सामुदायिक वनको कार्यालयमा गरे उपभोक्ताले तालाबन्दी


कोहलपुर
२०७६,माघ २९,



बिहण्क परियार(बिजय)
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –११ अमरपुरमा रहेको कृष्ण सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा उपभोक्ताहरूले तालाबन्दी गरेका छन्। तालाबन्दीमा उत्रिएका उपभोक्ताहरूले आर्थिक बर्ष २०७५/७६ को सामुदायिक वनको आय–व्यय विवरण पारदर्शी नभएको, बिना सूचना र सार्वजनिक खरिद ऐन बिना नै ट्रयाक्टर खरिद गरेको, संस्थामा व्ययभार थपिनेगरि कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाएका छन्।तालाबन्दी गर्ने पक्ष र वनका चौकीदारहरूबीच सामान्य झडपसमेत भएको थियो। वैज्ञानिक वनको नाममा प्राकृतिक रुपमा रहेको वनस्पतिको विनास हुने, पारिस्थितिक प्रणालीमा असर पर्ने र उक्त कारणबाट भूक्षय, बाढीपहिरो जस्तो प्राकृतिक विपत्ति समेत हुनसक्ने भएकोले वनको साधारण सभाको पूर्ण निर्णय बिना उक्त कार्य अगाडी बढाउन नपाइने सामुदायिक वनका संस्थापक सदस्य ऐरले बताए। अध्यक्ष दान बहादुर बोहराले बिशेष साधारण सभाको माग अस्वीकार गरेपछि सामुदायिक वनका संस्थापक सदस्य प्रकाशसिंह ऐरको नेतृत्वमा गएको उपभोक्ताहरूको समूहले कार्यालयमा तालाबन्दी गरेको हो।बेवारिसे काठको लेखाजोखा नै नराखिएको, उपभोक्तालाई जानकारी नै नदिई काठ बिक्री वितरण गरेको र वैज्ञानिक वनको कार्ययोजना उपभोक्तालाई जानकारी नै नगराई पास गराईएको उपभोक्ताहरूले बताए।कार्यशैलीप्रति चित्त नबुझे अदालत जान समेत उपभोक्तालाई उनले चुनौती दिएका छन्।