विश्वकै महँगो नेपालको इन्टरनेट
कोहलपुर
२०७६,माघ २८
बिहण्क परियार(बिजय)
नेपालको इन्टरनेट विश्वकै महँगोमध्ये एक रहेको एक अनुसन्धानले देखाएको छ । द एलियन्स अफ अफोर्डेबल इन्टरनेट ‘एफोरएआइ’ का अनुसार नेपालका नागरिकसहित अफ्रिकी मूलुकका नागरिकहरुले महँगो इन्टरनेट चलाइरहेका छन् ।
एफोरआइले विश्वका १ सय ३६ मध्यम तथा न्युन आय भएका मूलुकमा अध्ययन गरेर नयाँ प्रतिवेदन सार्वजनिक गरेको सीएनएनले जनाएको छ ।
एफोरआइ भन्छ, ‘मलेसिया, कोलम्बिया, भारत, जमाइका, दक्षिण अफ्रिका, घानाजस्ता मध्यम आय भएका र न्युन आय भएका नेपाल, माली, हाइटी, लाइबेरिया, यमन र मोजाम्बिकका नागरिकहरुले महँगो इन्टरनेट प्रयोग गरिरहेका छन्।’
एफोरएआइ विश्वव्यापी संस्था हो जसले विश्वमा मानिसले उचित मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउनुपर्छ भनेर वकालत गर्दै आएको छ । यस अभियानमा गुगल र फेसबुक पनि समावेश छन् ।
एफोरआइका अनुसार प्रतिमहिना १ जिबी डेटाको मूल्य एक नागरिकको महिने तलबको २ प्रतिशत मात्र हुनुपर्छ ।
तर अनुसन्धानमा ती राष्ट्रका नागरिकले १ जिबी डेटाका लागि तलबको ७.१२ प्रतिशतसम्म खर्च गर्नु परेको उल्लेख छ ।
ती राष्ट्रका नागरिकका लागि उक्त इन्टरनेट निकै महँगो भएको बताइएको छ । प्रतिवेदनमा ती देशका इन्टरनेट सेवा प्रदान गर्ने निकायले मनलाग्दी इन्टरनेटको मूल्य तोकेको पनि उल्लेख गरिएको छ ।