प्रदेश १ मा मात्रै ३० जना संक्रमित

विराटनगर, १४ वैशाख : प्रदेश नम्बर १ मा मात्रै ३० जना काेराेना संक्रमित पुष्टि भएकाे छ । कोसी अस्पतालले ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ। संक्रमित सबैलाई प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरु भएको छ। उदयपुर, भोजपुर र दमकका संक्रमित सबैलाई एउटै अस्पतालमा चिकित्सक र सुरक्षाकर्मी परिचालन गर्दै उच्च निगरानीका साथ उपचार भइरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए।

‘प्रदेश १ सरकार पहिलेदेखि नै तयारीमा थियो, अस्पताल तयार भएकाले उपचारमा सहज भएको छ,’ उनले भने, ‘यो अस्पतालको क्षमता ५० बेडको भए पनि ७५ जनासम्मलाई राखेर सहज रूपमा निगरानी र उपचार गर्न सकिन्छ।अस्पतालको क्षमताभन्दा आधा बढी संक्रमित अस्पतालमा भर्ना भइसकेका छन्।

एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएपछि रातारात उदयपुरबाट एम्बुलेन्समा राखेर अस्पताल ल्याउँदा चिकित्सक आतिएपनि अहिले अवस्था सुधार भएको छ। संक्रमितको उपचार र रेखदेखमा खटिएको साता भएकाले अहिले उच्च मनोबलसाथ चिकित्सक र अन्य कर्मचारी खटिएका कोसी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट संगीता मिश्रले बताइन्। ‘सुरुमा रातारात संक्रमित ल्याउँदा चिकित्सक आफूलाई तयारी अवस्थामा राख्न शारीरिक र मानसिक रूपमा केही तयारी नभए पनि हामीले विस्तारै सबै कुरा सहज बनाएका छौँ,’ उनले भनिन् ‘अहिले सबै चिकित्सकको ‘टिमवर्क’ राम्रो छ।’

संक्रमितको रेखदेख र उपचारमा अस्पतालमा २६ जनाको चिकित्सक टोली खटिएको छ। त्यसमा पाँच जना विशेषज्ञ डाक्टर छन्। फिजिसियन दीपक सिग्देलको नेतृत्वमा नर्सिङ स्टाफ, पारामेडिक्स र प्राविधिक टोली खटिएको मि श्रले जानकारी दिइन्। डा. सिग्देलको टोलीमा डा. भूपेशमान राजभण्डारी, डा. हरि खनाल, डा. त्रिनेत्र कर्ण र डा. प्रमोद साह छन्।

‘नेपालका अन्य अस्पतामा भर्ना भएका कोरोना संक्रमित निको भएर घर फर्किएको र उनीहरूको अवस्था सामान्य देखिएको सुन्दा र देख्दा यहाँ खटिने चिकित्सक र संक्रमितको मनोबल उच्च छ’, मिश्रले भन्छिन्, ‘कोही आतिएका छैनन्।’ चिकित्सकको समय निर्धारण गरिएकाले कसैलाई कामको बोझ नभएको उनको भनाइ छ । कोरोना विशेष अस्पतलामा चार जना ‘अनडिउटी’ (६ घण्टा) मा हुन्छन् भने एक जना ‘डाक्टर अन कल’मा बस्छन्।

शनिबारबाट नयाँ टिम अस्पतालमा खटिएको छ । बैशाख ५ बाट खटिएका चिकित्सकको टोली अब २१ दिन क्वारेन्टाइनमा बस्नेछन्। त्यसपछि चिकित्सकको पनि कोरोना परीक्षण गरी नेगेटिभ भेटिए पुनः काममा फर्काउने तालिका मिलाइएको छ। पहिलो तहमा खटिने चिकित्सक र कर्मचारी राख्न नजिकै रहेको इस्टन स्टार होटललाई क्वारेन्टाइन बनाइएको छ।

श्रेष्ठले आफ्नो होटललाई क्वारेन्टाइन बनाउन प्रदेश सरकारलाई दिएकाले त्यहाँ चिकित्सकका लागि क्वारेन्टाइन बनाइएको प्रदेश सरकारले जनाएको छ। ‘चिकित्सकलाई नजिकै पनि हुन्छ, अस्पतालमा कोही आगन्तुक नहुने भएकाले हामीले चिकित्सकका लागि सो होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेका हौँ,’ मुख्यमन्त्री राईले भने।

भारतसँग सीमा जोडिएको र खुला सिमाना धेरै रहेको प्रदेश भएकाले कोरोना संक्रमणको उच्च जोखिमको आँकलन गर्दै प्रदेश १ सरकारले एक सातामै नेसनल ट्रेडिङको भवनमा १० वटा भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गरेको थियो। यो अस्पतालको क्षमता पुरा भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितलाई राखिनेछ। यहाँ सय बेडको कोरोना संक्रमितको उपचार गर्ने संरचना तयार पारिँदैछ। सो अस्पतालको पुनःस्थापना केन्द्रलाई कोरोना विशेष अस्पताल बनाइँदैछ।

यसैवीच, कोरोना विशेष अस्पतालामा संक्रमित थपिन थालेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ। यसअघि अस्पताल सुरक्षामा प्रहरी मात्रै परिचालन गरिएको थियो। जिल्ला सुरक्षा समिति मोरङको बुधबारको बैठकपछि अहिले सेना र प्रहरी खटेका छन्।

सम्बन्धित खवर

Back to top button