रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड

रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्डnull क्षेप्यास्त्रहरू जडान गरेको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ।

ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएका थिए।

राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्‍याएको बताएका छन्।

ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ।

अमेरिका-चीन-रुसबीच अस्त्र बनाउने होडबाजी
अमेरिका र रुसलाई चुनौती दिने चीनका तीन अस्त्र
रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्त्वपूर्ण भएको बताए।

पुटिनले मङ्गलवार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताएका थिए।

उनले भनेका थिए: “अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैनन्, क्षेप्यास्त्रको कुरै छाडौँ।”

पश्चिमा र अन्य राष्ट्रहरू रुसको पछि नै रहेको उनले दाबी गरे।
तस्वीर कपीराइट
पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरेका थिए।

सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा छ हजार किलोमिटर परको लक्ष्यलाई प्रहार गरेको थियो।

अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्छ।

रुसको रक्षा मन्त्रालयले अभानगार्ड प्रणालीको भिडिओ सार्वजनिक गरेपनि अस्त्र विज्ञहरूले सो हतियारको प्रभावकारितामाथि प्रश्न उठाएका छन्

रुसले सन् २०१८ मा जारी गरेको भिडिओ
एक विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले रुसी दाबीमाथि नबोल्ने बताएको छ। अमेरिका र सन् २०१४ मा परीक्षण गरेको दाबी गरेको चीनसँग हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रम रहेको छ।

सन् २०१० को न्यू स्टार्ट सन्धि अन्तर्गत गएको नोभेम्बर २६ मा रुसले अमेरिकी विज्ञहरूलाई अभानगार्डलाई निरीक्षण गर्न दिएको थियो।

रुस र अमेरिकाबीच आणविक हतियारसम्बन्धी बाँकी रहेको परमाणु क्षेप्यास्त्र प्रणालीहरूको सङ्ख्या घटाउने सो सन्धि सन् २०२१ को फेब्रुअरीमा अन्त्य हुँदैछ।

बीबीसीका रक्षा संवाददाता जनाथन मार्कसले रुसले दाबी गरे अनुसार ती क्षेप्यास्त्र प्रणाली जडान गरिएको वा परीक्षणकै रूपमा रहेको पुष्टि गर्न गार्‍हो हुने बताएका छन्।

उनी भन्छन्: “अहिलेका लागि रुस हाइपरसोनिक अस्त्र प्रणालीमा अग्रणी देखिएको छ। चीनले पनि यस्तो प्रणाली विकास गरिरहेको छ भने अमेरिका पछाडि परेको देखिएको छ।”

मार्कसका अनुसार ती क्षेप्यास्त्रका लागि प्रतिरक्षा गर्न गार्‍हो हुन्छ।

उनी भन्छन्: “रुसको घोषणाले आणविक अस्त्रको दौडमा नयाँ र खतरनाक युग सुरु गरेको छ।”

सम्बन्धित खवर

Back to top button