प्रदेशै पिच्छे ज्वाईँ जस्तो पालिएका छोटे मन्त्रीहरु अनि सरकार , तँ कहाँ छस् ?


ज्वाला संग्रौला
हामीले गणतन्त्र भन्यौं, संघीयता भन्यौ, धर्मनिरपेक्षता भन्यौ, नयाँ संबिधान लेख्यौं, समाजबादका ठूल्ठूला गफ जोत्नुसम्म जोत्यौं, देशको समानुपातिक बिकास होस् भनेर देशलाई सात टुक्रामा काट्यौं र ती सातै टुक्रा पिच्छे एक एक ठुटे मन्त्री पनि ठड्यायौं! तर आज जब मुलुकले संकटको सामना गर्नु पर्यो , सबका सबको खोक्रो रास्ट्रबाद ह्वाङ्गै उदाँगिएको छ!
प्रदेशै पिच्छे ज्वाईँ जस्तो पालिएका छोटे मन्त्रीहरुले आफ्नो क्षेत्रमा ज़िम्मेवार भएर न त काम गरेको देखियो न त केन्द्रीय सरकार नै देशका नागरिककको सुरक्षाको ग्यारेन्टी लिएर आक्रमक रुपले काम गर्न सक्षम ठहरियो! सरकारका बिचौलियाहरु त अझ मौकाको फाईदा लुटिरहेछन् करोडौको कमिसन हसुरेर ।



यिनीहरुलाई न देशको माया छ नत जनताको स्वास्थ्यप्रति कुनै चिन्ता नै! कोरोना राहत कोषमा अरबौं जम्मा भैसक्दा पनि गरिबहरुको घरमा आजपनि चुलो बल्न सकेको छैन !
त्यो पैसा यहि संकटकालको लागि भनेर जम्माभएको हैन? खै त कति गरिबहरुले राहत पाएको? धन्न सामाजिक अभियन्ताहरु छन् र केहि गरिबहरु अझैपनि आशै आशामा बाँचिरहेका छन् !
आज गरिबहरुले सरकारलाई चिन्दैनन्, मन्त्रीसन्त्रीलाई चिन्दैनन् ! बरु हामीजस्ता साना भुँईँमान्छेहरुलाई चिन्छन्! कोरोनाको कहरमा देश डुबेको बेला आज मेरो म्यासेन्जर गरिब, पीडित , भोका , नाँगा र बिरामीहरुका हृदयविदारक तस्वीले भरिएको छ! मैले के नै पो गर्न सक्छु र? उता इन्डियामा अलपत्र परेका दाजुभाईहरुको मिनेट मिनेटमा फ़ोन आएको आयै छ! फ़ोन उठाउने बित्तिकै आज त एकजना दाई डाको छाडेर रुनु भो र भन्नु भो, “बहिनीको आवाज सुनेपछि अब चाहिँ बाचिन्छ कि भन्ने आशा पलायो! खाना नखाएको ३ दिन भयो, सीमाना बाट सरकारले फर्काएको छ बीच बाटोमा अलपत्र छु “!
आफ्ना देशका नागरिकहरु यसरी अरुको देशमा अलपत्र पार्न मिल्छ सरकार? एक जनाको भोको पेट त मैले केहि सहयोह पठाएर भरौंला , तर आज यस्ता हजारौ दाजुभाई हरु भारतका गल्लीमा अलपत्र परेका छन्! उनीहरुलाई कस्ले बचाउँछ ?? कस्ले हेर्छ? भारत सरकार सँग समन्वय गरी उनीहरुको तुरन्त उद्गार गर्नु पर्दैन ? आज मलाई धेरै पीडा भएको छ सरकार , तँ कहाँ छस् ?








