अमेरिकी ग्रिनकार्ड र डिभि रद्दहुने : कोरोनाबाट ४७६८४ जनाको मृत्यु


एजेन्सी : कोरोनाबाट नराम्ररी थलिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।
पछिल्लो समय अमेरिका प्रवेशका लागि बाटो खुलेको भनि ढुक्क भएका केही आप्रवासी मानिसहरुको ग्रीनकार्ड समेत रद्द हुने भएको छ। आफ्ना नागरिकको रोजगारी सुरक्षित गर्न यो कदम चालिएको ट्रम्पले उल्लेख गरेका छन्।



जानकारहरुले भने ट्रम्पको यो कदमलाई उनले पुरानै कट्टरपन्थी आप्रवासन नीति यस मौकामा कार्यान्वयन गर्ने प्रयास भएको बताएका छन्। ट्रम्पले भने राष्ट्रपति चुनिनु अघिदेखि नै आप्रवासन नीति र आप्रवासीहरु माथि निशाना साँध्दै आएका थिए।
कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यो कदमले अमेरिकी नागरिकलाई रोजगारी सुनिश्चित गराउनेछ, हाम्रो अर्थतन्त्र खुल्नासाथ पहिलो चरणमा अमेरिकीहरुले नै रोजगारी पाउने बताएका छन।
कसको ग्रीनकार्ड खोसिनेछ ?
अमेरिका रहेका आफन्तबाट प्रायोजन (स्पोन्सर) सुनिश्चित गरेर अमेरिका जान खोजिरहेकाहरुको ग्रीनकार्ड पछिल्लो निर्णयसँगै खोसिने सम्भावना उच्च रहेको बीबीसीले जनाएको छ।
राष्ट्रपति ट्रम्पले यस्तो आप्रवासलाई साङ्ले आप्रवास (चेन माइग्रेसन) भन्ने गरेका छन्। तर यसले अमेरिकी नागरिकका वैवाहिक सदस्य र २१ वर्षमुनिका व्यक्तिहरुलाई अमेरिका आउन समस्या नपर्ने अपेक्षा गरिएको छ।
पछिल्लो कार्यकारी निर्णयसँगै डाइभर्सिटी भिसा लोटरी (डिभी लोट्री) पनि बन्द हुनेछ। डिभी लोट्र्रीमार्फत वर्षेनी ५० हजार भन्दा बढी मानिसहरुलाई अमेरिकाले ग्रीनकार्ड दिने गरेको छ।
कुन असर पर्ला ?
कोरोना महामारी फैलिएलगत्तै अमेरिकाले प्रवेशाज्ञा दिने प्रकृया केही साताका लागि स्थगित गरेको थियो। वासिङ्गटनस्थित आप्रवासन नीति संस्थानका अनुसार ट्रम्पको पछिल्लो नीतिका कारण प्रत्येक महिना २० हजार हाराहारीमा ग्रीनकार्डका लागि आवेदन दिनेहरु रोकिइने भएका छन्।
आप्रवासन अभियन्ताहरुले पछिल्लो कदमका कारण अमेरिकाभर रहेका कामदार र उनीहरुको परिवार वास्तविक पीडामा फस्ने देखिएको बताएका छन्।
अमेरिकामा अहिलेसम्म झन्डै ४७ मानिसको ज्यान गएको छ भने ९ लाख हाराहारीमा संक्रमित भेटिइसकेका छन्।
कोरोना भाइरस फैलिएपछि अहिलेसम्म २ करोड भन्दा बढी अमेरिकीहरुले रोजगारी गुमाएका छन्। उनीहरुको रोजगारी फर्काउन आफूले जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन।








