलेपछि दाउरा वितरण

कोहलपुर, ११ पुष : पश्चिम तराईमा शीतलहर चलेपछि यहाँका सामुदायिक वन र प्रहरीले स्थानीयलाई चिसोबाट जोगिन दाउरा वितरण गरेका छन् । टीकापुरको सत्ती कर्णाली सामुदायिक वन र शीतल सामुदायिक वनले दाउरा वितरण गरेका हुन् ।

‘वनमा प्रवेश शुल्कबापत प्रतिभारी १० रुपैयाँ मात्र लिएर दाउरा उपलब्ध गराइरहेका छौं,’ सत्ती कर्णाली वनका अध्यक्ष धनसिंह साउँदले भने । गाउँका चोकमा वनले नै जर्ना (रुखका जरा) पुर्‍याउने गरेको उनले बताए । ‘आर्थिक अवस्था कमजोर भएका उपभोक्ता पनि जाडोको मारमा नपरून् भनेर यसो गरेका हौं । एक सातासम्म दाउरा वितरण कार्य जारी रहन्छ,’ उनले भने ।

टीकापुरमा पुसको सुरुवातदेखि बाक्लो कुहिरो लाग्न थालेको हो । शीतलहर चलेयता दिनभरि घाम देखिन छाडेको छ । तापक्रम पनि घटेको छ । न्यूनतम ७ र अधिकतम १९ डिग्री सेल्सियस तापक्रम रहने गरेको अत्तरियास्थित जलवायु तथा मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । चिसो बढ्दै जाँदा बजारमा चहलपहल न्यून छ ।

 

सम्बन्धित खवर

Back to top button