विद्यार्थीहरुको कोठाकोठा पुगेर राहत वितरण


काठमाडौं, २९ चैत : कोरोना भाइरस (कोभिड-१९) ले विश्व भरी नै महामारीको रुप लिएपछि प्राय: देशहरुले लकडाउनको नीति लागू गरेका छन् । नेपालले पनि छिमेकी देश चीन र भारतकै सिको गरेका कारण देशभर लकडाउन गरिएको अवस्था छ ।
त्यहीँ लकडाउनका कारण काठमाडौं उपत्यका भित्र समस्यामा परेका विद्यार्थीहरुलाई पूर्वसांसद राजीव विक्रम शाहले व्यक्तिगत खर्चमा राहत वितरण गरेका छन् । जाजरकोटबाट पढ्नका लागि राजधानी आएका विद्यार्थीहरुलाई राहत वितरण गरेका हुन् ।

आफ्नै गाडीमा राहत सामग्री बोकेर विद्यार्थीहरुको कोठाकोठा पुगेर राहत वितरण गरेको नेपाली कांग्रेस जाजरकोट-काठमाडौं सम्पर्क मन्चका सदस्य दीपेन्द्र रानाले सत्कार पोष्टलाई जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७० जनाभन्दा बढी विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ ।

चामल, दाल, नुन, तेल र सोयाबिन लगायत खाद्य बस्तु पाएको कीर्तिपुर, पाँगा बस्ने कुसे- ३, जाजरकोटका तिलक बोहराले बताए । उनले राहत पाएपछि खुशी भएको बताएका छन् । उनले भने ‘बुवाआमा कामको सिलसिलामा भारतको नैनखरीमा हुनुहुन्छ, उताबाट यता आइएमई (IME) समेत गर्न पाउनु भएको छैन्, यस्तो अप्ठ्यारोमा परेको बेला राहत पाउँदा निकै खुशी भएको छु ।’



पूर्वसांसद शाह नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर- २ बाट २०७० सालको संविधान सभा चुनावमा निर्वाचित भएका थिए ।








