मुस्लिम आयोगले विदेशी जमातीको विवरण माग्यो


काठमाडौं, ७ वैशाख : राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी ‘जमाती’हरुको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन दिएको छ । उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा ३ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि आयोगले जमातीहरुको विवरण मागेको हो ।
मुस्लिम आयोगमा आइतबार बसेको बैठकले कुनै पनि मस्जिद र मदरसाहरुमा जमातीलाई नलुकाइएको प्रष्ट पारेको छ । जो मस्जिदमा छन्, उनीहरु स्थानीय प्रशासन र प्रहरीको निगरानीमा क्वारेन्टाइन्मा रहेको आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताए ।
मुस्लिम धर्म प्रचारक जमातीहरुले कोरोना भाइरस संक्रमण फैलाएको भन्दै कतिपय ठाउँमा समुदायमाथि नै लान्छित गर्ने प्रयास भएपछि आयोगले आइतबार मुस्लिम सांसद र सबै दल आवद्ध मुस्लिम संगठनका नेताहरुसहितको सर्वपक्षीय बैठक राखेको अन्सारीले बताए ।



अन्सारीका अनुसार नेपालमा करीव एक सयको संख्यामा विदेशी जमातीहरु लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् । काठमाडौंको जोरपाटी र नयाँ बजारमा समेत केही जमातीहरु छन् । तर, उनीहरु कोही पनि लुकीछिपी नबसेको र उनिहरुको बारेमा प्रशासनलाई पनि जानकारी रहेको अन्सारीको दाबी छ ।








