कोरोना भाइरसका लागी खरिद गरिएका उपकरणमा अनियमितता


कञ्चनपुर, ४ वैशाख : कञ्चनपुरको महाकाली अस्पतालले कोरोना भाईरसका विरामीको उपचारका लागि खरिद गरेका उपकरण प्रयोग गरिसकेका पुराना भएको आरोपपछि छानविन गर्ने भएको छ। अस्पतालले सम्झौता विना खरिद गरेका भेन्टिलेटर सहितका पुराना उपकरणबारे छानविन गर्न समिति गठन गर्ने भएको हो।
अस्पताल व्यवस्थापन समितिले बुधबार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको छानविन समिति गठन गरी सम्पूर्ण खरिद प्रक्रियाको सत्यतथ्य र वास्तविकता पत्ता लगाई दोषीमाथि कारबाही गरिने प्रतिबद्धता जनाएको हो। विज्ञप्तीमा कोरानाको महामारीका वेला लकडाउनको मौका छोपी स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हुने अनियमित कार्य मान्य र सह्य नहुने उल्लेख गरिएको छ।



समितिका अध्यक्ष कृष्णदत्त जोशी, सदस्यत्रय कृष्णानन्द भट्ट, कौशल्या ओझा र हरिराम चौधरीले संयुक्त रूपमा विज्ञप्ती जारी गरेका हुन्। नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) का गम्भीर प्रकृतिका विरामीका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न महाकाली अस्पताललाई एक करोड बजेट दिएको थियो।
सोही बजेटबाट अस्पतालले भेन्टिलेटर सहितका उपकरण खरिद गर्न आरजी सप्लायर्स प्रालि काठमाडौंलाई अनुमानित बजेट भन्दा एक लाख ३० हजार कम मूल्यमै सामान आपूर्ती गर्न ठेक्का दिएको थियो।
आरजी सप्लायर्सले महाकाली अस्पतालमा आपूर्ती गरेको उपकरण सन् २०१५ मोडेलका प्रयोग भएका र खिइएका पाइएको भन्दै छानविन गर्न माग गरिएको छ।
महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले समेत कम्पनीले खरिद गरेका उपकरण पुराना, खिइएका भएको बताईसकेका छन्।








