शनिबार यता कोरोनाका नयाँ संक्रमित भेटिएनन्

काठमाडौं : नेपालमा कोरोनाबाट थप नयाँ संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ सङ्क्रमित फेला नपरेको जानकारी गराएका हुन् । शनिबारयता २ सय ५५ जनाको परीक्षण गरिएको छ । शनिबारसम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो । त्यसमा नयाँ संक्रमित फेला नपरेका हुन् ।

यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । जसमध्ये ९ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य अवस्था समान्य रहेको समेत जानकारी दिए ।

सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ ९० प्रतिशत सम्पन्न भएको बताए । सङ्क्रमितको जो’खिम उच्च भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, र्‍यापिड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण सुरु गरिएको समेत उनले बताए । उनका अनुसार जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको छ ।

काठमाडौं उपत्यकाभित्र १६ जना र काठमाडौंबाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वरेन्टीनमा ९ हजार २ सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताए । रेड जोनमा मंगलबार १७ जना थपिएर १ सय ७२ जना पुगेको उनले बताए । यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिहरुको नमूना संकलन समेत भएको उनले जानकारी दिए ।

विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलीले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरुका २६ जना स्वास्थ्य कर्मीहरुलाई कोभिड-१९ सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सम्मन्न भएको उनले बताए । निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले आवश्यकताअनुसार परिचालन गरेर आ-आफ्नो तहअनुसार सुविधा दिने निर्णय गरेअनुसार काम अगाडि बढाइएको समेत उनले बताए ।

सम्बन्धित खवर

Back to top button