ओली र मोदी बीच टेलीफोन संवाद


काठमाडौं, २८ चैत : नेपाल र भारतका दुई देशका प्रधानमन्त्री बीच वर्तमान परिस्थितिको बारेमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको हो ।
प्रधानमन्त्री ओलीले शुक्रबार टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुवै नेताबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि छलफल भएकाे छ ।



प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद समेत दिए । भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन कुराकानी भएको उल्लेख गरेका छन् । आफूहरुबीच कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितितबारे छलफल भएको मोदीले उल्लेख गरेका छन् ।
आफ्नो ट्वीटर ह्यान्डलबाट एक सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले शुक्रबार प्रधानमन्त्री ओलीसँग कुराकानी गरी कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितिको बारेमा छलफल गरेको बताएका हुन् ।
मोदीले आफ्नो ट्वीटमा लेखेका छन्– ‘आज प्रधानमन्त्री केपी ओलीसँग बोले । हामीले कोभिड १९ का कारण उत्पन्न वर्तमान परिस्थितिको विषयमा छलफल गर्यौं । अहिलेको चुनौतीसँग जु’झ्न नेपाली जनताले देखाएको कटिवद्धताको म कदर गर्छ । कोभिड १९ विरु’द्धको साझा लडाइँमा हामी नेपालसँगै छौं ।’








