लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदकाे बैठक बस्दै


काठमाडौं, १४ वैशाख : लकडाउन बारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ। आइतबार बस्ने मन्त्रिपरिषद बैठकले एकमहिना लामाे लकडाउन बारे निर्णय गर्ने भएकाे हाे । प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको हो। समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ।



यसका साथै सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। अहिलेसम्म कोरोनाविरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष पनि निकालिएको छ।
त्यस्तै काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ। कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ । यसअघि लकडाउन तीन पटकसम्म थपिएको छ।








