गलेश्वर मन्दिरमा २२ लाख भेटी संकलन आठ महिनामा


कोहलपुर
२०७६ चैत १



म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब २२ लाख रुपैयाँ भेटी संकलन भएको छ।
पश्चिम नेपालको पशुपतिनाथका नामले समेत बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्म २१ लाख ८२ हजार ६०७ रुपैयाँ भेटी संकलन भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनका अनुसार धार्मिक पर्यटकहरुको आकर्षक तीर्थस्थलको रुपमा विकसित हुँदै गरेको गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, चितवन, कास्की, तनहँु, काठमाडौं, झापा, सुनसरीबाट दर्शनार्थी तथा तीर्थयात्री आउने गरेका छन्। उनले भने, ‘मन्दिरमा चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म करिब २२ लाख रुपैयाँ भेटी संकलन भएको छ।’
मन्दिरमा सबैभन्दा धेरै आर्थिक संकलन साउनमा भएको छ। साउनमा मात्र ११ लाख ८ हजार ३४० रुपैयाँ भेटी संकलन भएको हो। त्यस्तै, बालाचर्तुदशी, शिवरात्री आदि पर्वमा बढी भेटी संकलन हुने गरेको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए। भदौ महिनामा एक लाख ६ हजार १५७ रुपैयाँ, असोजमा तीन लाख २७ हजार ४०२ रुपैयाँ, कात्तिकमा दुई लाख एक हजार ४०६ रुपैयाँ, मंसिरमा तीन लाख ५५ हजार ६७० रुपैयाँ, पुसमा ७४ हजार ८५० रुपैयाँ, माघमा एक लाख ६६ हजार ५२० रुपैयाँ र फागुनमा दुई लाख २२६ रुपैयाँ संकलन भएको छ।
यस मन्दिरमा दैनिक तीन सयको हारहारीमा दर्शनार्थी आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए। गत आर्थिक वर्षमा गलेश्वरधाममा वन कार्यालयको आठ लाख र कोषको दुई लाख लगानीमा बहुउद्देश्यीय पार्क निमार्ण, एक लाख ७४ हजारको लगानीमा आठवटा सिसि क्यामरा र बाहिरबाट दर्शन र मन्दिरबारे जानकारी लिनका लागि कोषले गलेश्वर डट कम नामको वेबसाइट समेत सञ्चालनमा ल्याएको केसीले जानकारी जानकारी दिए।
म्याग्दीको सदरमुकाम वेनी वजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धामको इतिहास स्कन्द पुराणसंग, आर्थिक इतिहास उत्तरमा तिव्वत र दक्षिणमा भारतसंग जोडिएको छ। त्यसैगरी म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदी वारि र पारिका क्षेत्रलाई समेटेर अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत परिचित छ।









