नेपालमा थप ३ जनामा कोरोना संक्रमण : संक्रमित भारतीय नागरिक


काठमाडौं, ३० चैत : नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको पुष्टि भएको छ । पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना परीक्षणका क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि टेकुमा पुन परीक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टि भएको हो ।



भारतबाट आएका २४ जनासहित ३३ जनाको नमूना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । संक्रमित तीनै जना मुस्लिम समुदायका रहेको तथा दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका स्रोतले जनाएको छ । उनीहरु विगत दुई सातादेखि विरगंजस्थित जामे मस्जिदमा बस्दै आएका थिए ।
स्रोतका अनुसार उनीहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका थिए । कोरोना पुष्टिपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इ’मर्जेन्सी बाहेकका अन्य सेवाहरु ब’न्द गरिएको छ । उनीहरुको बारेमा थप जानकारी पत्रकार सम्मेलन मार्फत दिने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।
लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमण भएको पुष्टि भएको हो। यस अघि ९ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएकोमा नेपालमै थप ३ जना भारतीय नागरिकमा कोरोनाको संक्रमण देखिएको हो । हालसम्म १ जना निको भएर घर फर्किएका छन् भने दुईजना संक्रमितको अवस्था पनि सामान्य रहेको छ ।