धनगढीका युवाले पनि जिते कोरोनालाई, निको हुनेको संख्या ४ पुग्यो


कैलाली, ७ वैशाख : धनगढी स्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ पुगेको छ । उनलाई आजै अस्पतालले डिस्चार्ज गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएकाे अस्पतालले जनाएको छ ।



पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकाे सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।
चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको डा. जोशीले बताए ।
‘उहाँको दुईपटक नै कोरोना नेगेटिभ आयो’ उनले भने ‘२४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि आजै डिस्चार्ज गरिएकाे छ ।’ घर फर्किएपछि पनि एक हप्ता सामाजिक दुरी कायम गर्न आग्रह गरिएको उनले बताए ।
भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टीनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टीनमा उनी १३ गते देखि बसेका थिए । ११ दिन क्वारेन्टीनमा र १३ दिन आइसोलेसन बसेका उनी आइतबार नै घर फर्किएकाे अस्पताल स्रोतले जनाएको छ ।
नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित पुष्टि भएकोमा हालसम्म यी युवासँगै अब ४ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।