‘कोरोनालाई जितेरै छोड्छु भन्ने आत्मविश्वासले ठिक भएँ’


काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएर अस्पता भर्ना भएकी बागलुङ नगरपालिका-३ कि ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्केकी छन् । धौलागिरि अञ्चल अस्पताल उपचारत छैटौं कोरोना संक्रमित मनकुमारीलाई १७औँ दिनमा शनिबार डिस्चार्ज गरिएको हो।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा उनले आत्मविश्वास र अठोटले कोरोनालाई जितेरै छाडेको बताइन् । ‘कोरोलाई जितेरै छाड्छु भन्ने अठोट गरेकी थिएँ, जित्छु भन्ने विश्वास पनि थियो’, उनले अस्पतालबाट निस्किँदै भनिन्, ‘विश्वासले नै जितेँ, दिनको पाँच बोत्तलसम्म तातोपानी खाएँ। अस्पतालमा रहुन्जेल दालभात, तरकारी र दूध खाएँ ।’



उनले कोरोनाको संक्रमण भएर अस्पताल भर्ना भएपछि डाक्टरसहितका स्वास्थ्यकर्मीले राम्रो व्यवहार गरेको सुनाइन्। ‘उहाँ (डाक्टर)हरुले धेरै राम्रो सेवा गर्नु भयो, म खुसी छु’, उनले भनिन्, ‘कोरोनालाई जित्न मेरो सेवा गर्नुहुने सबैलाई धन्यावद दिन्छु।’
धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत ६५ वर्षीया वृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको हो।
यसअघि नेपालकी दोस्रो संक्रमित काठमाडौंकी युवती प्रशिद्धि श्रेष्ठ पनि कोरोना संक्रमण हटेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट २७ दिनमा डिस्चार्ज भएकी छन्।
सबैभन्दा पहिले चीनबाट आएका पुरुषमा जनवरी २३ मा कोरोना देखिएको थियो। उनी पनि शुक्रराज ट्रपिकल अस्पतालमा उपचारपछि ठीक भइसकेका छन्। अब नेपालमा कोरोना संक्रमण भएर उ’पचाररत बिरामीको संख्या २८ रहेको छ।








