कोरोना अस्पताल काण्ड : छोरा इन्जिनियर, बुवा ठेकेदार

धनगढी, ८ वैशाख : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा कोरोना अस्पतालको निर्माणमा मिलोमतोमा ठेक्का दिएको आरोप लागेको छ। सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालय कैलालीले मिलोमतोमा कोरोना संक्रमितको उपचारका लागि आईसोलेसन भवन निर्माण गर्न ठेक्का दिएको हो।

धनगढी र महेन्द्रनगरमा आईसोलेसन भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालय मातहतकै शिक्षा समन्वय इकाई कैलालीमा कार्यरत ईन्जिनियर दिनेश बोहराले डिजायन र इस्टिमेट बनाएका थिए। उनले स्टिमेट बनाईसकेपछि स्वास्थ्य कार्यालय कैलालीले चैत १७ गते ठेक्का आह्वान गर्दै तीन दिनको समय दियो। तीन दिनमा चार वटा निर्माण कम्पनीले टेण्डर पेश गर्न निवेदन लगे। तर त्यो बीचमा अन्य कम्पनीलाई टेण्डर नहाल्न इन्जिनियर बोहराले धम्की नै दिन थाले। एक जना धनगढीकै निर्माण व्यवसायीले भने, ‘निवेदन लगेपछि बोहरा इन्जिनियरले भवनको निर्माण १५ दिनभित्रै सक्नुपर्छ। नभए पेनाल्टी ठोक्छु भन्दै पटक–पटक धम्की दिए। १५ दिनमा सकिने सम्भावना थिएन्।’

ति निर्माण व्यवसायीले अगाडि थपे, ‘इस्टिमेटमा केही कुरा पनि उल्लेख भएको थिएन्। नक्साको डाईमेन्सन पनि छैन्। कति फिट जग हाल्ने, उचाई कति हुने, कस्तो सामान प्रयोग गर्ने केही पनि उल्लेख भएको छैन्। अहिले ठेक्का पाएका निर्माण व्यवसायीको मनपरी भएको छ।’ इन्जिनियर बोहराले अन्य निर्माण व्यवसायीलाई ठेक्का हाल्न नदिएपछि उनका बुवा लक्ष्मण वहादुर बोहरा सञ्चालक रहेको किनारा कन्ट्रक्सनले टेण्डर हाले र स्वास्थ्य कार्यालयले पनि उनको टेण्डर स्वीकृत गर्दै सम्झौता गरिदिएको छ। लागत अनुमान गरिएकै रकममा अर्थात ९४ लाख ६ हजारमा ठेक्का सम्झौता गरिदियो। तर बुवा सञ्चालक रहेको थाहा पाएपछि विवाद हुने भन्दै अहिले फिल्डमा काम गर्ने अधिकार भने धनगढीकै रोहित रानालाई दिईएको छ। रानाको फर्मलाई भने निर्माणको ईजाजत पनि छैन्।

यता इन्जिनियर बोहराले भने ठेक्का कस्ले पायो भन्ने बारेमा आफुलाई जानकारी समेत नभएको र आफुले इस्टिमेट मात्रै बनाएको बताए। उनले लक्ष्मणबहादुर बोहरासंग आफ्नो कुनै नाता नै नपर्ने दावी गरे र पछि फोन नै अफ गरिदिए। निर्माणको जिम्मा पाएका लक्ष्मणवहादुर बोहराले पनि सुरुमा दिनेश आफ्नो छोरा नभएको बताए। तर बोहाराले पछि स्वीकार्दै भने, ‘इस्टिमेट बनाउने दिनेश मेरो आफ्नै छोरा हो। अर्को छोरा पनि इन्जिनियर छ। अहिलेको समयमा धेरैले निर्माणमा हात हाल्न खोजेका छैनन्। हामीले काम गरिरहेका छौ। बोहराले भने।’

समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ठेक्का, सम्झौता लगायतको सबै जिम्मेवारी स्वास्थ्य कार्यालयलाई दिएको बताए। उनले सामाजिक विकास मन्त्रालयले बजेट मात्रै दिएको र कार्यान्वयनको जिम्मेवारी स्वास्थ्य कार्यालयको भएको जानकारी दिए। बैशाख १ गते सम्झौता भएकोमा एक महिना भित्रै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। प्रिफ्वा भवनमा चार कोठा, एक भवन र पाँच वटा शौचालय हुनेछन्।

स्वास्थ्य कार्यालय कैलालीले चार हजार ५ सय वर्ग फिटमा ९४ लाख ६ हजारमा प्रिफ्वाव भवन निर्माणको जिम्मा दिईएको बताएको छ। यो आधारमा प्रति वर्ग फिट झण्डै २१ सय खर्च भईरहेको छ। तर निर्माण व्यवसायीले भने प्रति वर्ग फिट १२ सय ५० मा भवन निर्माण गर्न सकिने भए पनि प्रति वर्ग फिट ८ सय बढि अर्थात सम्पूर्ण भवन निर्माण गर्दा ३० देखि ३५ लाख बढिमा ठेक्का दिईएको आरोप लगाएका छन्। ‘अहिले इस्टिमेट अनुसार काम पनि भईरहेको छैन्,’ विभिन्न स्थानमा प्रिफ्याव भवन निर्माण गर्दै आएका अर्का निर्माण व्यवसायीले भने, ‘इस्टिमेटमा एउटा पाइप भनिएको छ अहिले अर्कै पाइप प्रयोग भईरहेको छ। इट्टाको स्थानमा ढुङगा प्रयोग गरिएको छ।’

सम्बन्धित खवर

Back to top button